दायाँबायाँ उब्जाउयोग्य फाँट। बस्तीलाई छोएर गएको कच्ची बाटो। त्यही कच्ची बाटोलाई बाँच्ने आधार ठान्दै खुल्न थालेका उद्यम, पसल व्यवसायले चार वर्षअघि सिन्धुपाल्चोकको चनौटे, गणेशे बगरलगायत क्षेत्र गुलजार हुँदै थियो।
बस्तीको पुछारतिरबाट बग्ने मेलम्ची अर्को जीवनदायिनी थियो। त्यही खोलाले सिञ्चित फाँट आयस्ताका लागि प्रख्यात थियो। मेलम्चीकै नदी किनारमा अर्को व्यवसाय पनि फस्टाउँदै थियो- माछापालन।
ट्राउट प्रजातिका माछा पालनले हेलम्बु, चनौटे क्षेत्रको मात्र नभई ग्याल्थुमसम्मको परिचय फेरिँदै थियो। मानिसहरूको आम्दानी बदलिँदै थियो। आम्दानी बदलिएपछि स्वाभाविकरूपमा त्यस भेगको अवस्थामा सुधार आउने नै भयो।
२०७८ असार १ गते आएको विनाशकारी बाढीले हेलम्बु क्षेत्र खण्डहर बन्यो। बस्तीको पुछारको खोलो आँगनमा आइपुग्ला भनेर चनौटेवासीले कहिल्यै चिताएका थिएनन्।
भ्रेमाथाङ फुटेर आएको बाढीले मेलम्चीको तटीय क्षेत्र बगर बन्यो। ठूलो क्षति चनौटे बजारले व्यहोर्यो। अहिले बस्तीको बीचका खोलो हिँडिरहेको छ। बस्ती पुछारका खेतीयोग्य जमिनको नामोनिशान छैन। व्यावसायिक आकार लिन नपाउँदै भेलले छोपेको ट्राउट व्यवसाय छिट्टै फर्कने छाँट छैन।
२०७८ असारको बाढीअघि र पछिको सिन्धुपाल्चोकको चनौटे क्षेत्रहेलम्बु र मेलम्ची तटीय क्षेत्रको दुर्दान्तको पछाडि गेग्रान बहाव नै मुख्य कारण भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख अनिल पोखरेल बताउँछन्।
‘मेलम्चीको शिर क्षेत्र फुटेर बाढीले ठूलो परिमाणमा ढुंगा र रूखपातसमेत ल्यायो। त्यसैले बस्ती खण्डहर बनाएको हो। पानीले मात्रै चनौटेको रातो पुल बगाउन सक्दैन। यस्ता संरचना गेग्रान बहावले मात्रै बगाउनसक्छ,’ उनले भने।
२०७८ साउन १६ गतेपछिको बाढीले रातो पुल बगाएको थियो।
त्यसअघिसम्म बाढीले चनौटे बजार छोएको मात्रै थियो। साउन १६ र १७ को बाढीपछि खोला बस्तीको बीचबाटै बग्न थाल्यो। खोलामा १५ मिटरसम्म गेग्रान थुप्रिएका कारण मेलम्ची नदीले अझै लय समात्न सकेको छैन। बस्तीकै छेउमा खोलो आइपुगेकाले बर्खाभरि त्रासमा बिताउनुपर्छ। पोहोर र परारको वर्ष ग्याल्थुममा रहेको सरस्वती माध्यामिक विद्यालय र सामुदायिक क्याम्पसमासमेत मेलम्चीले कुदृष्टि लगायो।
त्यतिबेलै मेलम्ची बाढीले गेग्रान बहावको ठूलो अनिष्टको संकेत गरेको पोखरेल बताउँछन्।
मेलम्चीसँगै मनाङमा पनि भेलबाढी आएको थियो। ताल गाउँमा डुबान र कटानको परिघटना निम्त्याएको थियो। त्यसअघि २०६९ वैशाख वैशाख २३ गते शनिबार कास्कीको सेतीनदीमा त्यस्तै प्रकृतिको गेग्रान बहाव देखिएको थियो। त्यस समयमा आएको बेमौसमी बाढीले २८ जनाको मृत्यु र ३० जना बेपत्ता भएको तथ्यांक छ।
सेती घटनाले नै नेपालमा गेग्रान बहावको अनिष्टको संकेत गरेको थियो।
अहिले सडक–पूर्वाधारलगायत संरचना बनाउने जुन तौरतरिका हामीले अवलम्बन गरिरहेका छौं, त्यसले गेग्रान बहावलाई निम्तो दिइरहेको पोखरेलले बताए।
गत वर्ष पनि भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलतालमा गेग्रान बहावका कारण दुईवटा यात्रुवाहक बस बगाएका थिए। गत असोजको १० देखि १३ गतेसम्म परेको अविरल वर्षातपछि काठमाडौंको नागढुंगानजिकैको झ्याप्ले खोलामा त्यस्तै प्रकृतिको पहिरो गयो।
जथाभावी बाटो खन्ने, बाटो खनेको माटो खोलाखोल्सीमा फाल्दा गेग्रान बहावको घटना निम्तिइरहेको पोखरेलले बताए। कर्णाली, कोशीलगायत ठूला नदी करिडोरमा सडक निर्माण धमाधम भइरहेका छन्।
पुष्पलाल मध्यपहाडी राजमार्ग निर्माणको उपक्रममा रहेकाले मध्यपहाडी क्षेत्रमा धमाधम डाँडा भत्काइँदैछ।
मध्यहाडीलगायत नदी करिडोर क्षेत्रमा बाटो खन्दा निस्किएको माटो सही ढंगले व्यवस्थापन हुन सकेको छैन। अझ डरलाग्दो त स्थानीय तहले खनिरहेको बाटोघाटो नै भएको पोखरेलले बताए।
‘पालिकाहरूले कुन रूपमा सडक खनिरहेका छन्, अनुगमन भएको छ कि छैन भनेर त सिमलतालले पनि देखायो। त्यहाँ ६२ जना मानिस अझै बेपत्ता छन्। यसको मुख्य कारण नै गेग्रान बहाव हो। बिनाइन्जिनियरिङ, बिनाअध्ययन खनिएको बाटो र त्यहाँबाट निस्किएको माटोलाई ख्यालख्याल सोच्दा नसोचेको परिणाम निस्कियो।
नदी करिडोरमा बाटो बनाएका छौं। त्यही नदीमा गेग्रान बहाव बढ्न थालेको छ। हाम्रो पहाडको बनोटको, अवस्थितिको हेक्का राखेका छैनौं। बर्सेनि गइरहने पहिरोबारे सोचेका छैनौं। तर बाटो खनिरहेका छौं। जसका कारण किलोमिटरका किलोमिटर बाटो नदीले काटेको छ। पुल, कल्भर्ट बगाएको छ। अब त खोला सिधै बस्ती, बजारतिर सोझिएको छ,’ उनले भने।
अहिले स्थानीय तहबीच सडक पूर्वाधार बनाउने होडबाजी छ।
२०८० फागुनसम्म देशभर १ लाख १ हजार ५३१ किलोमिटर सडक विस्तार भएको छ।
जसमध्ये २३ हजार ०५० किलोमिटर मात्रै कालोपत्रे गरिएको छ। बाँकी सडक माटे र ग्राबेल गरिएका छन्।
माटे र ग्राबेल गरिएका अधिकांश सडकमा नाला निकासको उचित प्रबन्ध छैन। नाला काटिए पनि निकास जथाभावी छाडिँदा त्यसले भेलबाढीको जोखिम निम्त्याइरहेको पोखरेलले बताए।
‘गएको ३० वर्षयता हामीले अन्धाधुन्ध जसरी सडक खन्ने काम गरिरहेका छौं। पहाड र आफू बसेको ठाउँको भूबनोट ख्याल नगरी, जोखिमको अनुमान, आकलनसमेत नगरी, पानीको निकास (नाला) समेत नराखी खनेको सडक–पूर्वाधारले नदीमा पल्स लोडको मात्रा ह्वात्तै बढेको छ।
अब हामीले पानीको व्यवस्थापन सही, उचित ढंगले गर्नुपर्छ भन्ने कुरा झ्याप्ले खोला (नागढुंगानजिकै गत असोजमा गएको पहिरो, जहाँ ३५ जनाको मृत्यु भएको थियो) कै विपत्तिले सिकाइसकेको छ। सिमलतालको कुरा पनि त्यही हो,’ उनले भने।
विपदविद् धर्मराज उप्रेतीले पनि दुई दिनअघि रोशीमा गएको बाढीले डरलाग्दो संकेत गरेको बताए।
‘त्यहाँ २४ घन्टाको अवधिमा जम्मा ४४ मिलिमिटर मात्रै पानी परेको देखिएको छ। मध्यम प्रकृतिको वर्षा हुँदैमा भेलबाढी आउने परिस्थिति कसरी आयो? यो डरलाग्दो संकेत हो कि होइन?,’ उनी प्रश्न गर्छन्।
