प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा मंगलबार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नेकपाका सांसद अमनलाल मोदीबीच आरोप-प्रत्यारोप चल्यो।
सांसद मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरूसँग बक्यौता रकम असुली गर्ने नाममा ९ अर्ब बढी भ्रष्टाचार गरेको आरोप घिसिङलाई लगाए।
लगत्तै समिति बैठकमा जवाफ दिने क्रममा घिसिङ सांसद मोदीमाथि खनिए।
'मैले भ्रष्टाचार गरेको प्रमाणित भए म झुण्डिएर मर्न तयार छु,’ घिसिङले भने, ‘अनावश्यक चार्ज नगर्नुहोला।’
कुलमानले सांसद मोदीकै निर्वाचन क्षेत्रको समस्या देखाइदिए। ‘तपाईले आफ्नो निर्वाचन क्षेत्रमा करिब ६ महिनादेखि ३ किलोमिटर तार तान्न दिनु भएको छैन, यसले गर्दा मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सबस्टेसन चार्ज गर्न सकेका छैनौं, एकातर्फ जनप्रतिनिधि भएर आफैं विकासका काम रोक्ने अर्कोतर्फ इमान्दारीका साथ रातदिन नभनी मुलकको लागि काम गरिरहेको व्यक्तिलाई भ्रष्टचार गर्यो भन्दै जथाभावी बोल्ने', कुलमानले भने।
कुलमानले जवाफ दिइरहँदा मोदी बीचमै बोले।
'नीतिगत भ्रष्ट्राचार देखिसक्यो', मोदीले भने।
मोदी बोलेपछि कुलमानले थपे - 'सांसद भयो भन्दैमा अनावश्यक चार्ज नगर्नुहोला। सबै कुरा छानबिन भएको छ। सम्बन्धित निकायले छानबिन गरेको छ।’
कुलमानले जवाफ दिइरहँदा मोदीले फेरि प्रतिवाद गरे, ‘नीतिगत देखिसक्यो... उहाँ ठाडठाडै हेर्नुहोस् त।'
सांसद मोदीले बैठकमा कुलमानमा दम्भ रहेको टिप्पणी गरे। लोडसेडिङ अन्त्यमा त्यतिबेलाको मन्त्री र अन्य टिमको काम भए पनि जस कुलमानले लिएको बताए।
'त्यतिखेरको मन्त्री टिमका कारण लोडसेडिङ अन्त्य भयो तर त्यो जस कुलमान घिसिङले लिए। उहाँमा मैले गरेको भन्ने दम्भ छ।’
मोदी त्यतिमै रोकिएनन् - 'त्यहाँ व्यापक भ्रष्टाचार गर्दा पनि लोडसेडिङ मैले अन्त्य गरें त्यसको निम्ति छुट हुनुपर्छ भन्ने मानसिकता उहाँमा छ। त्रिशुलीमा जनतालाई थुनिन्दिन्छु भन्नुभयो। प्रधानमन्त्रीलाई त अधिकार छैन। उहाँ को हो? पुलिस प्रशासन हो?’
उनले मोरङमा जाने प्रहरीको एसपीले सुरूआतमा नाकामा कडाइ गर्ने र पछि बार्गेनिङ गर्ने गरेको उदाहरण दिँदै कुलमानको काम त्यस्तै भएको बताए।
'हेर्दा, लोडसेडिङ अन्त्य', मोदीले भने, 'मैले बोल्दा समाजमा लाग्न सक्छ कुलमान घिसिङविरूद्ध हुनै नसक्ने कुरा। तर म यो उजागर गर्न चाहन्छु। हामी प्राविधिक विषय जान्दैनौं। नौ अर्ब रकम हिनामिना भएको छ। मिलिभगत देखिएको छ। संसदीय समितिले छानबिन गर्नुपर्छ।’
कुलमान विरुद्ध आक्रोशित भएका मोदीले ‘२५ मेगावाटको सोलार प्लान्ट र कोसी करिडोर प्रसारण लाइनको ठेकेदार छनौटमा भ्रष्टचार गरिएको' बताए। 'आफ्ना विद्युत्गृहबाट विद्युत उत्पादन नगरी कमिसनको खाँदै भारतबाट बढी विद्युत् आयात गरिएको छ’,मोदीले आरोप लगाए।
लेखा समितिले औद्योगिक तथा व्यापारिक ग्राहकसँग देखिएको डेडिकेटेट र ट्रंक लाइन महुशलका विषयमा देखिएको विवादका बारेमा छलफल गर्न ऊर्जा सचिव दिनेशकुमार घिमिरे, घिसिङ लगायतलाई डाकेको थियो । उनले सुरुमा डेडिकेटेट र ट्रंक लाइन महशुलका विषयमा देखिएको विवादका बारेमा प्रष्ट पारेका थिए । त्यसपछि सांसदहरुले आफ्नो धारणा राखेका थिए ।
कुलमानले भने प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरेको पाइए त्यसलाई छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउने बताए।
'दुइटा छानबिन समिति गठन गरेर कामलाई अघि बढाइएको छ’, उनले भने।
प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने उद्योगीहरूबाट बक्यौता रकम असुली गर्ने पत्राचार गरेपछि त्यो कानुनसम्मत नभएको भन्दै उद्योगी व्यापारीहरूले विरोध गर्दै आएका छन्। तर सोमबार मात्र कुलमानलाई उच्च अदातलले राहत दिएको थियो।
कुलमानले नियम अनुसारनै तिर्नुपर्ने शुल्कका लागि उद्योगी र व्यवसायीलाई पत्राचार गरिएको बताउँदै आएका छन्।
के हो मोदीको स्वार्थ ?
नेपाल विद्युत प्राधिकरणले मोरङको कटहरी क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन कटहरीमा सबस्टेसन निर्माण सकेको दुई महिनाभन्दा बढी भइसकेको छ। सुनसरीको दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयको अवरोध छ ।
यसले गर्दा दुहवीबाट विद्युत् लागी सबस्टेसन संचालन (चार्ज) गर्न नसकिएको प्राधिकरणका विराटनगर शाखा प्रमुख राजीव सिंहले बताए। ‘कटहरी औद्योगिक क्षेत्र पनि हो, अहिले त्यहाँ विद्युत आपूर्ति भइरहेको टंकिसिनुवारी सबस्टेसन थप लोड थान्न सक्ने अवस्थामा छैन’,सिंहले भने । ‘कटहरी सबस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने विराटनगरमा फोर्स लोडसेडिङ गर्नु पर्ने अवस्था छ।’
स्थानीयको अवरोधका कारण सडकको छेउमा गाडिएको पोलमासमेत साढे तीन किलोमिटर तार तान्न सकिएको छैन। ग्रामथाम नेकपाका सांसद अमनलान मोदीको निर्वाचन क्षेत्रमा पर्छ ।
मोदीले स्थानीयको मागलाई साथ दिंदै प्रसारण लाइनको तार तान्न दिएका छैनन्। प्रसारण लाइन निर्माण नसकिंदा कटहरी सवस्टेसन निर्माण सकिएर पनि प्राधिकरणले संचालनमा ल्याउन सकेको छैन। प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजाने गरी रुट तय गरेको छ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले केहीअघि तार तान्न दिन मोदीलाई आग्रह गरेका थिए। तर, मन्त्री पुनको अग्रहलाईसमेत मोदीले मानेका छैनन् । स्रोतका अनुसार, त्यस क्षेत्रका उद्योगीले चुनावमा सहयोग नगरेको भन्दै मोदीले स्थानीयलाई उचालेका हुन्। समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले पटकपटक प्रयास गरिरहेको छ।