स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम भ्लोनले 'इप्पान भिजन २०२९' सार्वजनिक गरेका छन्।
आगामी जेठ २९ गते हुने आठौं अधिवेशनलाई लक्षित गर्दै उनले आफ्नो टिम घोषणा गरेका हुन्।
घोषणापत्रमा सरकारले तय गरेको १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न निजी क्षेत्रको भूमिका निर्णायक हुने उल्लेख गरिएको छ।
पिपिए अवरोध, प्रसारण लाइन अभाव, नीतिगत अस्पष्टता, विद्युत व्यापार र वित्तीय समस्यालाई समाधान नगरी ऊर्जा क्षेत्रको विस्तार सम्भव नहुने निष्कर्ष घोषणापत्रमा राखिएको छ।
भ्लोनले हाल रोकिएको करिब १२ हजार मेगावाट आयोजनाको पिपिए खुलाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
स्टोरेज तथा पम्प स्टोरेज आयोजनाका लागि छुट्टै ट्यारिफ, 'टेक अर पे' प्रणाली र पिपिए दर पुनरावलोकनलाई प्राथमिकतामा राखिएको छ।
निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने तथा 'नेपालमा उत्पादन, दक्षिण एसियामा बिक्री' अवधारणालाई कार्यान्वयन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
घोषणापत्रमा विद्युत विधेयकलाई निजी क्षेत्रमैत्री बनाउने, वन तथा वातावरणीय प्रक्रिया सरल बनाउने र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने उल्लेख छ।
जलविद्युत आयोजनाको अनुमतिपत्र अवधि ३५ वर्षबाट ५० वर्ष पुर्याउने तथा आरसीओडी म्याद थप गर्न पहल गर्ने एजेन्डा पनि समेटिएको छ।
ऊर्जा क्षेत्रमा लगानी बढाउन ‘एनर्जी फन्ड’ स्थापना, सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा सुविधा र वैदेशिक लगानी भित्र्याउने योजना अघि सारिएको छ।
प्रसारण लाइन निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्दै सार्वजनिक–निजी साझेदारी मोडलमार्फत निर्माण अगाडि बढाउने प्रतिबद्धता पनि गरिएको छ।
भारतसँग भएको दीर्घकालीन विद्युत व्यापार सम्झौता कार्यान्वयन गर्दै १० हजार मेगावाट विद्युत निर्यात र बंगलादेशमा ५ हजार मेगावाट विद्युत बिक्रीका लागि पहल गर्ने योजना घोषणापत्रमा उल्लेख छ।
इप्पानलाई नीति अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने, 'इप्पान रिसर्च सेन्टर' स्थापना गर्ने र सातै प्रदेशमा संगठन विस्तार गर्ने योजना पनि सार्वजनिक गरिएको छ।
भ्लोनले निजी क्षेत्रको योगदानबाट नेपाल लोडसेडिङमुक्त बनेको र अहिले उत्पादनमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा बढी पुगेको बताएका छन्।
उनले ऊर्जा क्षेत्रमा समस्या मात्र उठाउने होइन, समाधान प्रस्तुत गर्ने नेतृत्व आवश्यक रहेको धारणा राखेका छन्।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार भ्लोन हाल विभिन्न जलविद्युत तथा सौर्य ऊर्जा आयोजनामा संलग्न छन्।
उनको टिममा उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, हिमप्रसाद पाठक, बिक्रम बिष्ट र सुसन कर्माचार्य छन्।
महासचिवमा टिएन आचार्य तथा उपमहासचिवमा कविता पोख्रेल उम्मेदवार छन्।
सचिवमा शंकर बश्याल, विजयमोहन भट्टराई, कुवेरमणि नेपाल, सुमन जोशी र अभिज्ञा मल्ल छन्।
कार्यसमिति सदस्यमा अनुप आचार्य, जगतबहादुर पोखरेल, कदम केसी, प्रतिमा ज्ञवाली, बर्णन लामिछाने र ईशा श्रेष्ठ उम्मेदवार रहेका छन्।