एक गन्तब्यहीन यात्री जो अबिराम यात्रामा छ। यो शून्य संसारको गहिराइ नाप्न यात्रारत छ। प्रकृतिको शक्ति प्राप्त नदीले खियाएर बनाएका खोँच र फाँटबाट यात्रा सुरु गरी माथि हिमालको काख तर्फ लम्कदै छ। हो, उ जीवन बूझ्न चाहन्छ। आखिर जीवन के हो? यो अनुत्तरित प्रश्न को समाधान गर्न उसलाई जरुरी छ। किनकी उ शून्यमा बिलीन हुनु पुर्व बुझ्न चाहन्छ।
कोही महान् दार्शनिकले भन्या थे 'जीवन शून्यबाट सुरु भएर शून्य मै सकिन्छ।'
हो, ब्रम्हाण्ड शून्य छ। यही शून्यातामा हाम्रो सुरुआत र अन्त्य हुन्छ। शून्यतामा रोमान्चकता खोज्दा खोज्दै यो चक्रमा घुमेर उही शून्यमै बिलीन हुन्छ। आकाश शून्य छ, पाताल शून्य छ, सागर शून्य छ, पृथ्वी ब्रम्हाण्ड शून्य छ।
यात्रामा नदीको आवाजले शून्यता भङ्ग गर्न खोज्छ, चराले गीत गाउँदै शून्यता भङ्ग गर्न खोज्छ, तैपनि उ अगाडि बढीरहन्छ। आखिर उसलाई उत्तर चाहिएको छ। लेकाली जंगल भित्र कतै उ बरालिरहेछ। हिमालको हिउँलाई छोएर आउने चिसो सिरेटोले उसका शरीरमा प्रहार गर्छन्। तथापी उ थाक्दैन।
पर चौरी गोठ, हो त्यस्कै आडको धाराको पानी पिउँछ। ओहो! कस्तो चिसो दाँत नै झर्ला झै। पर-परसम्म मानिसको आवतजावत छैन। चौरीको घाँटीमा बाँधिएका घण्टाको टङ्-टङ् आवाज एकनासले आइरहेछ। यो सुनसान जंगलको मौनता तोड्ने यही एक आवाज छ।
उ हतारिन्छ। उसलाई लाग्छ, उ कतै टाढा पुग्नु छ। जहाँ उसलाई पर्खेर बसेकी उसकी प्यारी मायालु छिन्, पापा खान मुख मिठ्याएर बसेको उसको तोते बोली बोल्ने छोरो छ, लठ्ठी टेकेर आँगनको डिलमा उभिएर उसको बाटो हेरीरहने उसका बूढा बाउ छन्, अनि तुलसीको मोठमा साँझ बत्ती बालेर उसको सु-स्वास्थ्यको कामना गर्ने उसको आमा छिन्।
मलाई थाहा छैन यी सब उसँग छन् या छैनन। तर यति थाहा छ, उसको अभिलाशा भनेको उही अनुत्तरीत प्रश्नको उत्तर खोज्नु हो। म उसलाई गौर गरेर हेर्छु, उसका गहिरा आँखामा शून्याता पाउँछु, मुहारमा हेर्छु लक्ष्य प्राप्त गर्ने दृढता पाउँछु। उ जुरुक्क उठ्छ र यताउती हेर्छ अनि फेरि यात्रामा तल्लीन हुन थाल्छ।
माथि-माथि अझ उचाइँमा, जंगल अझ बाक्लिदो छ। माथि मालिङ्गो घारीमा टूसा खान आउने बडेमानका भालुले उसलाई आहार बनाउलान् कि। म सोचमग्न हुन्छु। तर उसको मुहारमा कतिपनि डर देखिदैन, बेला-बेला मलाई लाग्छ भाव बिहीन, संवेदना बिहीन, प्रेम बिहीन, मानिवीयता बिहीन एक कुरुप जन्तु के होला यो?
