हाम्रा मास्टर-सेफ
ठमेलको ठेलामठेल होटलको भीडमा छ 'द मल्ल होटल'। होटलमा तीन वटा रेस्टुरेन्ट छन्। तीन वटै रेस्टुरेन्टका भान्सा सम्हाल्छन् ४८ वर्षीय कृष्ण गोविन्द महर्जन।
उनी होटलका शू–सेफ हुन्।
झन्डै दुई दशक विदेशमा काम गरेको अनुभव भएका कृष्ण अहिले नेपालमै रमाएका छन्। काम गर्दा पाएका गाली र तालीले नै अहिले आफू पाँचतारे होटलको सेफ हुन सकेको उनी बताउँछन्।
'ग्राहकको मनको कुरा बुझेर उसको रोजाइको खाना बनाउन सक्नु नै सेफको विशेषता हो,' उनी भन्छन्, 'नभए खाना बनाएर त जसले पनि दिन्छ। तर त्यो खाना खाइसकेपछि ग्राहक खुसी हुनुपर्छ।'
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/krishna%20%283%29.jpg)
ललितपुर सानागाउँका स्थानीय कृष्ण गोविन्द घरका माइला सन्तान हुन्। उनका एक दाजु र एक बहिनी छन्। घरको आम्दानीको मुख्य स्रोत खेती-किसानी थियो।
उनले गाउँ नजिकैको सिद्धि मंगलम् विद्यालयबाट एसएलसीसम्म पढे। एसएलसी दिएपछि आफूले मन पराएको साथीसँग बिहे पनि गरिहाले। उनका अनुसार छोराछोरीको बिहे गरिदिएपछि बाबुआमालाई एक किसिमको हलुका अनुभव हुने समय थियो त्यो। त्यसैले परिवारका सदस्यले पनि बिहे गर्न जोड गरे।
'हामी सँगै पढ्थ्यौं। हामी एकअर्कालाई मन पराउँछौं भन्ने घरमा थाहा थियो,' उनले भने, 'परिवारको सहमतिमै बिहे भयो।'
बिहेपछि उनले पढाइ छाडेनन्। थप अध्ययनका लागि लगनखेलस्थित नमूना मच्छिन्द्र कलेजमा व्यवस्थापन संकायमा भर्ना भए। त्यो बेला उनी सानेपास्थित इन्टरनेसनल क्लबमा काम पनि गर्थे, भान्सा सहयोगीका रूपमा। त्यहाँ काम गर्दा नै उनले होटलसम्बन्धी तीन महिनाको तालिम पनि लिएका थिए।
क्लबमा जिम, हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा, बार लगायत सुविधा थियो। उनले पकाउन सहयोग गर्ने, खानेकुरा ग्राहकको टेबलसम्म पुर्याउनेदेखि सरसफाइसम्मका काम गर्थे।
मेहनती स्वभावका कृष्ण सेफहरूलाई खुसी पार्न खप्पिस थिए। उनी सेफहरूलाई सहज होस् भनेर गोदामबाट भान्सासम्म सामान ल्याइदिने, आवश्यकताअनुसार तरकारी काट्न, पखाल्न सघाउँथे।
'सामान बोकेर ल्याइदियो भने सेफ खुसी हुन्थे। त्यहाँ काम गर्दा धेरै फलफूल, तरकारीको नाम अंग्रेजीबाट जानिसकेको थिएँ,' उनले सुनाए।
त्यहाँ काम गरेको करिब डेढ वर्षपछि उनलाई निःशुल्क विदेश जाने अवसर आयो। त्यति बेलासम्म उनी एक छोराका बाबु बनिसकेका थिए। उनलाई श्रीमती र छोरा छाडेर विदेश जाने मन थिएन। तर गाउँमा विदेश जाने लहड चलेकाले उनी पनि थोरै रहर, थोरै पारिवारिक बाध्यताका बीच २०५४ सालमा साउदी अरब उडे।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/krishna%20%286%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/krishna%20%289%29.jpg)
उनका अुनसार साउदीमा भर्खरै बनेको पाँचतारे रिजोर्ट सञ्चालनका लागि नेपालीका साथै अन्य देशका कर्मचारी पनि लगिएको थियो। साउदी जानेमा कृष्णसँग थप नौ जना नेपाली थिए। उनीहरूलाई यहाँबाट म्यानपावरले 'स्टुवर्ड' का लागि भनेर लगेको थियो।
