प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक परे नयाँ कानुनसमेत ल्याएर निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिहरूले गरेको भेटमा आन्तरिक तथा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, पूर्वाधारमा लगानी, रोजगारी सिर्जना र राजस्व वृद्धिलगायतका विषयमा छलफल भएको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले जानकारी दिए।
ढकालका अनुसार भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रका समस्या र सुझावप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए।
लगानीको वातावरण सुधार गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार तयार रहेको संकेत प्रधानमन्त्रीबाट आएको उनले बताए।
सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा समन्वयका लागि नियमित बैठक बस्ने गरी स्थायी संयन्त्र निर्माण गर्ने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक देखिएको ढकालले बताए।
'आधा घण्टाको समय तोकिएको भेट दुई घण्टासम्म लम्बिनुले नै यो अन्तरक्रिया कति अर्थपूर्ण थियो भन्ने देखाउँछ,' ढकालले भने, 'व्यवसायी तथा लगानीकर्ताको मनोबल केही कमजोर देखिएको अहिलेको अवस्थामा सरकार र निजी क्षेत्रबीच यस्तो प्रत्यक्ष छलफल हुनु र लगानीको विश्वास बढाउने प्रतिबद्धता आउनु सुखद संकेत हो।'
उनका अनुसार प्रधानमन्त्रीसँगको भेटमा निजी क्षेत्रले लगानी विस्तार, रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन सरकारले अनुकूल वातावरण निर्माण गर्नुपर्ने विषयमा समेत आफ्ना धारणा राखेको थियो।
प्रधानमन्त्री शाहसँगको भेटमा व्यवसायीहरू विनोद चौधरी, उमेश श्रेष्ठ र पवन गोल्यानसमेत सहभागी थिए।