मेरा मनका यस्ता आशङ्काले उसको यात्रामा कुनै प्रभाव पार्दैनन्। उ एकनासले हिनिरहन्छ। माथि डाँडा छेउ, सुकेका बडेमानका रुखका ठुटाको जंगलको बीचमा गएर एउटा ढुङ्गामा चढेर उ बस्छ। आधा च्यातिएको झोलाबाट खोइ कुन्नी के झिकेर खान्छ। अलिकति भुइँमा फाल्छ। एउटा चरो आएर टपटपटप टिपेर खान थाल्छ।
मलाई शंका लाग्छ, कतै यो शिकारी त हैन। खानेकुरा दिएर चरा मार्दै हिँड्ने। मलाई चिन्ता पर्छ। उ नबुझ्ने भाषामा केही बोल्न थाल्छ। चरो पनि चिर्-बिर् गर्दै केही भन्न थाल्छ। दुई जना बात मार्न थाल्छन्। म छक्क पर्छु। अरे चराको भाषा समेत जान्ने यो व्यक्ति पक्कै साधारण मान्छे होइन।
उनीहरुको वार्तालाप चलिरहन्छ। म दिग्दारी भावमा वरिपरिको प्रकृतिलाई नियाल्छु। यति राम्रो जंगलमा कस्ले आगो लगाएर सबै रुखलाई कालो निभेको अगुल्टो झैँ बनायो। वरपर नियाल्छु। मलाई डर लाग्छ। सुनसान जंगल आधा डढेका रुखहरु। अस्ताउन लागेका घाम। अनि बढ्दै गरेको चिसो सिरेटो। म यतै हराइरहेछु।
ओहो! खोइ त्यो मान्छे?। गायब भो। म हैरान हुन्छु। कता खोज्ने होला यो अनकन्टार जंगलमा। लौ न, म कहाँ जाने होला। म उसलाई खोज्न यताउता दौडन थाल्छु। ओहो! यहाँ रैछ। डाँडाको टुप्पोमा। अस्ताउन लागेको घामका लामा-लामा किरण पर-पर चाँदीले पोतिएका हिमालमा पुगेछन्। हिमालको रंग फेरिएछ।
कस्तो मनमोहक दृष्य। हो, यिनै दृष्यलाई उसका गहिरा आँखाले नियाल्दै पो रैछ। म पनि यो दृष्य देखेर खूब मोहित हुन्छु। सुकेको रुखको ठूटोमा आड लागेर यो मोहक दृष्यमा हराउँदैछु। शान्त शून्य वातावरणमा दुवै जना प्रकृतीको सुन्दरतामा मुग्ध भएको बेला अचानक उ हाँस्न थाल्छ।
पूरा अट्टाहाँस हाँसो, जसले सम्पूर्ण जंगलको शान्ती भंग हुनेगरी। दायाँ हातको चोर औलाले परको सुनौलो हिमाल देखाउदै ठूलो स्वरमा कराउँदै भन्छ- सायद मेरो प्रश्नको उत्तर त्याहाँ पुगेपछि मिल्छ होला। फेरि दुवै हात फैलाउँछ र केही बेर आँखा चिम्म गर्छ, शान्त, बिल्कुल शान्त, मृत्यु शैयामा सुतेको एक लाश झै।
फेरि उही ठूलो हाँसो हाँस्छ, म झसँग हुन्छु। सम्झन्छु, कतै यो पागल त हैन। अझ सम्झन्छु यो पागल हैन, यो बैरागीको चियो गर्ने म चाहिँ पागल हुनु पर्छ।
उ उठ्छ। फेरि हिँड्छ। मास्तिर डिलबाट केही बुट्यान टिप्छ र सुँघ्छ। र चिच्याउँछ आहा! क्या मिठो। म त्याहाँ पुग्छु सोही बुट्यान टिप्छु र सुँघ्छु, ओहो! यो त सुनपाती हो। धुप हो। यस्तो उचाइमा आएपछि यस्तो धुप सुँघ्दा अल्टिच्युट सिकनेस हून सक्छ, कस्तो बेपरबाह मान्छे होला। म सम्झन्छु।
धुपको गन्धले मलाई असजिलो महशुस हुन्छ, लौ कतै मलाई लेक त लागेन, म हतार-हतार झोलाबाट लसुन निकालेर सुँघ्न थाल्छु। अल्ली राहत महशुस हुन्छ। लौ फेरि त्यो मान्छे खोइ? उ पर पो पुगेछ। हैन कति बलियो, हैन के खान्छ हँ यसले? यो मान्छै नै त हो! कतै कोही भूत त हैन। म भित्र डर पैदा हुन्छ।
म उसका पदचाप पछ्याउँदै लम्कन्छु। सूर्यको किरण परेको हिमाल अब विस्तारै सुनौलो रंग छोडेर सेता हुँदैछन्। घाम डुब्न लागीसके। अँध्यारो बढ्न थाल्यो। हिमाली चिसो सिरेटोले शरीरमा जोडले प्रहार गर्न थाल्दै छ। म छक्क पर्छु। हैन म किन यो पागल फकिरको चियोचर्चो गर्दै यता आउँदै छु।
अब फर्किउँ, रात परिसक्यो, सँगै जाउँ उ पर-पर पुगी सक्यो। म दोधारमा परेँ। म उसलाई पछ्याउँदै हिँड्न थालेँ। अल्लि पर दोबाटोमा एउटा बुढो रुख ढलेर बाटो छेकेको छ। उस्को अत्तोपत्तो कतै छैन। लौ न म कुन बाटो जाउँ?
