धितोपत्र बोर्डले सेयर बजारमा उधारो कारोबार गर्ने प्रवृत्ति निरूत्साहित गर्ने तयारी थालेको छ।
केही दिनअघि सेयर ब्रोकरहरूले आयोजना गरेको एक कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले यस्तो संकेत दिएका हुन्।
उनका अनुसार अब सेयर किन्दा शतप्रतिशत रकम नगद तिर्नुपर्ने, बैंकबाट ऋण लिनुपर्ने वा ब्रोकरमार्फत मार्जिन कारोबार सुविधा लिनुपर्ने व्यवस्था गर्न लागिएको हो।
हाल धितोपत्र बोर्डको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिकाले ब्रोकरहरूले ग्राहकसँग सेयरको बजार मूल्यको कम्तीमा ३० प्रतिशत रकम सुरूआती मार्जिनका रूपमा लिनुपर्ने व्यवस्था गरेको छ।
अर्कोतर्फ, मार्जिन कारोबार सुविधा नलिँदा पनि लगानीकर्ताले २५ प्रतिशत रकम कोल्याटरलका रूपमा अग्रिम राखेर शतप्रतिशत रकम बराबरको सेयर किन्न पाइरहेका छन्।
यी दुई व्यवस्था एकैसाथ लागू हुँदा समस्या हुन सक्ने भएकाले बोर्डले शतप्रतिशत नगद तिरेर वा मार्जिन कारोबार सुविधामार्फत मात्रै सेयर किन्न पाउने व्यवस्था गर्ने अवधारणा अघि सारेको हो।
अहिले कतिपय ब्रोकरले लगानीकर्ताबाट २५ प्रतिशत रकमसमेत अग्रिम नलिई सेयर कारोबारका लागि कोल्याटरल लोड गरिदिन्छन्। कारोबार भएको तीन कार्यदिनभित्र हिसाब राफसाफ गर्ने लगानीकर्तालाई मात्रै पछिल्लो समय यस्तो सुविधा दिइरहेको ब्रोकरहरू बताउँछन्।
एक ब्रोकरका अनुसार अहिले करिब ६० देखि ६५ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबार सुविधा दिन थालिसकेका छन्।
ब्रोकरहरूले यस्तो कर्जा औसतमा ७ प्रतिशत ब्याजदरमा दिइरहेको बुझिन्छ। उनीहरूले बैंक तथा वित्तीय संस्थाबाट करिब २५ देखि ३० अर्ब रूपैयाँ ऋण लिएका छन्। बैंकबाट उनीहरूले करिब ५ देखि साढे ५ प्रतिशत ब्याजदरमा ऋण पाइरहेका छन्।
यद्यपि, बजारमा प्रतिस्पर्धा बढ्दै जाँदा ब्रोकरहरूले अझ सस्तो ब्याजदरमा सेयर किन्न कर्जा दिन सक्ने सम्भावना पनि रहेको ब्रोकरहरू बताउँछन्।
धितोपत्र बोर्डको व्यवस्था अनुसार चुक्ता पुँजी २० करोड रूपैयाँ पुगेका ब्रोकर कम्पनीले मात्रै मार्जिन कारोबार सुविधा दिन सक्छन्। हाल बजारमा रहेका करिब ९० वटै ब्रोकर कम्पनीको चुक्ता पुँजी तोकिए अनुसार रहेको ब्रोकरहरू बताउँछन्।
एक ब्रोकरले भने, 'अहिले नै यो नियम कडाइका साथ लागू गर्नु हुँदैन। यसले अहिले चलिरहेको प्रक्रिया एक्कासि बिगार्छ र बजारलाई नै असर गर्छ।'
यो व्यवस्था लागू गर्न नीतिगत परिवर्तन पनि आवश्यक छ। हाल धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ ले सेयर कारोबार गर्दा ग्राहकबाट अग्रिम रूपमा २५ प्रतिशत रकम लिनुपर्ने व्यवस्था गरेको छ।
त्यसैले नयाँ अवधारणा कार्यान्वयन गर्न यो विनियमावली संशोधन गर्नुपर्ने हुन्छ। नयाँ व्यवस्था लागू गर्न केही महिना लाग्न सक्ने ब्रोकरहरू बताउँछन्। त्यतिन्जेल हालको व्यवस्थाबाट नयाँ व्यवस्थामा जान पनि समय मिल्ने उनीहरूको भनाइ छ।
उधारो सेयर कारोबारले बजारमा विकृति पनि ल्याएको छ। उधारोमा सेयर किन्ने लगानीकर्ताले आफूले अपेक्षा गरेविपरीत बजार घट्दा कहिलेकाहीँ सम्पर्कमै नआउने समस्या देखिएको छ।
त्यस्तै, आफ्नो लगानी नै नगरी उधारोमा सेयर किन्न पाउँदा लगानीकर्ताले अनावश्यक जोखिम लिने गरेका छन्। यसले तुलनात्मक रूपमा कमजोर कम्पनीका सेयरको मूल्यसमेत बढ्ने प्रवृत्ति बढाएको मानिन्छ।
उधारो कारोबारले लगानीकर्तालाई पनि अनावश्यक दबाबमा पार्छ। ब्रोकरले तोकेको समयमा रकम तिर्नुपर्ने दबाबका कारण लगानीकर्ताले घाटामै सेयर बेच्नुपर्ने अवस्था पनि छ।