वीरगञ्जमा 'क्यासिनो मजोङ' सञ्चालनमा आएको छ।
आदर्शनगरस्थित स्काई लाइन मलको भुइँ तलामा 'क्यासिनो मजोङ' सञ्चालनमा आएको हो।
मजोङले वीरगञ्जका लागि ०८२ मंसिर २५ गते इजाजत पाएको थियो। मजोङ इन्टरटेनमेन्ट कम्पनीले फेब्रुअरी ६, २०१५ देखि नै काठमाडौंको सोल्टी क्राउन प्लाजा परिसरमा क्यासिनो सञ्चालन गर्दै आएको थियो। तर यसको इतिहास भने अझै पुरानो छ।
सन् १९६८ मा क्यासिनो नेपाल नेपालमा पहिलो क्यासिनोको रूपमा सञ्चालनमा आएको थियो। लाइसेन्स सम्बन्धी समस्याले गर्दा सन् २०१२ मा बन्द गरिएको थियो। क्यासिनो नियमावली आएपछि क्यासिनो मजोङको नामले सञ्चालनमा आएको हो।
सोही कम्पनीले नेपालगञ्जपछि तेस्रो क्यासिनो सञ्चालनका लागि वीरगञ्जलाई रोजेको हो। क्यासिनोले विदेशी पाहुनालाई मनोरञ्जन तथा गेमिङको अनुभव प्रदान गर्छ। नेपाली नागरिकलाई भने प्रवेश गर्न प्रतिबन्ध छ।
क्यासिनो मजोङका महाप्रबन्धक सीताराम बानियाँले सरकारी नीति नियम पालना गरेर नै क्यासिनो सञ्चालन गरिने बताए।
क्यासिनोले वीरगञ्जमा रोजगारी सृजना गर्ने, पर्यटन प्रवर्द्धनमा योगदान दिने र विदेशी पर्यटकलाई अन्तर्राष्ट्रिय स्तरको मज्जा दिने उनको भनाइ छ।
क्यासिनो नियमावली, २०७० जारी भए पनि २०७४ साउन ७ देखि मात्रै कार्यान्वयनमा आएको थियो। नेपाल सरकारले हालै नियमावली संशोधन गरेर क्यासिनो नियमावली (२०८२) जारी गरेको छ।
सञ्चालनका लागि ठूलो क्यासिनोसँग्ग कम्तीमा ३० करोड र सानो क्यासिनोसँग २० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्छ।
चारतारे वा सोभन्दा माथिको होटल/रिसोर्ट परिसरमा मात्र सञ्चालन गर्न पाइन्छ।
सुरक्षाकर्मी, खेलको प्रकार (टेबल गेम र विद्युतीय मेसिन), र खेलाडीको दर्ता लगायतका नियमहरू छन्। नेपालका प्रमुख पर्यटकीय सहरहरूमा २४ वटा क्यासिनोहरू आधिकारिक रूपमा लाइसेन्स प्राप्त गरेर सञ्चालनमा छन्।