आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि विकास गर्ने अमेरिकी कम्पनी एन्थ्रोपिकले इतिहासकै सबभन्दा ठूलो सार्वजनिक सेयर निष्कासन (आइपिओ) गर्ने तयारी गरेको छ।
लोकप्रिय एआई च्याटबट 'क्लड' (Claude) बनाउने यो कम्पनीले सर्वसाधारणलाई सेयर बिक्री गरेर १०० अर्ब अमेरिकी डलरसम्म पुँजी जुटाउने योजना बनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
यो रकम अहिलेसम्म विश्वका कुनै पनि कम्पनीले प्रारम्भिक सार्वजनिक सेयर निष्कासनमार्फत जुटाएको रकमभन्दा ठूलो हुनेछ।
यसअघि अमेरिकी अर्बपति इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस–एक्सले सन् २०२६ जुनमा सार्वजनिक सेयर बिक्रीमार्फत ८६ अर्ब डलर जुटाएर कीर्तिमान बनाएको थियो।
एन्थ्रोपिकको योजना अनुसार १०० अर्ब डलर जुटाउन सके स्पेस–एक्सको कीर्तिमान तोडिनेछ।
एन्थ्रोपिकले अक्टोबर २६ (सोमबार) मा अमेरिकी धितोपत्र नियामक निकाय सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसइसी) मा सार्वजनिक सेयर निष्कासनसम्बन्धी विवरणपत्र दर्ता गराएको छ।
कम्पनीले कति कित्ता सेयर बिक्री गर्ने र प्रतिकित्ता कति मूल्य तोक्ने भन्ने अन्तिम निर्णय सार्वजनिक गरिसकेको छैन।
त्यसैले १०० अर्ब डलर जुट्ने अनुमान अहिले नै सुनिश्चित भएको होइन।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कम्पनीले नोभेम्बर महिनामै सेयर कारोबार सुरू गर्ने लक्ष्य राखेको छ।
यो आइपिओको अर्को आकर्षक पक्ष कम्पनीको सम्भावित मूल्यांकन हो।
लगानीकर्ताहरूले एन्थ्रोपिकको कुल मूल्य करिब १५ खर्ब अमेरिकी डलर पुग्न सक्ने अनुमान गरेका छन्। केही अनुमानमा यो २० खर्ब डलरसम्म पुग्न सक्ने उल्लेख छ।
तर यो कम्पनीको अन्तिम निर्धारित मूल्य होइन। वास्तविक मूल्यांकन सेयर बिक्रीको मूल्य र लगानीकर्ताको मागका आधारमा तय हुनेछ।
पाँच वर्षअघि खुलेको कम्पनी कसरी यहाँसम्म आइपुग्यो?
एन्थ्रोपिकको कथा सन् २०२१ बाट सुरू हुन्छ।
त्यति बेला अहिलेको चर्चित च्याटजिपिटी बनाउने कम्पनी ओपनएआईमा कार्यरत केही अनुसन्धानकर्ता र अधिकारीहरूले उक्त कम्पनी छाडेर आफ्नै एआई कम्पनी स्थापना गरेका थिए।
उनीहरूमध्ये प्रमुख थिए दाजुबहिनी डारियो अमोदेई र डानिएला अमोदेई।
डारियो ओपनएआईका अनुसन्धानसम्बन्धी वरिष्ठ अधिकारी थिए। डानिएला पनि त्यही कम्पनीको नेतृत्व तहमा कार्यरत थिइन्।
उनीहरूले एआई प्रविधि शक्तिशाली बनाउँदै लैजाँदा त्यसको सुरक्षा, विश्वसनीयता र मानव समाजमा पर्ने प्रभावलाई प्राथमिकता दिनुपर्ने मान्यतासहित एन्थ्रोपिक स्थापना गरेका थिए।
