नेपालले अब बंगलादेशमा ६० मेगावाट बिजुली निर्यात गर्ने भएको छ। नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशन समितिको बैठकमा अब नेपालबाट थप २० मेगावाट बिजुली दिने सहमति भएको हो।
हाल बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गरिँदै आएको छ। यसका अतिरिक्त २० मेगावाट थप बिजुली आवश्यक प्रक्रिया पूरा गरी निर्यात गर्ने सहमति भएको हो।
योसँगै अब नेपालले बंगलादेशमा ६० मेगावाट बिजुली निर्यात गर्ने भएको हो।
नेपालले हाल भारतीय प्रसारण लाइन प्रयोग गरेर बंगलादेशमा बिजुली निर्यात गर्दै आएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जिवी चटौत तथा बंगलादेशका ऊर्जा तथा खनिज मन्त्रालयका सचिव फर्जाना ममताजको सहअध्यक्षतामा बंगलादेशको ढाकामा भएको उक्त बैठकले नेपाल–बंगलादेशबीच विद्युत व्यापार, जलविद्युत आयोजनाको निर्माण र विकास गर्ने, अन्तरदेशीय प्रसारण लाइनको निर्माण तथा व्यवस्थापन लगायत विषयमा समेत सहमति गरेको छ।
बंगलादेश बिजुली निर्यात गर्दा भारतको ग्रिड हुँदै बंगलादेशको बरापुकारया, पंचगढरठाकुरगाउँ, भेरामारा र कोमिल्ला सम्मका प्रसारण लाइनहरूमार्फत विद्युत निर्यात गर्ने लगायत ६ बुँदे सहमति भएको छ।