प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्ष्य गर्दै प्रतिनिधि सभाको रोस्टमबाट 'कहाँ भाग्ने' भन्दै प्रश्न सोधेका छन्।
लिङ्देनले हालै भएको एक कार्यक्रममा बोल्दै 'गल्ती सच्याउन तयार हुनुस्, हैन भने म भद्रतापूर्वक भन्छु- भाग्न तयार हुनैपर्छ' भनेका थिए।
उक्त अभिव्यक्तिसहितको भिडिओ लिङ्देनले सामाजिक सञ्जाल फेसबुकमा पनि सेयर गरेका छन्।
अध्यक्ष लिङ्देनको उक्त अभिव्यक्तिप्रति आइतबार नीति तथा कार्यक्रममाथि जबाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले 'कहाँ भाग्ने' भन्दै टिप्पणी गरेका हुन्।
‘हामीलाई भन्या होला भाग्ने भनेर। हामी त अलि बुढा पनि भइसक्यौं, कुद्न सक्दैनौं। यो भन्ने वक्तालाई मिल्छ, जवानलाई। हामी अहिल पाका मानिस कहाँ भाग्ने कहाँ कुद्ने हो?,’ प्रधानमन्त्री ओलीले प्रश्न गरे।
उनले राप्रपा अध्यक्ष लिङ्देनका अभिव्यक्तिलाई लक्ष्य गर्दै भने, ‘कि राजा ल्याउने सम्झौता गर होइन भने भाग्न तयार होऊ, कहाँ भाग्ने? एउटा थोत्रो संस्थाको तर्फबाट नेपाली जनतालाई लर्कार्ने? भाग्नुपर्छ तिमीहरू भनेर? नेपाली जनता भाग्ने होइन।’
भिडिओ: