रूपन्देहीको सालझण्डीदेखि बागलुङको ढोरपाटनसम्म जोड्ने गरी निर्माण सुरू गरिएको सडक १८ वर्ष बित्दा पनि पूरा हुन सकेको छैन।
लुम्बिनी र गण्डकी प्रदेशका ५ वटा जिल्ला जोड्ने १९७ किलोमिटर यो सडक विस्तारको काम आर्थिक वर्ष २०६६/६७ सालदेखि सुरू गरिएको थियो।
सालझण्डी–पाल्पाको खुर्साने–अर्घाखाँचीको सन्धिखर्क–गुल्मीको पुर्कोट दह–अर्खाबाङ–बागलुङको ढोरपाटन जोड्ने गरी २०६५ सालबाट सडकको ट्र्याक खोलिएको थियो। आयोजना अन्तर्गत रूपन्देहीमा ५ किलोमिटर, पाल्पामा २०, अर्घाखाँचीमा ७०, गुल्मीमा ४० र बागलुङमा ५० किलोमिटर सडक पर्छ।
अहिले विभिन्न खण्डमा अलग अलग ठेक्का लगाएर सडक विस्तार, स्तरोन्नति र कालोपत्रेको काम भइरहेको छ। तर निर्माण अत्यन्त सुस्त गतिमा छ।
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक परियोजना कार्यालयका अनुसार हालसम्म सडक निर्माण ४४ प्रतिशत मात्रै पूरा भएको छ। कालोपत्रेको काम ३६ किलोमिटर मात्र गरिएको छ।
सबभन्दा धेरै अर्घाखाँचीमा साढे २६ किलोमिटर तथा रूपन्देहीमा साढे ४ किलोमिटर र पाल्पामा ४ किलोमिटर सडक कालोपत्रे गरिएको छ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर परीक्षा पौडेलले चालु आर्थिक वर्षमा खुर्साने पटौटी, माटे–भँडार र पुर्कोट–अर्खाबाङसम्म थप २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य सहित काम भइरहेको जानकारी दिइन्।
'कतिपय क्षेत्रमा ६० प्रतिशत माथि काम सम्पन्न भएको छ। केही क्षेत्रमा १ प्रतिशत मात्र काम भएको छ। अहिले सानो, ठूलो गरेर विभिन्न आठ वटा ठेक्का मार्फत सडक निर्माण भइरहेको छ,' उनले भनिन्।
खुर्सानेदेखि पटौटीसम्म २२ किलोमिटर सडकको ८४ प्रतिशत काम सम्पन्न भएको छ। २०७९ पुस १७ गते एक अर्ब ३४ करोड ९८ लाख ५५ हजार ७०५ रूपैयाँ लागतमा उक्त खण्डको ठेक्का सम्झौता गरिएको थियो।
तीन वर्षमा सक्ने सम्झौता भए पनि काम पूरा नभएपछि ठेक्का अवधि एक वर्ष थपिएको थियो। थप म्याद आगामी पुस मसान्तसम्म छ।
अहिले कालोपत्रेका लागि तयार गरिरहेको निर्माण कम्पनी थोडुङ पिके अर्घाखाँची जेभीले हालसम्म १ अर्ब ८ करोड ८४ लाख ५५ हजार रूपैयाँ भुक्तानी लगिसकेको छ।
त्यस्तै पटौटीदेखि बलेबाङको ४ किलोमिटर ४०० मिटर सडकको १३ प्रतिशत काम भएको छ। अमर निर्माण सेवा सन्धिखर्कले दुई वर्षमा काम सक्ने गरी गत असार २६ गते १६ करोड ३ लाख ९३ हजार ७४३ रूपैयाँमा सम्झौता गरेको थियो।
अर्घाखाँचीको सन्धिखर्क माटेदेखि भँडारसम्मको ७ किलोमिटर र गुल्मीको पुर्कोट दहदेखि अर्खाबाङसम्मको १९ किलोमिटर सडकको काम ६० प्रतिशत पूरा भएको छ। यी दुई खण्ड बनाउन बिरूवा पुष्प जेभी सन्धिखर्क अर्घाखाँचीले २०८० असार ८ गते सम्झौता गरेको थियो।
तीन वर्षमा सक्ने भनिएकोमा म्याद अब दुई महिना मात्र बाँकी छ। काम ४० प्रतिशत बाँकी छ।
दुई खण्डमा गरी २६ किलोमिटर सडक बनाउन एक अर्ब १३ करोड ४० लाख १४ हजार ८०९ रूपैयाँमा सम्झौता गरेको थियो। निर्माण कम्पनीले हालसम्म ६२ करोड ४६ लाख रूपैयाँभन्दा बढी भुक्तानी लगिसकेको छ।

गुल्मीकै सिर्सेनीदेखि गंगरेसम्मको ७ किलोमिटरमा सडक निर्माणसँगै सुरक्षाको काम भइरहेको छ। यो खण्ड बनाउन ब्राइट हिमाल एम एम जेभी काठमाडौंले कुल ३८ करोड ४१ लाख ७७ हजार ३९९ रूपैयाँमा २०८१ कात्तिक ६ गते ठेक्का लिएको थियो।
यसमा हाल ३५ प्रतिशत काम भएको छ। निर्माण कम्पनीले हालसम्म १३ करोड २३ लाख ५७ हजार रूपैयाँ भुक्तानी लगिसकेको छ। यो खण्ड निर्माणको ठेक्काको म्याद २०८४ साल कात्तिक ६ गतेसम्म छ।
अर्खाबाङदेखि गंगरेसम्मको ३.७ किलोमिटर सडकको काम १० महिना पूरा हुँदा जम्मा ५ प्रतिशत मात्र पूरा भएको छ। दुई वर्षमा सक्ने उक्त खण्ड निर्माणका लागि तामाङ कन्स्ट्रक्सन प्रालिले २०८२ साल असार २६ गते ठेक्का लिएको थियो। यो खण्ड निर्माणको लागत १५ करोड ७१ लाख ६७ हजार २२३ रूपैयाँ छ।
तेस्रो पटक थपिएको अवधिमा पनि बुर्तिबाङ–फल्लेघर खण्डको २२ किलोमिटर सडकको काम ६६ प्रतिशत मात्र पूरा भएको छ।
२०७८ कात्तिक ५ गते स्वच्छन्द ओम बुद्ध जेभीले उक्त खण्डमा सडकको मर्मत सम्भार, ग्याबियन, कंक्रिट पर्खाल र नाली सहित सडकको ग्राभेलका लागि २५ करोड ६१ लाख ३१ हजार १६६ रूपैयाँमा ठेक्का लिएको थियो।
सो कम्पनीले सडकको ग्राभेलसम्मको काम ठेक्का लिएको ३० महिना अर्थात् २०८० वैशाखमा काम सक्नुपर्ने थियो। तर तेस्रो पटक थपिएको म्याद डेढ महिना बाँकी हुँदा पनि ३९ प्रतिशत काम गर्न बाँकी छ।
फल्लेघरदेखि देउरालीसम्मको तीन किलोमिटर सडकको निर्माण काम पनि ११ प्रतिशत मात्र पूरा भएको छ। यो खण्ड निर्माणका लागि पिटिआर अधिकारी कन्स्ट्रक्सन प्रालिले गत असार २७ गते १६ करोड ४८ लाख २६ हजार २२८ रूपैयाँमा सम्झौता गरेको थियो।
दुई वर्षमा निर्माण सक्ने सम्झौता भएकामा १० महिनामा ११ प्रतिशत मात्रै काम भएको हो। निर्माण कम्पनीले १० प्रतिशत अर्थात् १ करोड ६२ लाख ७० हजार ८८० रूपैयाँ भुक्तानी लगिसकेको छ।
छिटो सक्ने लक्ष्य सहित अलग अलग ठेक्का लगाइए पनि पर्याप्त बजेट विनियोजन नहुँदा र निर्माण कम्पनीको ढिलासुस्तीले काम सुस्त भएको सडक परियोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर पौडेलले बताइन्।
कतिपय क्षेत्रमा भने ट्र्याक खोल्ने र स्थानीयसँग विवाद भएपछि सुरूका वर्ष काम अगाडि बढ्न सकेको थिएन।
