विराटनगरका उद्योगी नविन रिजालले पछिल्लो महिना दिनको धेरै समय आफ्नो उद्योगहरूमा भन्दा ‘बजार’ मा बिताएका छन्। रिजालको समूहका मुख्य नेतृत्वकर्ता उनी मात्रै होइन, विराटनगरका सय जनाभन्दा बढी उद्योगीहरूले पछिल्लो महिना दिन नविनले जस्तै दौडादौडमै बिताएका छन्।
उनीहरू सबै आफ्नो उत्पादनको ‘मार्केटिङ’ का लागि बजारमा दौडिएका भने होइनन्। आज बुधबार(पुस ९) बाट विराटनगरमा सुरू हुँदै गरेको विराट ट्रेृड एक्स्पोको तयारीमा लागि उनीहरू देश दौडाहामा थिए। कोही भारत, बंगलादेश र पाकिस्तान पुग्दै थिए।
स्वदेशी तथा विदेशी उद्योगी, व्यापारी र लगानीकर्ताहरूलाई एकै थलोमा आफ्ना उत्पादनसहित उपस्थित गराएर नेपालमा औद्योगिक र लगानीको वातावरण खलबलिएको छैन भन्ने सन्देश दिने लक्ष्यले उनीहरूलाई भोकतिर्खा बिर्सिएर दौडिन बाध्य पारेको थियो।
२०५३ यता नियमितजसो हुँदै आएको यस्तै ट्रेड एक्स्पोका अघिल्ला संस्करणहरू अहिलेजस्तो चुनौतीपूर्ण नभएको अनुभव यहाँका उद्योगीहरूले गरेका छन्।
‘सम्झना गरौं त, तीन महिनाअघिको त्यो कहालीलाग्दो दिन,’ भदौ २४ अर्थात जेनजी आन्दोलनको दोस्रो दिनको स्मरण गर्दै उद्योगी रिजालले भने ‘त्यसबेला भएको देशभरीको विध्वंशले निजी क्षेत्रलाई कसरी घाइते बनाएको थियो? त्यस्तो घाइते मनोदशामा रहेको निजी क्षेत्रलाई ‘इनर्जाइज’ गर्ने केही न केही उपायको खोजी हुँदा यही एक्स्पो त्यस्तो माध्यम हुनसक्छ भन्ने भयो। र, हामी सबै जुटेर तयारी गरेर आजबाट सुरू गर्दैछौं।’
अबको १० दिनभित्र कम्तीमा दुई लाख अवलोकनकर्तालाई स्वागत गरेर नवप्रवर्तनदेखि उद्यमशीलताका अनेकौं आयामहरूको प्रदर्शनी गर्ने, त्यसबाट नयाँ लगानीकर्ताहरूमा आशा जगाउने लक्ष्यसहित एक्स्पो आज सुरू हुँदैछ। अर्थमन्त्री रामेश्वर खनालले अढाई बजे उद्घाटन गरेर सुरू हुने एक्स्पोमा २५ देखि ३० करोड रूपैयाँको कारोबार गर्ने र दुई लाख अवलोकनकर्तालाई स्वागत गर्ने लक्ष्य रहेको आयोजक मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी बताउँछन्।
‘यो दश दिनमा यहाँ कति कारोबार हुन्छ भन्ने कुरा ठूलो कुरो होइन यहाँ देखिने उद्यमशीलताका नमूनाहरू, यहाँ साटासाट हुने आपसी विचार र आइडियाहरूले निजी क्षेत्रलाई नयाँ उत्साह प्रदान गर्नेछ,’ अध्यक्ष राठी भन्छन् ‘झण्डै झण्डै ढलिसकेको निजी क्षेत्रको आत्मविश्वास सामूहिक रूपमा उठाउने प्रयास बन्नेछ एक्स्पो। हाम्रो मुख्य अपेक्षा यही हो।’
भदौ २४ को दिन सम्झिँदा अहिले पनि कहालीलाग्ने बताउने उद्योगीहरू त्यसबेला अब नयाँ लगानी भित्रने त कुरै छाडौं, भएको पनि सल्टाउनतिर लाग्ने बताउँथे। तर, सधैं जोखिममा खेल्ने र त्यहीँबाट अवसर निकाल्ने बानी परेका उनीहरू किन त्यसो गर्थे र! नयाँ उपायको खोजीमा जुटिहाले। त्यसका लागि एक्स्पोलाई उनीहरूले अवसरमा रूपान्तरण गर्ने योजना बनाएका छन्।
जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक अन्योलले निम्त्याएको सुस्त आर्थिक गतिविधिलाई चलायमान बनाउने र मुलुकको अर्थतन्त्रलाई नयाँ गति दिन औद्योगिक नगर विराटनगरबाट होस्टे गर्ने आयोजक बताउँछन्।
