रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ६ की शान्ति थारुको दैनिकी अहिले फेरिएको छ।
केही साता अघिसम्म घरको कामधन्दा र खेतीपातीमै सीमित शान्ति आजकल थारु समुदायमा प्रयोग हुने बाँस र खरबाट बनाइने हस्तकलाका सामग्री बनाउन व्यस्त छिन्।
शान्ति मात्र होइन, सियारी वडा नं. ४ र ६ का थारु महिलाहरू अहिले आफ्नो परम्परागत सीपलाई आधुनिक व्यवसायमा बदल्न तल्लीन छन्।
आमाहरूले परम्परागत रूपमा ढकिया र विभिन्न प्रकारका टोकरी बुन्ने गरेको देखेकी सरस्वती थारुको हातमा पनि ढकिया बुन्ने सामान्य सिप थियो। तर त्यसलाई व्यावसायिक र आधुनिक बनाउने तालिमको अभाव थियो।
थारु हस्तकलाका सामग्री बनाउने १५ दिने तालिममा सहभागी सरस्वतीले आफ्नो अनुभव साट्दै भन्छिन्, ‘थारु समुदायमा सामान्य रूपमा ढकिया बुन्न धेरैलाई आउँछ तर, अहिलेको बजारले कस्तो प्रकारको ढकिया खोज्छ र कसरी फिनिसिङ दिने भन्ने मलाई पनि थाहा थिएन। यो तालिमले सामग्रीलाई फिनिसिङ दिन र बजारको माग बुझ्न सघाएको छ,’ उनले भनिन्।
सियारी गाउँपालिकाको समन्वयमा शान्तिका लागि साझा अभियान (कोक्याप) ले वडा नं. ४ र ६ का १३ जना महिलाहरूलाई थारु समुदायमा प्रयोग हुने हस्तकलाका सामग्री बनाउने तालिम दिएको हो।
कोक्यापले सामाजिक सुरक्षा र जीविकोपार्जनका लागि सीप विकास र साना उद्यम प्रवर्द्धन कार्यक्रममार्फत महिलाहरूमा आत्मनिर्भरता बढाउने उद्देश्यले हस्तकलाका सामग्री बनाउने तालिम सञ्चालन गरेको को क्यापका लुम्बिनी प्रदेश अध्यक्ष रिमा बिसीले जानकारी दिइन्। कोक्यापले मानव अधिकार, शान्ति पुनर्स्थापना, सामाजिक सुरक्षा, द्वन्द्व व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्दै आएको छ।
देशका विभिन्न २९ वटा जिल्लाका ४३ वटा संस्था आबद्ध रहेको कोक्यापले आबद्ध संस्थाहरूको क्षमता विकास र संस्थागत सुदृढीकरणको कामसँगै समुदायका महिलाहरूलाई जीविकोपार्जनसम्बन्धी तालिम पनि प्रदान गर्दै आएको छ।
सोही क्रममा स्थानीय दिपज्योति लघु उद्यम समूह र स्थानीय थारु महिलाहरूको सक्रिय सहभागितामा उनीहरूको जीविकोपार्जनका लागि उक्त तालिम प्रदान गरिएको हो।
-ink-1775013404.jpeg)
-ink-1775013404.jpeg)
वर्षौँदेखि थारु समुदायमा घरायसी प्रयोजनका लागि बुनिएका ढकिया, पूजा टोकरी, गुन्द्री लगायत विभिन्न हस्तकलाका सामग्रीले अब व्यावसायिक रूप लिन थालेको छ। यस्ता तालिमले कुनै पनि समुदायमा मात्र सीमित रहेका परम्परागत हस्तकलाका सामग्रीले व्यावसायिक बजार पाउने तालिमकी प्रशिक्षक रीना थारुले बताइन्।
बजारमा आधुनिक मेशिनबाट तयार गरिएका प्लास्टिक तथा विभिन्न धातुका सामग्रीहरूले स्थान ओगटिसकेका बेला थारु समुदायको पहिचान बोकेका तर लोप हुन लागेका हस्तकलाका सामग्रीलाई पुनर्जागृत गरिदिएको तालिममा सहभागी कमला जोशीले बताइन्।
तालिमकी सहभागी शान्ति थारु भन्छिन्, ‘घरमा ढकिया त बुन्थ्यौँ, तर त्यसलाई बेच्न सकिन्छ वा त्यसबाट आम्दानी हुन्छ भन्ने सोचेका थिएनौँ। यो तालिमले हामीजस्ता विपन्न परिवारमा खुसी भरेको छ। अब सिकेको सीपलाई घरमै थन्क्याएर राख्दैनौँ, यसलाई आयआर्जनको माध्यम बनाएर अगाडि बढ्छौ|'
-ink-1775013404.jpeg)
-ink-1775013404.jpeg)
सहभागीहरूले १५ दिनको अवधिमा आधुनिक बजारको मागअनुसारका सजावटका सामग्री, ढकिया, पूजाको टोकरी र दैनिक प्रयोगमा आउने विभिन्न कलात्मक वस्तुहरू तयार पार्न सिकेका छन्। हस्तकलाको माध्यमबाट जीविकोपार्जनलाई सजिलो बनाउन यसलाई उद्यमशीलताको रूपमा अगाडि बढाउने शान्तिले बताइन्।
तालिममा सहभागी सोना थारु, लक्ष्मी थारु, सरस्वती बिक, ललिता थारु, फूलकुमारी थारु र रामकुमारी थारु लगायतका महिलाहरूले अब आफूहरू परनिर्भर हुनु नपर्ने भन्दै खुसी व्यक्त गरे। उनीहरूले सामूहिक रूपमा व्यवसाय सुरु गर्ने र उत्पादित सामग्रीलाई बजारसम्म पुर्याउने योजना बनाइसकेका छन्।
तालिममा देखिएको महिलाहरूको उत्साहलाई खेर जान नदिन वडा र गाउँपालिकाको तर्फबाट सहयोग गर्ने सियारी वडा नं. ६ का वडा अध्यक्ष शेरबहादुर गुरुङले बताए।
‘सिकेको सीपलाई व्यक्तिगत वा समूहगत रूपमा व्यवसायमा रूपान्तरण गर्न र महिलाहरूलाई आत्मनिर्भर बनाउने यात्रामा स्थानीय सरकार सधैँ साथमा रहेको’ उनले बताए।
वडा सचिव डोलराज बन्जाडेले ग्रामीण क्षेत्रका महिलाहरूलाई उद्यमशीलतासँग जोड्नु नै वास्तविक विकास भएको बताए। उनले वडा कार्यालयले यस्ता कार्यक्रमका लागि आगामी दिनमा पनि सहयोग र सहकार्य गर्ने बताए।
को क्यापका केन्द्रीय अध्यक्ष पुष्प भुसालले १५ दिनको तालिमले महिलाहरूमा रहेको परम्परागत सिपलाई व्यावसायिक मात्र नभई उनीहरूमा सामाजिक र आर्थिक सुरक्षाको बाटो समेत देखाइदिएको बताए।
-ink-1775013404.jpeg)
-ink-1775013403.jpeg)