नेपालले ६० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने योजना अघि सारेको छ।
हाल ४० मेगावाट बिजुली निर्यात गर्दै आएकोमा अब २० मेगावाट थप गरी कुल ६० मेगावाट बिजुली निर्यात गर्ने भएको हो।
यसका लागि नेपाल र बंगलादेशका अधिकारीहरूबीच सहमति भइसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहप्रवक्ता शालीग्राम भण्डारीले जानकारी दिए।
'अहिले हामी वर्षातको ६ महिना अर्थात १५ जुनदेखि १५ नोभेम्बरसम्म नियमित ४० मेगावाट बिजुली पठाइरहेका छौं। यसमा २० मेगावाट थपेर ६० मेगावाट पठाउने विषयमा सहमति भइसकेको छ,' उनले सेतोपाटीसँग भने।
बिजुली निर्यातका लागि भारतको प्रसारण प्रणाली प्रयोग गर्नुपर्ने भएकाले भारतसँग छलफल गरेर अघि बढ्ने उनले बताए।
'हामी भारत र बंगलादेशसँग छलफल गर्छौं। भारतबाट सहमति हुने बित्तिकै ६० मेगावाट बिजुली निर्यात गर्छौं,' उनले भने।
हिउँदमा हामीलाई अपुग हुँदा बंगलादेशबाट २० मेगावाट आयात समेत गर्ने सहमति भएको उनको भनाइ छ।
नेपालले २०८१ कात्तिक ३० देखि बंगलादेशमा बिजुली निर्यात सुरू गरेको हो। भारतको प्रसारण लाइनमार्फत नेपालको बिजुली बंगलादेश गइरहेको छ।
२०८१ असोज १७ गते बंगलादेशमा ४० मेगावाट बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीच काठमाडौंमा त्रिपक्षीय सम्झौता भएको थियो।
सम्झौता अनुसार प्राधिकरणले वर्षायामको ६ महिना अर्थात् हरेक वर्षको १५ जुनदेखि १५ नोभेम्बरसम्म नियमित पाँच वर्ष ४० मेगावाट बिजुली बंगलादेशलाई निर्यात गर्नेछ।
प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत् निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरूबाट उत्पादित बिजुली निर्यात गरिरहेको छ।
हाल नेपालले ४० मेगावाट बिजुली बेचेर बंगलादेशबाट प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाइरहेको छ।
नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात भइरहेको बिजुलीको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउँछ।
बंगलादेश निर्यात भएको बिजुलीको मिटर मुजफ्फरपुरमा छ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्छ।
बिजुली मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत् बहरामपुर (भारत–भेरमारा–बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश पुगिरहेको छ।
मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएनले लिने ट्रेडिङ मार्जिन लगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्छ।
बंगलादेशमा बिजुली निर्यात सुरू भएसँगै वर्षा याममा खेर जाने बिजुली उचित मूल्यमा बिक्री गरिहरेको छ।
बर्खामा खेर जाने बिजुली निर्यात बढाउँदै लैजाने र सुख्खा याममा अभाव हुँदा आयात गर्ने योजना अनुसार अघि बढेको मन्त्रालयले जनाएको छ।
नेपालले बर्खामा भारतमा पनि बिजुली निर्यात गर्दै आएको छ। हिउँदमा भने भारतबाट समेत आयात गरिरहेको छ।