श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियामा नेपाली श्रमिकको रोजगारी र भर्ती प्रक्रियाबारे भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ।
मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मलेसिया रोजगारीबारे विभिन्न भ्रामक तथा तथ्यहीन सूचना फैलिएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।
मन्त्रालयका अनुसार नेपाली श्रमिकलाई मलेसिया पठाउने विषयमा मलेसियाली सरकारका सम्बन्धित निकायसँग निरन्तर छलफल भइरहेको छ। नेपालले प्रचलित कानुन, श्रम सम्झौता र अन्तर्राष्ट्रिय कानुनअनुसार श्रमिक पठाउने प्रक्रियालाई व्यवस्थित बनाउन पहल गरिरहेको छ।
मन्त्रालयले नेपाली श्रमिकको अधिकार संरक्षण र दीर्घकालीन हित सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ। साथै, नेपाल र मलेसियाबीचको श्रम आप्रवासनलाई पारदर्शी, निष्पक्ष र दुवै देशको हितमा आधारित बनाउन काम भइरहेको उल्लेख गरेको छ।
नेपाली श्रमिकको छनोट तथा भर्ती प्रक्रिया निष्पक्ष बनाउन सरकार सकारात्मक रहेको पनि मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता मिरा आचार्यद्वारा जारी विज्ञप्तिमा मलेसिया रोजगारीबारे आधिकारिक स्रोतबाट मात्रै जानकारी लिन र अपुष्ट सूचना सम्प्रेषण नगर्न आग्रह गरिएको छ।