विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै विदेशी लगानी प्रतिबद्धता घट्दै गएको छ। गत आर्थिक वर्षको तुलनामा लगानी प्रतिबद्धता बढेपनि कोरोना भाइरस फैलिएपछि भने लगानी प्रतिबद्धता घटेको उद्योग विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाले बताए।
‘कोरोना भाइरस फैलिनुभन्दा अघि र फैलिसकेको अवस्थाको तुलना गर्दा लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको छ,’ महानिर्देशक सिटौलाले भने।
विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार असोजदोस्रो सातादेखि पुसको दोस्रोसाता सम्ममा करिब साढे चौध अर्ब लगानी प्रतिबद्धता आएको थियो। त्यसैगरि विश्वमा कोरोना भाइरस देखिएपछिको अवस्थाको पुसदोस्रो सातादेखि चैत ३ गतेसम्ममा २ अर्ब रूपैयाँ लगानी प्रतिबद्धता आएको छ।
उक्त अवधिमा २४ वटा उद्योगमा लगानी प्रस्ताव आएकोमा १३ वटा चिनीयाँ लगानीकर्ताको प्रस्ताव परेको छ।
गत डिसेम्बरको अन्ततिर चीनको वुहानबाट सुरू भएको कोरोना भाइरस अहिले विश्वभर फैलिएको छ।