मामासँगै झिसमिसेमै ब्युँझिन्थ्यो अगेनु
मामा भैँसीलाई खोले पकाउनु हुन्थ्यो अगेनुमा
अनि अगेनुमा कुँडेमा दूध तताइन्थ्यो
त्यसपछि किट्लीमा चियाको पानी बसाइन्थ्यो
पानी तातेपछि किट्लीको टोपीवाला बिर्को उघारेर
चिया हालिन्थ्यो
दूध हालिन्थ्यो
चिनी/सख्खर हालिन्थ्यो
मरीच हालिन्थ्यो
र किट्लीको टुटीले
बाफ फाल्न थालेको केही बेरपछि
अगेना वरिपरि बसेका सबैलाई
स्टिलको गिलासमा चिया बाँडिन्थ्यो।
अगेनामा आगो दन्काउन
अगुल्टा ठोस्नु पर्थ्यो
अगेना वरिपरि कुरा चर्काउन
कुरा राजनीतिमा झोस्नु पर्थ्यो
अगेनो अगुल्टाको ठोसठास
र वरिपरि बस्ने मान्छेहरूका बिचको घोचपेच
दुवै सहन्थ्यो
अगेना कहिले अगेनै रहन्थ्यो
कहिले कचहरी स्थल बन्थ्यो
अगेनामा सधैँ दाउराहरू जोरिन्थे
अगेनामा सधैँ परिवारहरू जोडिन्थे।
पछि बाले भैँसी बेच्नु भो
र गाई किन्नु भो
अझ पछि स्याहार गर्ने कोही नभएपछि
बाले गाई पनि बेच्नु भो
र महिनावारि दूधको बन्दोबस्त भयो
दाउरा जुटाउन नसकिने भएपछि
ग्यास बाल्न थालियो
अब आमाले कित्लीमा होइन
ग्यास चुलामाथि दिउरेमा
चिया पकाउन थाल्नु भो
अब सिसाका ग्लासहरू आए
चिया कपहरूमा बाँडिन थाल्यो
अगेनो हरायो
अगेना वरिपरि मान्छेहरू छैनन्।
किन एक्लो-एक्लो हुँदै आएका छन् समाजमा मान्छेहरू?
हाम्रा घरमा किन कोही आउँदैनन् अचेल?