नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्रतिष्ठित उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरे।
बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन्।
ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघले उम्मेदवारी दर्ता गरेका छन्।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ।
गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो। पछि
पटक-पटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन।
गत वर्षको मंसिरमा बागलुङ्ग महोत्सवमा उद्योग वाणिज्य संघ बागलुङ्गले ढकाललाई महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवार प्रस्ताव गरेको थियो।
पछि फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रममार्फत ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। त्यस्तै यही असारमा ढकालसहित सबै उपाध्यक्षहरुले सामूहिकरुपमा आफ्नो उम्मेद्वारी घोषणा गरे।
उम्मेदवारी दर्तापछि बोल्दै ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए।