दाङको तुलसीपुर–घोराही चार लेन सडक विस्तारको काम पछिल्लो सात महिनामा अपेक्षाकृत रूपमा अघि बढेको छ।
गत मंसिर १ गतेदेखि भौतिक रूपमा सुरू गरिएको तुलसीपुर–घोराही सडक स्तरोन्नति आयोजनामा हालसम्म १६ प्रतिशत भौतिक तथा १० प्रतिशत वित्तीय प्रगति भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ।
सडक डिभिजन कार्यालय दाङका प्रमुख इञ्जिनियर दीपेन्द्रबहादुर विष्टका अनुसार पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीको मूल्यवृद्धि र अभावका बाबजुद निर्माण कम्पनीले काम निरन्तर अघि बढाइरहेको छ। वर्षायाममा समेत काम नरोक्ने गरी तयारी गरिएको उनले बताए।
उनका अनुसार पुरानो कालोपत्रे गरिएको क्षेत्रबाहेक सडकको दायाँबायाँ करिब १४ किलोमिटर क्षेत्रमा माटो पटानको काम सम्पन्न भएको छ।
घोराहीको रतनपुरदेखि तुलसीपुरको बेलझुण्डीसम्म ३७ वटा बक्स कल्भर्ट निर्माणाधीन छन्। तीमध्ये १४ वटा अन्तिम चरणमा पुगेका छन्। साथै तीन वटा स्ल्याब कल्भर्ट निर्माणको काम पनि जारी छ।
घोराहीको खैरा, सौडीकुला, नारायणपुर तथा तुलसीपुरको दुधरास क्षेत्रमा गरी करिब तीन किलोमिटर नाली निर्माण सम्पन्न भइसकेको छ। थप साढे दुई किलोमिटर नाली निर्माणका सामग्री तयारी अवस्थामा रहेको निर्माण पक्षले जनाएको छ।
सडक विस्तारका क्रममा घोराहीको गुर्जेखोलादेखि तुलसीपुरको बेलझुण्डीसम्मका विद्युत पोल स्थानान्तरणको काम सम्पन्न भएको छ भने घोराही बजार क्षेत्रदेखि गुर्जेखोलासम्म पोल सार्ने काम जारी छ। सडक क्षेत्रमा रहेका रूख व्यवस्थापनको काम पनि सम्पन्न भइसकेको छ।
हाल आयोजनामा चार वटा एक्स्काभेटर, एक ग्रेडर, दुई रोलर, तीन ब्याकहो लोडर, १६ ट्रिपर, दुई ट्रेलर, एक सानो क्रेन, पाँच ट्र्याक्टर, दुई पानी ट्यांकर, एक डोजर र एक ह्वील लोडरसहित करिब ४० वटा उपकरण प्रयोग भइरहेका छन्। निर्माण कम्पनीले मोबाइल क्रसर प्लान्ट, मोबाइल स्क्रिन प्लान्ट, मोबाइल स्यान्ड वासर, अस्फाल्ट प्लान्ट तथा कङ्क्रिट ब्याचिङ प्लान्ट स्थापना गरेर काम गरिरहेको छ।
तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवा चोकदेखि घोराही उपमहानगरपालिका–१५ स्थित डिके पेट्रोल पम्पसम्मको २१.५८ किलोमिटर सडक चार लेनमा विस्तार गर्न काठमाडौंस्थित दिवा–बन्दन भगवती जेभीले जिम्मा पाएको छ। २०८२ असार २४ गते २ अर्ब ५३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त आयोजनाको निर्माण कार्य २०८५ असार २४ गतेभित्र सम्पन्न गर्नुपर्नेछ।
यसअघि २०७५ सालमा भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले सडक विस्तारको जिम्मा पाएको थियो। तर पाँच वर्षसम्म पनि १० प्रतिशतभन्दा कम प्रगति भएपछि सरकारले २०८० जेठमा ठेक्का सम्झौता रद्द गरेको थियो। कम्पनीले काम आफै नगरी स्थानीय पेटी ठेकेदारमार्फत गराउन खोज्दा आयोजना अलपत्र परेको थियो। सडक भत्काएर छाडिएका कारण दुर्घटना बढेका थिए भने स्थानीयवासीले सास्ती खेप्नुपरेको थियो।
ठेक्का रद्द भएपछि सरकारले आफ्नै स्रोतबाट बहुवर्षीय योजनाअन्तर्गत झन्डै चार अर्ब रुपैयाँ बजेट सुनिश्चित गरी पुनः निर्माण प्रक्रिया अघि बढाएको हो। अहिले सोही बजेटअन्तर्गत सडक विस्तारको काम भइरहेको छ।
यद्यपि सडक विस्तारसँगै निर्माण भइरहेका चार वटा पुलको प्रगति भने सन्तोषजनक देखिएको छैन।
तुलसीपुर–७ स्थित कालोखोलामा ९० मिटर लामो पुल निर्माणका लागि २०७९ असार २९ गते शर्मा–सगुन जेभीसँग सम्झौता भएको थियो। १७ करोड ८२ लाख रुपैयाँ लागतको उक्त पुल २०८२ भदौमै सम्पन्न हुनुपर्ने भए पनि हालसम्म २० प्रतिशत मात्र भौतिक प्रगति भएको छ। निर्माण कम्पनीले एउटा फाउन्डेसन पूरा गरी अर्को संरचना निर्माण गरिरहेको छ।
त्यस्तै ग्वारखोलामा निर्माणाधीन २२० मिटर लामो समानान्तर पुलको भौतिक प्रगति २५ प्रतिशत मात्र पुगेको छ। २२ करोड ५ लाख रुपैयाँ लागतको उक्त पुलमा हालसम्म तीन वटा फाउन्डेसन र एउटा सबस्ट्रक्चर निर्माण सम्पन्न भएको छ।
हापुरखोलामा निर्माणाधीन १५० मिटर लामो चार लेन पुलको प्रगति केही राम्रो देखिए पनि लक्ष्यअनुसार हुन सकेको छैन। २७ करोड ८४ लाख रुपैयाँ लागतको पुलमा हालसम्म ४० प्रतिशत भौतिक र १० प्रतिशत वित्तीय प्रगति भएको छ।
घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोलाको पुल निर्माणमा पनि ढिलाइ भएको छ। २३ करोड २२ लाख रुपैयाँ लागतको उक्त पुलको हालसम्म ६५ प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको पुल सेक्टर कार्यालय बाँकेले जनाएको छ। निर्माण कम्पनीले हालसम्म १० करोड ९३ लाख रुपैयाँ भुक्तानी लिइसकेको छ भने पुनः म्याद थपका लागि प्रस्ताव पठाइएको छ।
सडक विस्तारको काम अपेक्षाकृत रूपमा अघि बढे पनि पुल निर्माणमा भएको ढिलाइले समग्र आयोजनाको गति प्रभावित हुने देखिएको छ। तथापि हालको कार्यगतिलाई कायम राख्न सके २०८५ असारभित्र आयोजना सम्पन्न हुने अपेक्षा गरिएको छ। आयोजना पूरा भए दाङका दुई प्रमुख सहरबीचको आवागमन सहज हुनुका साथै जिल्लाको आर्थिक तथा सहरी विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।