वैदेशिक रोजगार बोर्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिकका परिवार तथा आफन्तका लागि प्रतिक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याएको छ।
बोर्डको १८औं स्थापना दिवसको अवसर पारेर बिहीबारदेखि प्रतिक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको हो।
वैदेशिक रोजगारीका क्रममा जीवन गुमाउने नेपाली श्रमिकका परिवार तथा आफन्तले विमानस्थलमा कुर्नुपर्ने अवस्थालाई सहज बनाउने उद्देश्यले उक्त सेवा सुरू गरिएको बोर्डका कार्यकारी निर्देशक निर्मलकुमार उप्रेतीले बताएका छन्।
उप्रेतीले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन बोर्डले विभिन्न काम गर्दै आएको बताएका छन्।
पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तथा डिजिटल सामग्रीको पहुँच श्रमिक र समुदायस्तरसम्म पुर्याउने काम पनि भइरहेको उनले जानकारी दिए।
गन्तव्य मुलुकका सरकारसँग गरिने श्रम सम्झौतामा श्रमिकका हित र सामाजिक सुरक्षाका विषय समेट्न आवश्यक सहकार्य र समन्वयको काम भइरहेको उप्रेतीले बताए।
त्यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्ने तथा विभिन्न सीपमूलक तालिम आयोजना र सीप प्रमाणीकरणमा सहायता गर्ने कामलाई थप प्रभावकारी बनाउन आवश्यक काम भइरहेको बोर्डले जनाएको छ।