विराटनगर–१, स्थित शान्ति चोकमा अहिले केहीबेरमा अर्थमन्त्री रामेश्वर खनालले औपचारिक उद्घाटन गर्ने एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए। मोरङ उद्योग व्यापार संघले एक्स्पो विराटनगरका लागि गौरवको विषय भएको उल्लेख गर्दै सक्रिय सहभागिताका लागि विराटनगरबासीमा आह्वान पनि गरेको छ।
निजी क्षेत्रका संघसंस्थाहरूमध्ये मुलुककै जेठो मानिने मोरङ उद्योग व्यापार संघले उद्योग संगठन मोरङसँग सहकार्य गर्दै हरेक वर्ष एक्स्पो गर्दै आएको छ। एक वर्ष संघले अनि अर्को वर्ष संगठनले एक्स्पो गर्दै आएका छन्।
संघले पहिलो पटक कोशी महोत्सव २०५३ मार्फत औद्योगिक तथा व्यापारिक मेलाको प्रवद्र्धन सुरू गरेको थियो । त्यसपछि पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२, विराट महोत्सव २०७०, विराट ट्रेड एक्स्पो २०७५, विराट ट्रेड एक्स्पो २०७८, मोरङ व्यापार संघ एक्स्पो–२०८० पनि आयोजना गरी भव्यताका साथ सम्पन्न गरिसकेको छ।
पुस १९ गतेसम्म चल्ने यसपटकको एक्स्पो कोशी प्रदेशकै बृहद अन्तर्राष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी बन्ने अपेक्षा आयोजकको छ। ‘एक्स्पोले कोशी प्रदेशसहित मुलुकभरीका औद्योगिक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, ऊर्जा लगायत विभिन्न क्षेत्रका उत्पादन र सेवाहरूको राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने छ,’ एक्स्पो संयोजक अमितकुमार सारडाले भने ‘त्यस्तै, नवप्रवर्तन, महिला, युवा सहित सबै वर्गका उद्यमीहरूलाई स्वदेशी एवं विदेशी लगानीकर्ताहरूसँग व्यवसायिक सम्बन्ध स्थापना गर्न र विस्तार गर्न साझा थलो प्रदान गर्नेछ।’
एक्स्पोले कोशी पर्यटन वर्ष २०८२ लाई प्रवर्द्धन गर्दै कोशी प्रदेशको संस्कृति र पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने पनि उनले जानकारी दिए। एक्स्पोमा निर्मित ३ वटा हेङगर र दुई सयभन्दा बढी स्टलहरूबाट कृषिजन्य र औद्योगिक उत्पादन, कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका सेवाका साथै छिमेकी राष्ट्र भारत बंगलादेश, पाकिस्तान लगायत विभिन्न मुलुकका उत्पादनहरूको पनि प्रदर्शनी हुँदैछ।
११ दिने एक्स्पोमा लगातार आठ दिनसम्म स्टार्टअप, महिला उद्यमशीलता, पर्यटन, एआई., सूचना प्रविधि लगायत विभिन्न विषयहरूमा थिमेटिक सेसन र सेमिनारहरू पनि सञ्चालन हुँदैछ । यसका लागि स्वीस कन्ट्राक्ट, आईडिया स्टुडियोजस्ता पेशागत संस्थाहरूले मोरङ उद्योग व्यापार संघसँग सहकार्य गरेका छन्।
कोशी प्रदेश सरकार र विराटनगर महानगरपालिकाले प्रवर्द्धन गरेको एक्स्पोलाई रमपम तयारी चाउचाउ र मारूती सिमेन्टले मुख्य प्रायोजन गरेको छ। त्यस्तै खुकुरी रम, सेन्चुरी मसला र ग्रिन टायर्स एक्स्पोका गोल्ड स्पोन्सरका रूपमा रहेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौँ, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, उद्योग संगठन मोरङ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ, विराट व्यापार संघ, मोरङ अटोमोवाइल डिलर्स एशोसिएशन र मोरङ इलेक्ट्रीक संघ एक्स्पोको सहयोगी संस्थाको भूमिकामा छन्।
‘निजी क्षेत्रका सबै संघसंस्थाहरूसँगको हातेमालो छ यो अभियानमा,’ संघका अध्यक्ष राठीले सुनाए ‘यो दश दिन मुलुककै पुरानो औद्योगिक नगर विराटनगर उद्यमशील उत्सवमा रमाउनेछ। यसले निजी क्षेत्रलाई नयाँ ऊर्जा र आत्मविश्वास भर्ने अपेक्षमा छौं।’