नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत कुरिनटारनजिकै घोप्टेभीरमा लगातार भइरहेको पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सडक बन्द गरेर मर्मतको काम गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक आवागमन बन्द गर्ने निर्णय भएको जनाएको छ।
घोप्टेभीरमा लगातार पहिरो खस्दा सवारी आवागमन प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएको घटनालाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
सडक बन्द रहने अवधिमा पहिरोको जोखिम रहेका ढुङ्गामाटो हटाउने काम गरिनेछ। सो समयमा उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
प्रशासनले यात्रु तथा सवारी चालकलाई निर्धारित समयलाई ध्यानमा राखेर यात्रा व्यवस्थापन गर्न आग्रह गरेको छ।