काभ्रेको पनौती नगरपालिकाको रोशी–कोलाँती क्षेत्रको भेलबाढीमा वर्षात् मात्रै जिम्मेवार छैन। मानवीय क्रियाकलाप पनि उत्तिकै जिम्मेवार छन्। त्यहाँ ३० वर्षयता अत्यधिक रूपमा खानी तथा क्रसर उद्योग खुलेका छन्। डाँडा भत्काउने उपक्रम चलेको थियो। महाभारत पर्वतमालाबाट बगेर आउने नदी, जुन पनौती, बनेपा र धुलिखेलसम्मको खानेपानीको स्रोत हो। त्यहाँका साना, ठूला खोला–खोल्सीमा समेत एक दर्जनभन्दा बढी क्रसर थिए।
ती क्रसर उद्योगले जथाभावी निर्माण सामग्री, डस्टलगायत थुपार्ने गरेका थिए। वर्षातको पानीले त्यही बगाउँदा भेलबाढीको रूप लिएको थियो।
‘यस्ता मानवीय क्रियाकलापले नदी क्षेत्रमा क्यासकेडिङ र कम्पाउन्डिङ इम्प्याक्ट देखिन्छ। रोशी खोला किनारको क्षेत्रमा भएको त्यही हो,’ उनले भने, ‘जहाँजहाँ यस्ता गतिविधि भएका छन्, त्यहाँ पनि भेलबाढीको जोखिम रहन्छ।’
गत असोजको भेलबाढीको अवशेष नदी–किनारकै क्षेत्रमा थिए। अहिले छोटो समयमै धेरै पानी पर्दा त्यही बगाएकाले भेलबाढीको रूप लिएको स्थानीय बताउँछन्। त्यसका अलावा त्यहाँ जग्गा खण्डीकरण पनि चलिरहेको छ। जग्गा प्लटिङको पुरूवा माटो वर्षातको पानीले बगाउँदा भेलबाढीको रूप लिएको हो।
विपदविद् उप्रेतीले वर्षातको चरित्र बदलिएको तर हाम्रो विकासको तौरतरिका, मानवीय चरित्र भने नबदलिएको अर्थमा पनि यसलाई बुझ्नुपर्ने बताए।
उनले अझ अर्को कुराको पनि संकेत गरे।
जल तथा मौसम विज्ञान विभागले २००८ देखि नै वर्षा र त्यसपछि आउने बाढी–पहिरोको थ्रेस होल्ड परिवर्तन गरेको छैन।
सन् २००८ मा जल तथा मौसम विज्ञान विभागले २४ घन्टामा १४० मिलिमिटर पानी परे बाढी पहिरो जाने भनेर थ्रेस होल्ड तय गरेको थियो। २४ घन्टामा १४० मिलिमिटर भन्दा बढी पानी परे विभागले सतर्क रहन भन्छ। चेतावनीयुक्त सन्देश प्रवाह गर्छ।
अहिलेको वर्षाको चरित्र र खोलानालाको स्वभावले यो थ्रेस होल्ड भत्काइसकेको उनले बताए।
उनी प्राक्टिकल एक्सन नेपालसँग पनि सम्बन्धित छन्। प्राक्टिकल एक्सनले सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरी गाउँपालिकामा वर्षातको थ्रेस होल्ड परिवर्तन गरेको छ। जसलाई जल तथा मौसम विभागले पनि मान्यता दिइसकेको छ।
उक्त संस्थाका अनुसार पाँचपोखरी गाउँपालिकामा २४ घन्टामा १२४ मिलिमिटर पानी परे बाढी–पहिरो जाने जोखिम हुन्छ। त्यसअनुसार यस संस्थाले बाढी–पहिरोको पूर्वसूचना प्रणाली विकास गरेको छ। २४ घन्टामा १२४ मिलिमिटर वर्षात भएमा पालिकाभर सन्देश प्रवाह गर्छ।
हेलम्बुमा भने २४ घन्टामा ११८ मिलिमिटर पानी परेमा बाढी–पहिरोको जोखिम हुन्छ। त्यहाँ पनि संस्थाले पूर्वसूचना प्रणाली स्थापना गरेको छ।
‘हामीले कास्कीमा सबैभन्दा बढी पानी पर्छ भन्ने सुनेका थियौं। तर हाम्रो अध्ययनले कास्की र सिन्धुपाल्चोकमा बराबर नै पानी पर्ने देखिएको छ। त्यसकारण ठाउँठाउँमा वर्षा मापन केन्द्र स्थापना गर्ने, पूर्वसूचना प्रणाली विकास गरेर जोखिम घटाउन विलम्ब भइसकेको छ,’ विपद्विद उप्रेतीले भने।
उनले कतिपय ठाउँमा जल तथा वर्षा मापन केन्द्र नभएकाले वास्तविक अवस्था थाहा पाउन नसकिएको बताए।
दार्चुला जिल्लामा वर्षा मापन केन्द्र बिग्रिएको धेरै भइसक्यो। विभागले बनाउने तदारूकता देखाएको छैन। भारी वर्षा भएको बेलामा पनि त्यहाँको वर्षा मापन केन्द्रले ‘शून्य अंक’ देखाउँछ।
