नेपालमा वस्तु आयात लगातार बढिरहेको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६ खर्ब ४६ अर्ब ७८ करोड रूपैयाँको वस्तु आयात भएको छ।
गत आर्थिक वर्षको यही अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रूपैयाँको वस्तु आयात भएको थियो। यस वर्ष आयात ३८.१८ प्रतिशतले बढेको छ।
एक महिनामै साढे २ खर्ब रूपैयाँभन्दा बढीको वस्तु विदेशबाट भित्रिएको छ। असोजमा मात्रै २ खर्ब ४६ अर्ब रूपैयाँको वस्तु आयात भएको हो।
भदौमा पनि २ खर्ब १४ अर्ब रूपैयाँको आयात भएको थियो।
गत चैतदेखि लगातार हरेक महिना २ खर्ब रूपैयाँभन्दा बढीको वस्तु आयात हुँदै आएको छ।
मूल्यवृद्धि र पेट्रोलियम पदार्थको बढ्दो खपतले पनि आयातको रकम बढाएको छ।
अन्तर्राष्ट्रिय बजारमा वस्तुको मूल्य बढ्दा उही परिमाणको वस्तु आयात गर्न पनि बढी रकम खर्च गर्नुपर्छ। पेट्रोलियम पदार्थको खपत बढ्दा आयातको रकम थप बढ्छ।
आयातसँगै निर्यात पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ खर्ब १४ अर्ब २८ करोड रूपैयाँको वस्तु निर्यात भएको छ।
गत आर्थिक वर्षको यही अवधिमा ७२ अर्ब ७८ करोड रूपैयाँको निर्यात भएको थियो। निर्यात ५७.०३ प्रतिशतले बढेको हो।
आयातभन्दा निर्यातको वृद्धिदर बढी भए पनि व्यापार घाटा भने बढेको छ। समीक्षा अवधिमा व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रूपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रूपैयाँ थियो।
तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड रूपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको यही अवधिमा यस्तो व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रूपैयाँ थियो। कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेको हो।
कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा कुल व्यापारमा निर्यातको हिस्सा १३.४६ प्रतिशत रहेकामा चालु आर्थिक वर्षमा १५.०२ प्रतिशत पुगेको छ।
आयातको हिस्सा भने ८६.५४ प्रतिशतबाट घटेर ८४.९८ प्रतिशतमा झरेको छ।
आयात र निर्यातको अनुपात पनि घटेको छ।
गत आर्थिक वर्षको पहिलो तीन महिनामा १ रूपैयाँको वस्तु निर्यात गर्दा ६ रूपैयाँ ४३ पैसाको आयात हुने गरेकामा चालु आर्थिक वर्षमा यस्तो अनुपात ५ रूपैयाँ ६६ पैसामा झरेको छ।
यसले कुल व्यापारमा निर्यातको हिस्सा बढेको देखाए पनि आयातको तुलनामा निर्यात निकै कम रहेको छ।