अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासको गति सुस्त बनाउनुपर्ने बहसलाई झटो हल्ला (होक्स) भन्दै त्यसको विरोध गरेका छन्।
सार्वजनिक कार्यक्रममा बोल्दै गरेका एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङसँग सोमबार फोनमै कुराकानी गर्दै ट्रम्पले एआई विकास रोक्ने वा सुस्त बनाउने प्रयास राजनीतिक स्वार्थबाट प्रेरित हुन सक्ने बताए।
उनले यस्तो प्रयासले चीनलाई समेत फाइदा पुग्न सक्ने दाबी गरे भनेर ब्लुमबर्गले लेखेको छ।
लस एन्जलसमा आयोजित ‘अल-इन समिट’मा प्यानल छलफल चलिरहेका बेला हुआङलाई ट्रम्पको फोन आएको थियो। हुआङले कार्यक्रमकै मञ्चबाट ट्रम्पसँग कुराकानी गरेका थिए।
ट्रम्पले एआई विकासको गति रोक्न खोज्नेहरूबारे भने, 'यसले एआई विकास हुन नचाहने धेरै मानिसलाई फाइदा पुर्याइरहेको छ। ती राजनीतिक मानिस पनि हुन सक्छन्, चीन पनि हुन सक्छ।'
हुआङले ट्रम्पको भनाइमा सहमति जनाउँदै ट्रम्पले यस विषयको जटिलता बुझेको बताए।
एआईका सम्भावित जोखिमबारे पछिल्ला दिनमा अमेरिकी प्रविधि उद्योगभित्रै तीव्र बहस भइरहेका बेला ट्रम्प र हुआङको यस्तो धारणा आएको हो।
हालै एन्थ्रोपिकका अनुसन्धानकर्ता ज्याकोब कोक्सनले राजीनामा दिँदै एन्थ्रोपिक र ओपनएआईले मानव जीवनलाई जोखिममा पार्ने गरी एआई विकासमा अघि बढिरहेको आरोप लगाएका थिए। त्यसपछि एआई विकासको गति नियन्त्रण गर्नुपर्ने आवाज थप बलियो भएको छ।
एन्थ्रोपिकका सिइओ डारियो अमोडेईले शनिबार करिब तीन हजार ८ सय शब्दको निबन्ध प्रकाशित गर्दै एआई विकासको गति केही सुस्त बनाउनु पर्ने प्रस्ताव गरेका थिए। ओपनएआईका सिइओ साम अल्टम्यान र स्पेस एक्सका सिइओ इलन मस्कले पनि उक्त प्रस्तावको समर्थन गरेका थिए।
तर हुआङले एआई सुरक्षाको बहसलाई तीव्र नवप्रवर्तन र सुरक्षाबीच एउटा मात्र विकल्प रोज्नुपर्ने अवस्थाका रूपमा प्रस्तुत गर्नु गलत भएको बताए।
यद्यपि उनले एआईको जोखिमबारे आवाज उठाउँदै राजीनामा दिएका कोक्सनको प्रशंसा गरे। हुआङले उनलाई आफ्ना चिन्ता सार्वजनिक रूपमा व्यक्त गर्न साहस देखाएको भन्दै संस्थाभित्रका गलत अभ्यास वा जोखिमबारे आवाज उठाउने व्यक्ति (ह्विसलब्लोअर) को कुरा गम्भीरतापूर्वक सुन्नुपर्ने बताए।
एआई खर्च सुस्त हुने चिन्ताले घट्यो प्रविधि कम्पनीको सेयरको भाउ
एआईमा हुने लगानीको गति सुस्त हुन सक्ने चिन्ताले सोमबार अमेरिकी प्रविधि कम्पनीका सेयरमा गिरावट आएको थियो।
विश्वकै सबभन्दा मूल्यवान कम्पनीमध्ये एक एनभिडियाको सेयर मूल्य ३.४ प्रतिशतले घट्यो।
एआईका लागि आवश्यक चिप निर्माण गर्ने एनभिडिया पछिल्ला वर्षमा एआई पूर्वाधार निर्माणमा भएको ठूलो लगानीको सबभन्दा ठूलो लाभग्राही मध्ये एक हो।
एआई मोडल सञ्चालन गर्न आवश्यक शक्तिशाली चिपको माग तीव्र रूपमा बढेपछि एनभिडियाको कारोबार र बजार मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
ट्रम्पको जोड–डेटा सेन्टर निर्माण तीव्र पार्नुपर्छ
ट्रम्पले भने अमेरिकाले एआई पूर्वाधार निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन्।
उनले नयाँ डेटा सेन्टर निर्माणका लागि अनुमति दिन अस्वीकार गर्ने अमेरिकी राज्यहरूको आलोचना गरे। डेटा सेन्टरले रोजगारी र लगानी बढाउनुका साथै राज्यहरूलाई धनी बनाउने उनको दाबी थियो।
ट्रम्पले एआई पूर्वाधारलाई आगामी दशकहरूको सबैभन्दा महत्वपूर्ण आर्थिक स्रोतका रूपमा प्रस्तुत गर्दै भने, 'यो आगामी २०–२५ वर्षको तेल हो। यो इन्टरनेट भन्दा पनि ठूलो हो।'
एनभिडिया एआई विकासका लागि आवश्यक चिपको प्रमुख आपूर्तिकर्ता हो भने ट्रम्प अमेरिकाभित्र डेटा सेन्टर निर्माण विस्तारका बलिया समर्थकका रूपमा देखिएका छन्।
एआईको सुरक्षा, त्यसको विकासको गति र यसबाट उत्पन्न हुन सक्ने मानव जोखिमबारे प्रविधि कम्पनीहरू भित्रै मतभेद बढिरहेका बेला अमेरिकी सरकार भने एआई पूर्वाधारमा तीव्र लगानी र विकासलाई प्राथमिकता दिइरहेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)