नेपालको अग्रणी पेमेन्ट सिस्टम अपरेटर फोनपेले आफ्नो क्युआर स्किममा युनियनपे इन्टरनेसनललाई सफलतापूर्वक एकीकृत गरेको घोषणा गरेको छ।
यो सहकार्य नेपाललाई विश्वभरका यात्रुहरूका लागि डिजिटल रूपमा समावेशी गन्तव्य बनाउने दिशामा महत्वपूर्ण कदम मानिएको छ।
यस एकीकरणसँगै चीनको मुख्यभूमि, हङकङ एसएआर, मकाउ एसएआर, सिंगापुर लगायत विश्वभरका युनियनपे प्रयोगकर्ताहरूले अब नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्युआर मर्चेन्टहरूमा सहज रूपमा क्युआर मार्फत भुक्तानी गर्न सक्नेछन्।
यस सहकार्यको औपचारिक घोषणा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा गरिएको थियो।
जहाँ नेपाल राष्ट्र बैंक, युनियनपे इन्टरनेसनल, नेपाल पर्यटन बोर्ड, बैंक तथा वित्तीय संस्थाहरू, व्यवसायिक समुदाय तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने,
'फोनपे नेटवर्कमा युनियनपे इन्टरनेसनलको एकीकरण हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो। युनियनपे विश्वकै सबैभन्दा ठूलो कार्ड तथा पेमेन्ट नेटवर्कमध्ये एक हो, र यसको प्रयोगकर्ताहरूले अब सिधै हाम्रो क्युआर पूर्वाधारमार्फत कारोबार गर्न सक्नु नेपाललाई विश्वस्तरीय डिजिटल भुक्तानी गन्तव्यको रूपमा स्थापित गर्ने कदम हो।'
'यो केवल दुई संस्थाबीचको सहकार्य मात्र नभई नेपालको डिजिटल कनेक्टिभिटी विश्वस्तरमा विस्तार भइरहेको सन्देश पनि हो, उनले थपे।
युनियनपे इन्टरनेसनलका उपाध्यक्ष ज्वाङ वेईले भने, 'युनियनपे इन्टरनेसनल विश्वभरका आफ्ना कार्डधारक तथा एप प्रयोगकर्ताहरूका लागि यात्रा र व्यापारलाई सहज बनाउने प्रतिबद्धतामा केन्द्रित छ। सशक्त पर्यटन अर्थतन्त्र र दक्षिण एसियाकै विकसित क्युआर मर्चेन्ट नेटवर्कमध्ये एक भएको नेपाल हाम्रो इकोसिस्टमका लागि उत्कृष्ट अवसर हो।'
'फोनपेसँगको सहकार्यमार्फत युनियनपे प्रयोगकर्ताहरूले अब नेपालभर रहेका २० लाखभन्दा बढी मर्चेन्ट टचपोइन्टहरूमा आफ्नै देशजस्तै सहज डिजिटल भुक्तानी अनुभव गर्न सक्नेछन्, उनले भने, 'नेपालको डिजिटल पेमेन्ट विकास यात्राको हिस्सा बन्न पाउँदा हामी गौरवान्वित छौं।'