कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको प्रदेश लगानी सम्मेलन बिहीबार विराटनगरमा सुरू हुँदैछ।
पर्यटन, कृषि, उद्योग, पुर्वाधार, स्वास्थ्य लगायत क्षेत्रका ७१ वटा आयोजना शोकेसमा राखेर झन्डै पौने दुई खर्व लगानी भित्र्याउने महत्वाकांक्षी लक्ष्य प्रदेश सरकारको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनको उद्घाटन गर्दैछन।
विराटनगरको वीरेन्द्र सभागृहमा सम्मेलन हुँदैछ। लगानी सम्मेलनका लागि आवश्यक सबै तयारी पूरा भएको प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालाले जानकारी दिए।
दुईदिन आयोजना हुने लगानी सम्मेलनकै पूर्वसन्ध्यामा बुधबार ‘प्रि इन्भेष्मेन्ट मिट’ को आयोजना भएको छ। मुख्यमन्त्री हिक्मत कार्कीले लगानीमैत्री वातावरण निर्माणका लागि प्रदेश सरकारले आठ वटा कानुनहरू अध्यादेशमार्फत संशोधन गरेको जानकारी दिए।
उनले लगानी सम्मेलनका माध्यमबाट प्रदेशको समृद्धिमा टेवा पुग्ने बताए। साथै सम्मेलन सम्पन्न भएपश्चात सरकारकै नेतृत्वमा आवधिक रूपमा फलोअप बैठक गरिने र प्रदेश सरकारले धेरै भन्दा धेरै प्रतिबद्धता भएका परियोजनालाई सफल बनाउन सबै खालको सहयोग गर्ने बताए।
‘प्रि इन्भेष्मेन्ट मिट’ मा सहभागी उद्योगी तथा व्यवसायीहरूले जलविद्युत र पर्यटनजस्ता क्षेत्र लगानीका लागि आकर्षण रहेको बताएका थिए । यी क्षेत्रमा सरकारले कर प्रणालीमा सहजीकरण गर्नुपर्ने उनीहरूले आग्रह गरेका थिए।
प्रदेश सरकारले पर्यटन, कृषि, उद्योग, पूर्वाधार, स्वास्थ्य लगायतका क्षेत्रका ७१ वटा परियोजना ‘सोकेसिङ’ गरेको छ। यी परियोजनाका लागि १ खर्ब ७३ अर्ब ४९ करोड रूपैयाँ लगानी आवश्यक पर्ने अनुमान छ।
लगानी सम्मेलनमा चीन, रूस, अमेरिका, दक्षिण कोरिया, भारतलगायत देशका लगानीकर्ता तथा गैरआवासीय नेपालीहरूको उपस्थिति रहने सरकारको भनाइ छ।
सम्मेलनमा कृषि र पर्यटनको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसरबारे विषयगत छलफलहरू सञ्चालन हुनेछ।