नेपालकै पहिलो आधुनिक सुरूङमार्ग 'नागढुंगा' यही साउन महिनादेखि सञ्चालन ल्याउने तयारी गरिएको छ।
आयोजना निर्देशक सौजन्य नेपालका अनुसार सुरूङमार्ग तयारी अवस्थामा छ, साउनदेखि सञ्चालन गर्न पूर्वतयारीका काम भइरहेका छन्।
'भौतिक पूर्वाधार निर्माणको काम सकिएको छ। सुरूङमार्ग सञ्चालनका लागि आपत्कालीन उद्धारका आवश्यक सामग्री तथा जनशक्ति व्यवस्थापन, सुरक्षा संयन्त्र, अग्नि नियन्त्रण लगायत प्रणाली व्यवस्थापनको काम भइरहेको छ,' निर्देशक नेपालले सेतोपाटीसँग भने।
सुरूङमार्गको पश्चिमतर्फ पहिरो जोखिम न्यूनीकरणका लागि केही काम बाँकी रहेको उनले बताए। तर त्यसले सञ्चालनमा अवरोध नहुने उनको भनाइ छ।
'साउनदेखि सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं। तर कुन मितिदेखि सञ्चालनमा ल्याउने भनेर तोकिएको छैन,' उनले भने।
आयोजनाको औपचारिक निर्माण २०७६ कात्तिक २८ देखि थालिएको हो। सडक विभाग र जापानी निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनबीच अप्रिल २०२३ (४२ महिना) भित्र आयोजना निर्माण सक्ने गरी सम्झौता भएको थियो।
कोभिड महामारीका कारण आयोजना निर्माणको काम पछाडि धकेलिएको भन्दै २५ अप्रिल २०२४ सम्म म्याद थपियो।
त्यो अवधिमा पनि नसकिएपछि फेरि म्याद थपिएको थियो।
अब भौतिक काम सकिएसँगै ठेक्काप्राप्त निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेसनले नेपाल सरकारलाई परियोजना हस्तान्तरण गर्ने छ।
सरकारलाई हस्तान्तरण भएपछि यो सुरूङमार्ग चिनियाँ संलग्न जोइन्टभेन्चर कम्पनी युक्सिन–एआरटीले सञ्चालन गर्नेछ।
सुरूङमार्गमा चल्ने सवारी साधनले सुरूङमार्ग उपभोगबापत दस्तुर तिर्नुपर्नेछ।
कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौं प्रवेश गर्दा ६५ रूपैयाँ र बाहिरिँदा ६० रूपैयाँ तोकिएको छ।
त्यस्तै मिनी बस, मिनी टिपर/ट्रकको प्रवेशका लागि ११५ रूपैयाँ, बाहिरिँदा ८० रूपैयाँ तथा बस, ट्रक (सिंगल रियर एक्सल) प्रति सवारीसाधन प्रवेश गर्दा २६० रूपैयाँ र बाहिरिँदा २०० रूपैयाँ शुल्क तोकिएको छ।
मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी उपकरणका हकमा प्रवेश गर्दा ६०० रूपैयाँ र बाहिरिँदा २५० रूपैयाँ तोकिएको छ।
यो सुरूङले काठमाडौंतर्फ बलम्बु र धादिङको सिस्नेखोलास्थित पृथ्वी राजमार्गलाई जोड्छ।
सिस्नेखोलादेखि काठमाडौं बलम्बुसम्म अहिले सडकको दुरी ८ किलोमिटर छ। सुरूङमार्ग बनेपछि सिस्नेखोला–बलम्बु दुरी ५ किलोमिटर हुन्छ। सिस्नेखोला–बलम्बु जोड्ने सुरूङ तयार गरेर २.८ किलोमिटर दुरी घटाउन लागिएको हो।
दुरीका हिसाबले सुरूङमार्ग र अहिलेकै सडकबीच त्यति धेरै फरक नदेखिए पनि सुरूङमार्गको प्रयोगबाट पेट्रोलियम पदार्थको खपत ठूलो परिमाणमा बचत हुने अपेक्षा छ।
सिस्नेखोलादेखि नागढुंगासम्म दिनहुँ सवारी साधन जाम हुने समस्या छ। सुरूङमार्ग सञ्चालनपछि यो समस्या हट्ने विश्वास गरिएको छ।
सुरूङमार्ग हुँदै काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुनेछ।
यो आयोजनामा एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुईवटटा सुरूङ छन्। रेस्क्यु सुरूङको लम्बाइ २,५५७ मिटर छ। मुख्य सुरूङको दुवैतर्फ सवारीसाधन हुन्छन्। दुर्घटना भइहाल्यो भने तुरून्तै उद्धार गरिन्छ।
उद्धार सुरूङ मुख्य सुरूङबाट ३० मिटर फरकमा छ। उद्धार सुरूङमा सवारी गुड्ने सडक साढे चार मिटर चौडा हुनेछ।
यो सुरूङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ। आकस्मिक अवस्थामा प्रयोग हुने यो सुरूङमा दमकल, एम्बुलेन्स जस्ता साधन गुड्न पाउँछन्।
मुख्य सुरूङ र रेस्क्यु सुरूङमा विभिन्न ७ ठाउँमा क्रस प्यासेज राखिएको छ। सुरूङभित्र दुर्घटना भएको अवस्थामा वा अन्य आपतकालीन अवस्थामा ती क्रस प्यासेजबाट एम्बुलेन्स तथा दमकलजस्ता साधन आवतजावत गर्न सक्छन्।
यो आयोजनाको कुल लगानी २२ अर्ब रूपैयाँभन्दा बढी पुग्ने भएको छ। यसअघि नै जाइकाले १६ अर्बभन्दा बढी ऋण दिएको थियो।
केही समयअघि मात्रै जाइकाले थप पाँच अर्ब ७० करोड जापानी येन (करिब पाँच अर्ब ४७ करोड रूपैयाँ) सहुलियत ऋण दिने गरी फेरि सम्झौता गरिसकेको छ।
सुरूका १० वर्ष व्याज मिनाहासहित चुक्ता समय ४० वर्ष छ।
नेपाल र जापान सरकारबीच २२ डिसेम्बर २०१६ मा सहुलियत ऋण सम्झौता भएको थियो। ६ अर्बभन्दा बढी सरकारको लगानी छ।
