यसो अग्लो ढुंगामा उभिएर पर-पर हेर्न थालेँ। लौ! यो को हो घोडा मा चढेर आउने? ओभरकोट लगाएको खैरो कपाल पालेको कमसेकम ६० कटेको। घोडा कति हट्टाकट्टा छ। कालो घोडा मोटा खूट्टा। सम्झन्छु यो घोडामा चड्न पाए त मरो यात्रा कति सजिलो हुने थ्यो है। म सम्झन्छु कि यो मान्छेसँग लिफ्ट मागौँ।
हैट! यो थोडी न कार या बाइक हो र लिफ्ट माग्न। म मौनतामा अल्झीरहेको एउटा जीवन... भन्ने गीत झै मौन भएर तीन छक्क परेर ठिङरिंग उभिरहेछु।
घोड सवार व्यक्ति दोबाटोमा घोडा रोकेर तल ओर्लन्छ। ओभरकोटको भित्री गोजीबाट एउटा बोत्तल निकाल्छ, र एक घुट्की पिउँछ अनि मुख बिगार्छ। ओहो! पक्कै रम पिएको हुनु पर्छ। यो चिसोमा एक पेग रम पिउन पाए त। म घुटुक्क थुक निल्छु। मागौँ कि अलिकती, फेरि सम्झन्छु यो एकान्तमा म एक्लै यो बुढो घोडासँग।
कतै मलाई पिट्ने त हैन? मनमा डर पलाउँछ। रम पिउने चाहना एकातिर पन्छाउँछु। उ आफ्नो ओभरकोटको बाहिरी खल्तिमा हात हाल्छ अनि चुरोट झिक्छ। ओठमा च्याप्छ। चुरोटको बट्टा फेरि खल्तीमा राख्छ। गोजी छामछुम गर्छ। अनि दिक्क मान्दै चुरोट खल्तीमा राख्छ। सायद लाइटर बोक्न भुलेछ। म दिउँ कि? यही मेसोमा एक प्याक रम पनि मागुँ कि?
फेरि मलाई डर लाग्छ। चुपचाप खडा रहन्छु। एक्कासी घोडा घाँटीको घण्टी बजाउँदै हिनहिनाउँछ। शान्त वातावरण एक्कासी अशान्त हुन्छ। एक हुल चराहरु कराउँदै छेउको रुख बाट उड्छन्। बुढो मान्छे मुन्टो बटार्दै निधार खुम्च्याउँदै चराको हुललाई हेर्छ र एक्लै कराउँछ। म उसको भाषा बुझ्दिनँ।
अचानक सम्झन्छु, कतै यो घोडसबार रोबर्ट फ्रोस्टको कबिता 'द रोड नट टेकन' को बुढो त हैन। पक्कै होला। बुढो उस्तै छ। घोडा उस्तै छ। ठ्याक्कै उस्तै रुखको मुडो, दोबाटो अनि लेकाली अनकन्टार जंगल।
म सोच्दै हुन्छु। उ घोडामा चढेर हिँड्न लाग्छ। मलाई के गरौँ के गरौँ झै हुन्छ। म सहास बटुलेर उसको छेउमा जान्छु र सोध्छु्। ‘ए बुढा मान्छे, यो दुईटा बाटो कता-कता जान्छन्।’
उ चिढिएको अनुहार बनाउँदै मलाई भन्छ, ‘अस्तिनै म एउटा बाटो गएँ जहाँ मान्छेका पाइला कम थिए, जसले मेरो जिन्दगीलाई एक मोड दियो। आज अर्को बाटो जाँदैछु हेरौँ कस्तो मोड आउने हो। तिमी आफ्नो बाटो आफै रोज, जिन्दगीको यात्रामा सबैले आफ्नो बाटो आफै रोज्ने हो। कुन बाटो जाने भनेर अरुसँग सल्लाह लिन हुन्न।’
यति भनेर उ बाटो लाग्यो। मैले सम्झैँ, हैन रोजेर हिँडीसकेको बाटोबाट गन्तब्यमा नपुगी यो मान्छे कसरी फेरि यही दोबाटोमा आइपुग्यो। यस्तो पनि हुन सक्ला र!