‘यसले दार्चुलामा बढी पाने परेको अवस्थामा के गर्ने भन्ने अन्यौल छ। विभागले त्यहाँको वर्षा मापन केन्द्र बनाउने हो भने त्यहाँ बस्ने मानिसले रियल टाइममा डाटा अद्यावधिक गर्न सक्थे। यो त उदाहरण मात्रै हो। गर्नुपर्ने काम धेरै छन्,’ उनले भने।
विपद्विद् उप्रेतीले ठूला नदीमा मात्र नभई जोखिमयुक्त खोला–खहरेमा पनि बाढी पूर्वसूचना विकास गर्नुपर्ने बताए। रोशी लगायत महाभारत पर्वतमालाका र चुरे क्षेत्रबाट बहने नदीमा यस्तो पूर्वानुमान प्रणाली भए त्यहाँबाट उत्पन्न हुने बाढीले पुर्याउने जनधनको क्षति न्यूनीकरण गर्न सकिने उनले बताए।
भूगर्भविद्का अनुसार नेपालका केही ठाउँका बस्ती पुरानो पहिरोमाथिका हुन्। पहिरो थामिएका ती बस्तीमा पुनः भूक्षयको जोखिम हुन्छ।
मेलम्ची, रोशी नदीमा यसअघि पनि पटकपटक बाढी गएको स्थानीयहरू नै बताउँछन्।
मेलम्ची नदीमा करिब सय वर्षअघि २०७८ असार १ कै प्रकृतिको बाढी गएको त्यहाँका स्थानीयहरूको भनाइ छ। तटीय क्षेत्रका अहिलेका कतिपय बस्ती त्यो बाढीपछि बसेका हुन्।
रोशी खोलामा पनि २०२८, २०३८ सालमा ठूला बाढी गएको इतिहास छ। कोशी, गण्डकी जलाधार क्षेत्रका अन्य नदीमा पनि साना–ठूला बाढी गइ नै रहेका छन्। पहिल्यै, बाढी–पहिरो गइसकेको ठाउँमा अहिले बस्ती विकास गर्न दिने कि नदिने? यो पनि सोचनीय विषय भएको विपदविद्को भनाइ छ।
२०७२ वैशाख १२ र २९ को भूकम्पपछि पहिरो र त्यसबाट उत्पन्न हुने भेलबाढीको जोखिम अत्यधिक बढेको भूगर्भविदले बताएका छन्।
२०७२ वैशाख १२ र २९ गते यता नेपालमा ५५ हजार साना–ठूला (२.२ म्याग्निच्युडभन्दा माथिको) कम्पन गएका छन्। २०७२ को भूकम्पछि मात्रै २५ हजार नयाँ पहिरो पहिचान भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीले जानकारी दिए।
त्यसो त भूगर्भविदले नेपालका पहाडहरूलाई विश्वकै 'कान्छो पहाड'को दर्जा दिन्छन्। यहाँ भौगर्भिक विचलनहरू देखापरिरहन्छन्। यस्तो पहाडमा हेभी उपकरणद्वारा सडक बनाउनु पहिरोको जोखिम निम्त्याउनु सरह भएको उनीहरूको बुझाइ छ।
तर तीनै तहका सरकार रोकिएका छैनन्। हेभी उपकरणहरू डाँडाडाँडामा उकालेर बाटो बनाउने र माटो खोल्सामा हाल्ने क्रमले निरन्तरता पाइरहेकै छ।
‘जुन आउने बर्खाका लागि विध्वंशको निम्तो हो,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख पोखरेलले भने।
बाढी र भूक्षय प्राकृतिक कारण त हुँदै हो, त्योभन्दा बढी मानवीय हुन्। सेती, मेलम्ची र रोशीले नै दिइसकेका छन् भयावह सन्देश तर हाम्रो कानमा बतास लागे पो!
यो पनि:
बेहिसाब खनिएका सडकबाट बगेको लेदोले देशैभरि ल्याएको विपत्ति
पहिले फाट्टफुट्ट आउने भेलबाढी अहिले किन बन्दैछन् यति व्यापक?
रोशीको गेग्रान बहावले बर्खालाई देखाएको अनिष्ट
मौसमविदलाई प्रश्न– पनौतीमा एक्कासि कसरी आयो बाढी?
कृष्णभिरको पहिरो फेरि बल्झने जोखिम
राजनीति र प्रशासनको आडमा चलाएको अवैध क्रसर-ढुंगा खानीले निम्त्यायो रोशीमा विध्वंश