मनभरि बिछोडको पीडा बोकेर
आँखाबाट आँसु झार्दै
आफ्ना आफन्त
अनि खेलेको वन-बगैँचा
पुलुक्क हेर्दै
सुस्तरी सुस्तरी
भारी पाइला
चाल्यौ र बिदेसियौ
तिमीहरू पनि
फेरि नआउने गरेर।
यता
प्रत्येक पटक भरिएर
गगन मार्गमा जाने
चिलगाडी देख्दा
जस्तै मन चस्कियो
फेरि एक पटक हाम्रो।
हवाईजहाज मैदानको
रातो कार्पेटमा
पिर्के सलामी ग्रहण
गरेर देशाटनमा निस्कने गरेका
भलादमीहरूको अनुहार सम्झेर
मन कोक्याएर आयो।
आफ्नै पौत्र, पौत्रीको
डाइपर चेन्ज
गर्ने कामदारको रूपमा
बिदेसिन पाएका
पितामह र पितामहीको
अनुहारको मुस्कानको
त बेग्लै कुरा
गएका गए
फर्केकाले के गरे
थाहा भएन
नाम राखे कि नाम मेटे
पत्तो पाइएन
मान्छे भएर गएका
मान्छे भए कि मेशिन
बुझ्न सकिएन
इज्जत कमाउन गएकाहरूले
के कमाए, के गुमाए
अनुसन्धान हुँदै होला
तर
तिमीहरूले त केही गर्नू है
देशको नाम राख्नू है
तिमी मेशिन मात्र नहुनू
अरनिको र भृकुटीजस्तै
देशको मान राख्नू।
'खगेन्द्र प्रसाद' र 'रुद्रकली'
तिमीहरू मान्छेहरूले
गर्न नसकेको काम गर्नू
मान्छेहरूले
गर्न नसकेको काम गर्नू।