अमेरिकाको सान फ्रान्सिस्कोमा मुख्यालय रहेको यो कम्पनीले सुरूमा अनुसन्धान र एआई मोडेल विकासमा ध्यान केन्द्रित गर्यो।
सन् २०२१ को मे महिनामा कम्पनीले पहिलो चरणमा १२ करोड ४० लाख डलर लगानी जुटायो। त्यसको एक वर्षपछि २०२२ मा थप ५८ करोड डलर प्राप्त गर्यो।
सन् २०२३ को मार्चमा एन्थ्रोपिकले 'क्लड' नामको एआई मोडेल सार्वजनिक गर्यो।
यो मोडेलले मानिसले सोधेका प्रश्नको उत्तर दिने, लेख तथा दस्तावेज तयार गर्ने, लामो सामग्री विश्लेषण गर्ने र कम्प्युटर प्रोग्राम लेख्ने लगायत काम गर्न सक्छ।
यसले च्याटजिपिटी बनाउने ओपनएआईसँग प्रत्यक्ष प्रतिस्पर्धा सुरू गर्यो।
क्लडको विकाससँगै विश्वका ठूला प्रविधि कम्पनीहरूको ध्यान एन्थ्रोपिकतर्फ आकर्षित भयो।
सन् २०२३ को सेप्टेम्बरमा अमेजनले एन्थ्रोपिकमा चार अर्ब डलरसम्म लगानी गर्ने घोषणा गर्यो। त्यसको अर्को महिना गुगलको मातृकम्पनी अल्फाबेटले पनि दुई अर्ब डलरसम्म लगानी गर्ने सहमति गर्यो।
पछि अमेजनले थप लगानी गर्यो। एन्थ्रोपिकले आफ्ना एआई मोडेललाई निरन्तर शक्तिशाली बनाउँदै व्यावसायिक ग्राहक विस्तार गर्दै लग्यो।
सन् २०२५ को मार्चमा नयाँ लगानी जुटाउँदा कम्पनीको मूल्यांकन ६१ अर्ब ५० करोड डलर पुगेको थियो।
त्यसको छ महिनापछि, सेप्टेम्बर २०२५ मा कम्पनीको मूल्यांकन १८३ अर्ब डलर पुग्यो।
सन् २०२६ को मेमा थप ६५ अर्ब डलर लगानी जुटाउँदा कम्पनीको मूल्यांकन ९६५ अर्ब डलर पुगेको थियो।
अहिले सार्वजनिक सेयर निष्कासनको तयारी भइरहँदा यसको सम्भावित मूल्यांकन १५ खर्ब डलर हाराहारीमा पुगेको छ।
यसरी पाँच वर्षको अवधिमा एन्थ्रोपिक एउटा नयाँ अनुसन्धान कम्पनीबाट विश्वकै मूल्यवान प्रविधि कम्पनीहरूमध्ये एक बन्ने संघारमा आइपुगेको छ।
छ महिनामै १६ अर्ब डलरभन्दा बढी आम्दानी
एन्थ्रोपिकको तीव्र विस्तारलाई कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले पनि देखाउँछ।
सोमबार एसइसीमा बुझाइएको विवरणपत्र अनुसार सन् २०२६ को पहिलो छ महिनामा कम्पनीले १६ अर्ब ३० करोड डलर आम्दानी गरेको छ।
अघिल्लो वर्षको त्यही अवधिमा यसको आम्दानी करिब १ अर्ब २० करोड डलर थियो। अर्थात् एक वर्षमै आम्दानी झन्डै १४ गुणा भएको छ।
तर आम्दानीसँगै कम्पनीको खर्च पनि अत्यधिक छ।
यस वर्षको पहिलो छ महिनामा कम्पनीले ६९ करोड डलर सञ्चालन घाटा व्यहोरेको छ। त्यसै अवधिमा कम्पनी खुद घाटा भने ८० अर्ब ७० करोड डलर देखिएको छ।
यति ठूलो खुद घाटा देखिनुको प्रमुख कारण कम्पनीले यसअघि जुटाएको लगानी र ऋणसँग सम्बन्धित लेखांकन समायोजन हो।
यसमा ७२ अर्ब ४० करोड डलरको गैरनगद समायोजन समावेश छ। त्यसैले यो सबै रकम कम्पनीको खाताबाट नगद बाहिरिएको अर्थमा बुझ्नु हुँदैन।