विवाद समाधान गरी ट्र्याक खुलेको वर्षौंसम्म पनि सडक स्तरोन्नति हुन नसक्दा ढोरपाटन जान चाहने पर्यटक र सडक आसपासका बासिन्दाले सास्ती खेप्नुपरेको छ। हिउँदमा धूलो र वर्षामा हिलोका कारण बस्न र हिँडडुलमा समस्या हुने स्थानीयको गुनासो छ।
यो सडक बनेपछि बुटवलबाट अर्घाखाँचीको सन्धिखर्क पुग्न २७ किलोमिटर कम पर्छ। अर्घाखाँचीबाट गुल्मीको यात्रा पनि छोटो हुनेछ।
ढोरपाटन शिकार आरक्ष क्षेत्र भएकाले पछिल्लो समय विदेशी पर्यटक समेत यहाँ पुग्ने क्रम बढेको छ। सडक बनेरपछि रूपन्देहीसहित पाल्पा, अर्घाखाँची, गुल्मी र बागलुङ एकआपसमा जोडिन्छन्। यी जिल्लाको पर्यटन र आर्थिक गतिविधि पनि बढ्ने अपेक्षा छ।

सालसँगै सडक निर्माणको लागत थपिँदै
१९७ किलोमिटर यो सडकको डिपिआर गर्दा ८ अर्ब रूपैयाँ लागत अनुमान थियो। सोही अनुसार ट्र्याक खोल्ने र ग्राभेल गर्ने काम थालिएको थियो। तर ढिलासुस्तीका कारण समय थपिँदै जाँदा लागत ११ अर्ब रूपैयाँ हाराहारी पुग्ने आयोजनाले जनाएको छ।
पछिल्ला ६ वटा आर्थिक वर्षमा मात्र यो आयोजनाका लागि २ अर्ब ५४ करोड ८४ लाख रूपैयाँ खर्च भएको छ। आर्थिक वर्ष २०७७/७८ मा २३ करोड बजेट विनियोजन गरिएको थियो। २०७८/७९ मा ४३ करोड थियो।
त्यस्तै २०७९/८० मा ५३ करोड १७ लाख, २०८०/८१ मा ५० करोड ८७ लाख र २०८१/८२ मा ४५ करोड ७९ लाख बजेट विनियोजन भएको थियो।
चालु आर्थिक वर्ष २०८२/८३ मा ३९ करोड १ लाख बजेट विनियोजन भएकामा यो बजेट माघमै सकिएको छ।
आयोजनाका सूचना अधिकारी पौडेलका अनुसार चालु आर्थिक वर्षमा ६५ करोड थप रकम माग गरिए पनि अर्थ मन्त्रालयले स्रोत चापको कारण बजेट दिएको छैन। त्यसैले निर्माण कम्पनीहरूले उधारोमै काम गरिरहेका छन्।
तेस्रो पटक म्याद थप्दा पनि काम पूरा नभएपछि तोडियो ठेक्का
सालझण्डी–ढोरपाटन सडक परियोजना अन्तर्गत करिब साढे १३ किलोमिटर सडकको ठेक्का तोडिएको छ। रूपन्देहीको सालझण्डीको कञ्चन खोलादेखि पाल्पाको खुर्सानेसम्मको १३.४४ किलोमिटर सडकको ठेक्का तोडिएको हो।
पाल्पा खण्डमा पर्ने उक्त सडक बनाउन रमण ओम सुगम जेभी ललितपुरले २०७७ पुस २७ गते सम्झौता गरेको थियो। २०८० जेठ २० गतेसम्म निर्माण सक्ने सम्झौता भए पनि त्यसयता तेस्रो पटक म्याद थप पनि काम पूरा भएन। त्यसैले परियोजनाले गत माघ २८ गते ठेक्का तोड्ने निर्णय गरेको थियो।
यो अवधिमा पहिलो पटक २०८० फागुन ३० गते, दोस्रो पटक २०८१ चैत ५ गते र तेस्रो पटक २०८३ जेठ २५ गतेसम्मको म्याद थपिएको थियो।
तैपनि ठेकेदार कम्पनीले काम अगाडि नबढाएपछि ठेक्का तोड्नुपरेको सूचना अधिकारी पौडेलले बताइन्। निर्माण कम्पनीले ४३ प्रतिशत मात्र काम गरेको थियो। सो ठेक्का २४ करोड ५४ लाख २५ हजार ७० रूपैयाँमा सम्झौता भएको थियो।