सरकारले आगामी वर्षको लागि आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
यसपालिको नीति तथा कार्यक्रम अनुसार बजेट ल्याइएमा विगतको तुलनामा केही सुधार हुने देखिएको छ।
एक आर्थिक वर्षमा सकिने योजना तथा यो संसदको बाँकी कार्यवधिमा गर्न सकिने योजना मात्रै अघि सारिने प्रतिबद्धता नीति तथा कार्यक्रममा गरिएको छ।
राष्ट्रपतिले बाचन गरेको नीति तथा कार्यक्रम यो पटक जम्मा ५६ पेजको मात्रै रहेको छ। यो पछिल्लो ५ वर्ष यताकै छोटो तथा छरितो नीति तथा कार्यक्रम हो।
चालु वर्षको नीति तथा कार्यक्रम ८४ पेजको रहेको थियो।
आर्थिक वर्ष २०८०/८१ मा ७२ पेजको थियो। आर्थिक वर्ष २०७९/८० मा ६६ पेजको थियो। त्यसअघिका दुई आर्थिक वर्षमा पनि क्रमश: ६५ पेज र ६३ पेजको थियो।
आर्थिक वर्ष २०७६/७७ को भने जम्मा २६ पेजको मात्रै थियो।
पछिल्ला वर्षहरूमा लम्बेतान र पूरा गर्न नसकिने तथा दशकौ लाग्ने योजना पनि अघि सार्ने गरिएको थियो।
यो पटक पनि कतिपय नारामा सीमित हुने प्रकृतिका कार्यक्रम भने रहेका छन्।