कविता
मुखमा माड लगाउने मेलोमा
साउदीमा पसिना बेच्न पुगेको छोरो
एकै वर्ष पछि नै
बाकसमा सुतेर आएको देख्दा
आँसु कसरी खस्दैन ??१??
हातमुख जोर्ने मेसोमा
काखे नानीलाई घरैमा छोडेर
न्यानो अँगालोको माया मारेर
भएको खेतबारी सब बन्धकी राखेर लाहुरीइनुपर्दा
आँसु कसरी खस्दैन ??२??
बिहानीको छाकपछि भरेलाई के ?
आजलाई जसोतसो, भोलिलाई के ?
ऋण काढेरै त पढियो, कमाइ खोइ ?
जान त गइयो, फर्किने नाइ ?
हज्जारौं प्रश्नहरूले यसरी एक्कासि डंक मार्दा
आँसु कसरी खस्दैन ??३??
सात सालमा बाबु गुमाएको
सत्र सालमा भाइ हराएको
छत्तीस सालमा छोरो मारिएको
छयालिसमा बहिनी बेचिएकी
छप्पन्नमा छोरी भासिएकी
त्रिसठ्ठीमा आफैं रित्तिएको
एउटा प्रौढ व्यक्तिले
छयहत्तरमा पनि आशै मात्र गरिरहनुपर्दा
छाती कसरी पोल्दैन ?
मुटु कसरी दुख्दैन ?
अनि, बुझ्न नसकेको मैले,
आँसु कसरी खस्दैन ??४??
उत्तर दिनुहोस् न कसैले,
आँसु कसरी खस्दैन ??५??