एन्थ्रोपिकको व्यवसाय विस्तारमा ठूला कम्पनी र संस्थागत ग्राहकहरूको महत्त्वपूर्ण भूमिका छ।
कम्पनीको विवरणपत्र अनुसार वार्षिक एक करोड डलर वा त्यसभन्दा बढी आम्दानी दिने ग्राहकको संख्या करिब २५० पुगेको छ।
यसले क्लड व्यक्तिगत प्रयोगकर्ताका लागि मात्र नभई ठूला व्यावसायिक संस्थाहरूका लागि पनि महत्त्वपूर्ण एआई सेवाका रूपमा विस्तार भइरहेको देखाउँछ।
तर कम्पनीको आम्दानी केही ठूला ग्राहकमा केन्द्रित छ। सन् २०२६ मा उसका पाँच ठूला ग्राहकबाट कुल आम्दानीको करिब एक–चौथाइ प्राप्त भएको छ।
यति ठूलो रकम किन जुटाउँदैछ कम्पनी?
एआई प्रविधिको विकास र सञ्चालन अत्यन्त खर्चिलो व्यवसाय हो।
शक्तिशाली एआई मोडेललाई तालिम दिन र लाखौं प्रयोगकर्ताका प्रश्नको उत्तर दिन ठूलो संख्यामा कम्प्युटर चिप, डेटा सेन्टर र विद्युत् आवश्यक पर्छ।
एन्थ्रोपिकले सार्वजनिक सेयर बिक्रीबाट प्राप्त हुने रकम व्यवसाय विस्तार, कम्प्युटिङ पूर्वाधार, अनुसन्धान, कर्मचारी नियुक्ति तथा अन्य व्यावसायिक आवश्यकतामा खर्च गर्ने जनाएको छ।
कम्पनीको विवरणपत्र अनुसार जुन ३० सम्म नगद तथा नगद सरहका सम्पत्ति र अल्पकालीन लगानी गरी करिब १३१ अर्ब ७० करोड डलर थियो।
यति ठूलो रकम उपलब्ध हुँदाहुँदै कम्पनीले थप पुँजी जुटाउन खोज्नुको एउटा प्रमुख कारण भविष्यमा एआई पूर्वाधार निर्माण र सञ्चालनमा गर्नुपर्ने विशाल लगानी हो।
सेयर बिक्रीपछि पनि संस्थापककै नियन्त्रण
एन्थ्रोपिकको प्रस्तावित आइपिओमा अर्को महत्त्वपूर्ण विषय कम्पनीको नियन्त्रण संरचना हो।
सार्वजनिक विवरणपत्र अनुसार आइपिओपछि पनि डारियो अमोदेईसहित सात संस्थापकसँग कम्पनीको ५०.१ प्रतिशत मतदान अधिकार रहने व्यवस्था गरिएको छ।
यसका लागि संस्थापकहरूको नियन्त्रणमा रहने संस्थालाई विशेष प्रकारको सेयर प्रदान गर्ने प्रस्ताव छ।
यसको अर्थ सर्वसाधारणले कम्पनीको सेयर किन्न पाए पनि प्रमुख निर्णयहरूमा संस्थापकहरूको प्रभाव कायम रहनेछ।
एन्थ्रोपिक सामान्य नाफामुखी कम्पनीभन्दा फरक कानुनी संरचनामा दर्ता भएको छ। यसलाई अमेरिकामा 'पब्लिक बेनिफिट कर्पोरेसन' भनिन्छ।
यस प्रकारको कम्पनीले सेयरधनीको आर्थिक हितसँगै आफ्नो व्यवसायले समाजमा पार्ने प्रभाव र सार्वजनिक हितलाई पनि ध्यान दिनुपर्ने हुन्छ।
एन्थ्रोपिकले दीर्घकालीन रूपमा मानवहितका लागि सुरक्षित र जिम्मेवार एआई विकास गर्ने उद्देश्य राखेको छ। त्यसको निगरानीका लागि उसले छुट्टै 'लङ टर्म बेनिफिट ट्रस्ट' पनि बनाएको छ।
एआईको जोखिमबारे चेतावनी दिने कम्पनी नै किन तीव्र विस्तारमा?