'नेपालमा त स्टुवर्ड भनेको भान्सामा सेवा दिने भन्ने बुझिन्थ्यो। तर त्यहाँ सफा गर्नेलाई भनिँदो रहेछ,' कृष्णले भने, 'हामी त अलमल्लमा पर्यौं। विदेश आइसकेपछि फर्किन पनि सकिएन।'
उनीहरूले काम सुरू गरे। करिब दुई महिनाको तालिमपछि होटल सञ्चालन भयो। कृष्णले त्यहाँ चार वर्ष अवधिमा विभिन्न तहमा काम गरे। गएको दुई वर्षपछि उनी 'कमी थ्री' भए। त्यसको आठ महिनापछि 'कमी टु'। काम सिके पनि, तह बढे पनि, तलब नबढेकाले उनलाई त्यहाँ काम गर्न जाँगर भएन।
'अरूको धेरै तलब बढाएको थियो। हामी नेपालीको चाहिँ धेरै पुर्याएनन्,' उनले भने।
उनीहरूको अवस्था देखेर त्यही होटलका सेफले उनीहरूलाई अर्को होटलमा काम लगाइदिए। कृष्ण ओमनमको पाँचतारे क्राउन प्लाजा होटलमा 'कमी वान' भएर गए। उनले त्यहाँ एउटा रेस्टुरेन्ट सम्हाल्थे।
'म निकै मेहनती थिएँ। आफ्नो काममा ध्यान दिन्थेँ,' उनले भने, 'त्यो देखेर मेन सेफले इम्प्लोइ अफ द मन्थमा मेरो नाम दिएर पठाएका रहेछन्। सम्मान हुँदा निकै खुसी लागेको थियो।'
उनले त्यहाँ तीन वर्ष काम गरे। होटल छोड्ने बेलासम्म उनको पद र तलब दुवै बढेको थियो।
त्यसपछि उनी कतारस्थित म्यारियट होटलमा सोही तहमा 'सेफ द पार्टी' का रूपमा गए। कृष्णलाई त्यहाँ जागिर कसैले खोजिदिएका थिएनन्, केही समयअघि आफैंले इन्टरनेटमा खोजेर आवेदन दिएका थिए।
कृष्णले त्यहाँ काम गर्दा मेक्सिकन, चाइनिज, इन्डियन गरी धेरै देशका खाना बनाउन सिके।
'म आफ्नो क्षेत्रको काम सकेपछि अन्य ठाउँमा पनि दुई-तीन घन्टा काम गर्थेँ,' उनले भने।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/krishna%20%285%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/krishna%20%287%29.jpg)
काम सुरू गरेको आठ महिनामै तलब बढेको थियो। त्यहाँ उनले करिब तीन वर्ष काम गरे।
नयाँनयाँ ठाउँमा काम गर्दा धेरै अनुभव लिन सकिन्छ भन्ने उनलाई लाग्छ। त्यसैले उनले दुबई र कतारको रहो रिच काल्टुनमा एकैपटक आवेदन दिए। केही समयमे दुवैतिर नाम निस्कियो। उनले दुबई रोजे। उनी त्यहाँ 'सिनियर सेफ द पार्टी' भएर गए।
त्यहाँ आफूले विशेषगरी अरेबियन र मेडिटेरियन खाना बनाउन सिके। उनका अनुसार होटलको एक्जुकेटिभ सेफमा अमेरिकन थिए। ती सेफ नेपालीहरूलाई धेरै माया गरेर काम सिकाउँथे। खाना सम्बन्धी फिल्म हेर्न र किताब पढ्न सुझाउँथे। उनी सेफले सुझाएका सबै काम गर्थे।
'किताब किनेर पढ, यो लगानी हो, खर्च होइन भन्थे,' कृष्णले सुनाए, 'मसँग खाना सम्बन्धी ५/६ वटा किताब छन्। अहिले त किताब हेर्न पर्दैन, गुगलमै भेटिन्छ।'
उक्त होटलमा उनले सन् २०१४ सम्म काम गरे। त्यसपछि बहराइनस्थित फोर सिजन नामक पाँचतारे होटलमा सोही तहमा गए। तलब धेरै हुने र विश्वमा चलेको होटल भएर एउटै तह भए पनि होटल परिवर्तन गरेको उनी बताउँछन्। त्यहाँ डेढ वर्ष काम गरेपछि भने उनी नेपाल फर्किए।
