नेपालको उदाउँदो प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग र स्थानीय नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘राष्ट्रिय एआई ह्याकाथन २०२६’ आयोजना हुने भएको छ।
प्रविधि कम्पनी कोडदृष्टि सफ्टवेयर प्रालिले उक्त कार्यक्रम आगामी जेठ २३ र २४ गते आयोजना गर्न लागेको हो।
प्रालिका अनुसार ३२ घण्टासम्म निरन्तर चल्ने ह्याकाथनमा देशभरका विकासकर्ता, विद्यार्थी, अनुसन्धानकर्ता, नवप्रवर्तक तथा प्रविधि उद्यमीहरू एउटै थलोमा भेला भई वास्तविक संसारका जटिल समस्याहरूको एआई प्रविधिमार्फत उच्च-प्रभावकारी समाधान खोज्न प्रतिस्पर्धा गर्नेछन्।
आयोजक कोडदृष्टिका अनुसार यस राष्ट्रिय स्तरको कार्यक्रममा नेपालका सातै प्रदेशका प्रविधि प्रतिभाहरूले सहभागिता जनाउनेछन्। ३२ घण्टाको मुख्य ह्याकाथन अवधिभर प्राविधिक बहस (Tech Talks), मुख्य प्रस्तुतिहरू (Keynote Sessions), नेटवर्किङ सत्रहरू र भव्य पुरस्कार वितरण समारोह सञ्चालन गरिनेछ।
कार्यक्रममा देशभरबाट २५० भन्दा बढी प्रतिस्पर्धी, मेन्टर (परामर्शदाता) र निर्णायकहरूको प्रत्यक्ष उपस्थिति रहने अपेक्षा गरिएको छ।
आयोजकका अनुसार यसपटकको ह्याकाथन केवल कोडिङ र परम्परागत पुरस्कार जित्नेमा मात्र सीमित नभई व्यावसायिकतासँग सिधै जोडिनेछ।
प्रविधि क्षेत्रका नवप्रतिभाहरू पहिचान गर्न र देशको एआई इकोसिस्टम बलियो बनाउन आयोजकले कर्पोरेट क्षेत्र र सरोकारवालाहरूका लागि स्पोन्सरसिप (प्रायोजन) को समेत प्रस्ताव खुला गरेको छ।
ह्याकाथनका लागि जनरल , ब्रन्ज, सिल्भर, गोल्ड र शीर्ष प्रायोजकका रूपमा ‘टाइटल स्पोन्सर’ गरी पाँचवटा श्रेणी तय गरिएको छ।
३२ घण्टे उक्त 'राष्ट्रिय एआई ह्याकाथन २०२६' ललितपुरको बालकुमारीस्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (NCIT) को परिसरमा भौतिक उपस्थितिमा भव्य रूपमा सञ्चालन हुनेछ।