एन्थ्रोपिकको व्यवसायमा एउटा रोचक विरोधाभास पनि छ।
कम्पनीका प्रमुख कार्यकारी डारियो अमोदेई एआई प्रविधि अत्यन्त शक्तिशाली हुँदै जाँदा त्यसले मानव समाजका लागि गम्भीर जोखिम सिर्जना गर्न सक्ने चेतावनी दिँदै आएका छन्।
उनले शक्तिशाली एआई विकासको गति र त्यसको सुरक्षाबीच सन्तुलन आवश्यक रहेको बताएका छन्।
तर उनकै नेतृत्वको कम्पनी अहिले विश्व इतिहासकै ठूलो सार्वजनिक सेयर निष्कासन गरेर आफ्नो एआई प्रविधि र पूर्वाधार तीव्र गतिमा विस्तार गर्ने तयारीमा छ।
कम्पनीले एसइसीमा बुझाएको विवरणपत्रमा समेत शक्तिशाली एआईको दुरूपयोग, स्वचालित प्रणालीमाथि मानव नियन्त्रण कमजोर हुन सक्ने अवस्था र मानव अस्तित्वसम्मका जोखिम उल्लेख गरेको छ।
अर्कोतर्फ एन्थ्रोपिकले ओपनएआई, गुगल लगायत विश्वका ठूला प्रविधि कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
यसका लागि नयाँ मोडेल विकास, दक्ष अनुसन्धानकर्ता नियुक्ति र कम्प्युटिङ पूर्वाधारमा निरन्तर ठूलो लगानी आवश्यक पर्छ।
विश्व सेयर बजारका लागि किन महत्त्वपूर्ण?
एन्थ्रोपिकको प्रस्तावित आइपिओ एउटा कम्पनीले ठूलो रकम जुटाउने घटनामा मात्र सीमित छैन।
पछिल्ला वर्षहरूमा विश्वका ठूला प्रविधि कम्पनीहरूले एआई विकासमा खर्बौं डलर लगानी गर्ने योजना अघि सारेका छन्। तर एआईबाट भविष्यमा कति नाफा कमाउन सकिन्छ भन्ने प्रश्न अझै पूर्ण रूपमा समाधान भएको छैन।
एन्थ्रोपिकको सार्वजनिक सेयर निष्कासनले यही प्रश्नको एउटा महत्त्वपूर्ण परीक्षण गर्नेछ।
कम्पनीको आम्दानी असाधारण गतिमा बढिरहेको छ। तर त्यसलाई सम्भव बनाउने पूर्वाधारको खर्च पनि अत्यन्त ठूलो छ।
लगानीकर्ताहरूले कम्पनीको भविष्यमा विश्वास गरेर ठूलो मूल्य तिर्छन् वा अत्यधिक खर्च र प्रतिस्पर्धाका कारण सावधानी अपनाउँछन् भन्ने आइपिओको अन्तिम मूल्य र सेयरको मागबाट स्पष्ट हुनेछ।
सेयर बजार अनुसन्धान संस्था रेनेसाँ क्यापिटलका वरिष्ठ रणनीतिकार म्याट केनेडीले रोयटर्ससँग एन्थ्रोपिकको आइपिओ सफल वा असफल हुनुले सन् २०२७ सम्मकै सार्वजनिक सेयर निष्कासन बजारलाई प्रभावित पार्न सक्ने बताएका छन्।