'सबै राम्रो भए पनि खै किन किन मलाई त्यहाँ बस्नै मन लागेन। नेपालमै बसेर केही गर्छु भन्ने सोचेर राजीनामा दिएँ,' उनले भने।
विदेशबाट फर्केपछि आफन्त, साथीभाइसँगको भेटघाटमै करिब दुई महिना बित्यो। त्यसपछि साझेदारीमा उनले रेस्टुरेन्टमा काम सुरू गरे। त्यहाँ उनी धेरै टिकेनन्। ललितपुर, झम्सिखेलस्थित एक रेस्टुरेन्टमा काम गर्न गए। त्यहीँबाट आफूले नेपालीको खानाको स्वादबारे थाहा पाएको उनी बताउँछन्।
'म हेड सेफमा गएको थिएँ। यहाँ चट्ट पिरो स्वाद खोजिने रहेछ, विदेशतिर त्यस्तो हुन्न थियो,' उनले भने।
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/krishna%20%282%29.jpg)
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/krishna%20%284%29.jpg)
१८ वर्ष विदेशमा काम गरेका कृष्णलाई यहाँको सेवा सुविधाबारे थाहा थिएन। सिक्दै, गर्दै करिब डेढ वर्ष काम गरेपछि उनी झम्सिखेलकै मोक्ष रेस्टुरेन्टमा गए। त्यहाँको यात्रा पनि उनको पाँच महिना मात्रै रह्यो।
उनलाई फेरि कतारबाट कामको प्रस्ताव आयो। उनी गए।
'साथीको होटल थियो। अनुरोध गरेपछि नाइँ भन्नै सकिनँ,' उनले भने।
उनी त्यहाँ एक वर्षका लागि भनेर गएका थिए। सम्झौताअनुसारको समयावधि सकेपछि उनी फर्किए।
केही दिनको घर बसाइपछि उनले पानीपोखरीस्थित एक रेस्टुरेन्टमा काम सुरू गरे। त्यहीबीचमा कोरोना फैलियो, लकडाउन भयो। त्यो बीचको केही समय उनी घरै बसे। कोभिडको त्रास बिस्तारै हट्दै गएपछि उनले पुनः एक रेस्टुरेन्टमा काम गरे। त्यहाँ केही महिना काम गरे।
दुई महिना अघिदेखि भने उनी द मल्ल होटलमा काम गरिरहेका छन्।
'पाँचतारे होटलमा काम गर्ने इच्छा थियो। साथीभाइमार्फत यहाँ आइपुगेको हुँ,' उनले सुनाए।
पहिलेको तुलनामा अहिले सेफ पेसा निकै प्रतिस्पर्धी भएको उनको अनुभव छ। उनको समयमा होटल म्यानेजमेन्ट नपढे पनि सीप भए सेफ हुन सहज थियो। अहिले पढाइ र सीप दुवै चाहिन्छ।
नयाँ पुस्तालाई उनी सुझाव पनि दिन्छन्- प्रमाणपत्र लिन मात्र नभएर काम गर्ने इच्छा शक्ति लिएर आउनुहोस्।
कृष्णलाई होटल सम्बन्धी पढाउन कलेजहरूबाट प्रस्ताव पनि आउँछ। तर उनी समय दिनै पाउँदैनन्। उमेरले साथ दिएसम्म होटल क्षेत्र नछाड्ने योजना बनाएका छन् उनले।
कृष्ण भन्छन्, 'सेफ हुन उमेरले छेक्दैन, झन् पाको हुँदै गइन्छ। हातमा सीप हुन्जेल काम पाइन्छ।'
सबै तस्बिरः नवीनबाबु गुरुङ/सेतोपाटी
![](https://www.setopati.com/uploads/editor/old_cms_images/FEATURE/chetana/Chetana%202022%20all/krishna%20%281%29.jpg)
'हाम्रा मास्टर-सेफ' शृंखलाको यी स्टोरी पनि पढ्नुहोस्ः
जसले सम्हालिरहेका छन् पाँचतारे होटल 'अलफ्ट' को भान्सा
भाँडा माझेर काम थालेका थिए, अहिले सम्हाल्छन् पाँचतारे होटलको भान्सा
जसले सम्हाल्छन् देशभरिका 'सोल्टी' को भान्सा
कलेज पढ्दै 'एम्बासडर' का ३ रेस्टुरेन्ट सम्हालिरहेका दिलीप