कविता
स्वीकृति नलिई आयौ
निम्तो नदिई जबर्जस्ती घुस्यौ
एक पल्टै नघच्घच्यायी
कुन दिशाबाट छिर्यौ
एक स्विको पनि पाएनौँ।
ए अजनवि रोग
तिम्रो नामैले पनि
सबैलाई भयभित पार्छ हेर
कसरी चुन्यौ? किन चुन्यौ?
मेरै आमाको कोख तिमीले
यो पवित्र स्थलमा
तिमीले आफ्नो बास बसायौ
यस्तो घनिष्ट चुनौती
अहिले सामना गर्न पर्दा
आफ्नो गुरु तत्वकै सहारामा
आडेस लाइरहेछु।
तिमीलाई दुई हातले बिन्ति गर्छु
मेरो आन्तरिक हृदयदेखि
माफी माग्छु, पुकार गर्छु
आज आरतिले पुजा पनि गर्छु
त्यति निष्ठुरी नबनिदिनु
कठोरपनलाई सिमितमा राख्नलाई
मेरा दश औंलाहरु जोड्छु
आमाको स्यानो कमलो स्वच्छ
शरीरमाथि सहानुभूति
राख्ने तिमीलाई निवेदन गर्छु।
तिमी मेरो गहिरो सपनाको
विपरित रुप भए तापनि
तिम्रो अस्तित्वलाई स्विकारिसकेँ
आमाछोरी बीच तिमी
बाधक बनि आयौ
तिमीलाई मानेँ...
तिमीलाई स्विकारेँ।।