आन्तरिक राजस्व विभागका महानिर्देशक डा.भीष्मकुमार भुसालले कर प्रणालीलाई सरल, पारदर्शी, न्यायपूर्ण र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।
कर प्रशासनलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगसँगै सुशासन, दक्ष जनशक्ति, करदातामैत्री सेवा र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको उनले बताएका छन्।
इन्डोनेसियाको जकार्तामा मंगलबार आयोजित बेल्ट एन्ड रोड इनिसिएटिभ ट्याक्स एडमिनिस्ट्रेसन कोअपरेसन फोरम (ब्रिटाकोफ) को सातौं सम्मेलनको उद्घाटन समारोहमा सम्बोधन गर्दै भुसालले यस्तो बताएका हुन्।
'स्मार्ट ट्याक्सेसन, सेयर्ड प्रोस्पेरिटी' अर्थात् स्मार्ट कर प्रणाली, साझा समृद्धि विषयक सम्मेलनमा उनले कर प्रणाली राजस्व संकलनको माध्यम मात्र नभई सार्वजनिक लगानी, आर्थिक तथा सामाजिक विकास र व्यावसायिक वातावरण सुधारको आधार भएको बताए।
उनका अनुसार जटिल र अत्यधिक बोझिलो कर प्रणालीले लगानी तथा आर्थिक वृद्धिमा बाधा पुर्याउन सक्छ।
यसको विपरीत न्यायपूर्ण, पारदर्शी र अनुमान गर्न सकिने कर प्रणालीले करदाताको स्वेच्छिक अनुपालना बढाउनुका साथै लगानी र दिगो आर्थिक विकासलाई सहयोग गर्छ।
भुसालले कृत्रिम बुद्धिमत्ता, तथ्यांक विश्लेषण, स्वचालन र डिजिटल प्रविधिको प्रयोगले करदाताको लागत घटाउन, सेवा सुधार गर्न र कर छलीको जोखिम पहिचान गर्न सहयोग पुग्ने बताए।
तर, प्रविधिको प्रयोग गर्दा तथ्यांक सुरक्षा, करदाताको गोपनीयता, पारदर्शिता र मानवीय निगरानीलाई पनि उत्तिकै महत्व दिनुपर्ने उनको भनाइ छ।
डिजिटल अर्थतन्त्रको विस्तारसँगै अन्तर्राष्ट्रिय कर प्रणालीमा नयाँ चुनौती थपिएको उल्लेख गर्दै उनले सीमापार कारोबारमा करसम्बन्धी स्पष्टता, दोहोरो कराधानको जोखिम न्यूनीकरण र कर लगाउने अधिकारको न्यायपूर्ण बाँडफाँटका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
नेपालमा गत वर्ष आयोजित छैटौं ब्रिटाकोफ सम्मेलनले कर प्रशासनलाई प्रभावकारी बनाउने प्रयासलाई थप बल दिएको उल्लेख गर्दै उनले कर प्रशासन उत्पादन पोर्टफोलियो (ट्याप) १.० र करदाता सेवा उत्पादन पोर्टफोलियो (टिएसपिपी) १.० औपचारिक रूपमा अपनाइएको जानकारी दिए।
यस वर्षको सम्मेलनमा ट्याप २.० र टिएसपिपी २.०, कृत्रिम बुद्धिमत्ताको जिम्मेवार प्रयोग, डिजिटल अर्थतन्त्रको कर प्रशासन, अनुपालना लागत न्यूनीकरण तथा क्षमता अभिवृद्धिका विषयमा छलफल हुने उनले बताए।
नेपालले ब्रिटाकोमको अध्यक्षता इन्डोनेसियालाई हस्तान्तरण गर्दै पनि कर प्रशासनमा सुधार, क्षमता विकास र अन्तर्राष्ट्रिय सहकार्यका लागि निरन्तर प्रतिबद्धता जनाएको भुसालले उल्लेख गरे।