जिन्दगीको यात्रामा पुगिने दोबाटोमा कुनै एक बाटो रोज्नै पर्छ। कुन बाटो रोज्ने, त्यो आफूले नै निर्णय गर्ने हो। आखिर शून्यबाट सुरु हुने यात्रा शून्य मै सकिन्छ, यी दुई शून्य बीचको यात्रा आफू स्वयमले पार गर्नुपर्ने हुन्छ। ती दुवै बाटो आफ्ना लागि नयाँ हुन्छन्।
अरुलाई सोध्यो भने उसले हिनेको बाटो उसलाई सहज लागेको हून सक्ला तर त्यो बाटो आफूलाई असहज हुन पनि सक्छ। तसर्थ दोबाटोमा बसेर कुन बाटो जाने, त्यो बिल्कुल आफ्नो निर्णय हुने गर्छ। मन मनै यति कुरा सोचेँ।
अब म बिलखबन्दमा परेको थिएँ। घोड सवारको चक्करमा अर्को फकिर मबाट कतै टाढा पुगीसकेको थियो। सायद उसले पनि जिन्दगीको यात्रामा दोबाटोमा पुगेर पक्कै कुनै एक बाटो रोजेको थियो। सायद उ त्यही बाटोको शून्यताको यात्रामा लम्किरहेको थियो। सायद उसलाई यात्रामा खुब मज्जा आइरहेको हुनु पर्छ। अब म कुन बाटो जाने अलमल्लमा परेँ।
म त्यही दोबाटोको बुढो रुखको मुडामा टुसुक्क बसेँ, दुवै बाटोलाई हेर्दै। एउटा बाटो हेर्छु, अल्ली ज्यादा घना जंगल छ, बाटो साँघुरो छ। तर अल्ली पर जुनको किरण टहटह टल्कदै छ। अर्को बाटो तर्फ हेर्छु। खुला बाटो छ। जूनको प्रकाशले उज्यालो भएको छ। पर-पर हेर्छु, अन्धकार छ।
म कुन बाटो जाने भनेर दोधारमा परेको छु। बेलाबेला सोच्छु, कुनै बाटो नजाउँ। यही दोबाटोमा दोकान थापेर बसौँ। तर मेरो यात्रा? शून्यबाट सुरु भएको मेरो यात्रा शून्यतामै टुङ्ग्याउन यात्रा नगरी कसरी हुन्छ र! गुरुहरुलाई सम्झेँ। कतै उनीहरुले दोबाटोबाट सही बाटो जान मद्दत गर्लान् कि? फेरि बुबा-आमा अनि साथिभाइ सबैलाई सम्झेँ, कतै उनीहरुले दोबाटोबाट सही बाटो जान मद्दत गर्लान कि?
नेपथ्यबाट कसैले आवाज दियो। मूर्ख। तँ बहुतै मूर्ख होस्। लौ न यो त त्यही फकिरको आवाज पो हो त। बुढो कहाँबाट कराउँछ। धन्न नजिकै रैछ। मेरो मनको डर अल्लि कम भयो।
उसले फेरि करायो, ‘गुरु, पिता, साथिभाइ यी सबैले तलाई दोबाटोसम्म पुर्याउने हो। त्यसपछि कुन बाटो जाने भन्ने निर्णय तैले आफै गर्ने हो। त्यसपछिको यात्रा तैले आफै पार गर्ने हो। आफ्नो अन्तर मनलाई सोध, र सही निर्णय गर कुन बाटो जाने भनेर।’
मैले भने ‘ए बुढा, रात छिप्पी सक्यो। मलाई जाडो भैसक्यो। यो रुखको मुढामा बस्दा-बस्दा म थाकिसकेँ। भोक लाग्यो, तिर्खा लाग्यो। लौ न तिमी कहाँ छौ मलाई लिन आउ। आजको रातसँगै बसौँ, कुन बाटो छान्ने भोलि कुरा गरौँला।
उ फेरि करायो, ‘मूर्ख मैले मेरो बाटो रोजिसकेँ, अब म कसरी फर्कनु। अब तैले आजै अहिलै तेरो बाटो रोजेर यात्रालाई निरन्तरता दे।’
मैले भने, ‘ए बुढा, अघि त्यो घोडा सवार गलत बाटो रोजेकोमा पछुतो मान्दै यही दोबाटोमा आएर अर्को बाटो गयो त। हामीले गर्न मिल्दैन र।’
उ बोल्यो ‘त्यो तेरो भ्रम हो। त्यहाँ कोही घोडा सवार थिएन। तँलाई तेरो मनले दोधारमा पार्दै छ। यात्रा सुरु गरेपछि कोही पछाडि फर्कन सक्दैन। यही प्रकृतिको नियम हो।’
म झसंग भएँ।
उसले भन्यो ‘लौ अब म यात्रामा लागेँ। तँ पनि बाटो लाग्।’
म धेरै बेरसम्म उसलाई बोलाईरहेँ। तर अहँ! उ बोलेन। सायद उ उसको यात्रामा पर पुगेको हुनु पर्छ।
लौ त भन्दै म पनि एउटा बाटो रोजेर यात्रामा लागेँ। गोजीबाट मोबाइल झिकेर हेडफोन कानमा लगाएर गीत सुन्दै, 'यात्रा रहेछ जिन्दगी एक्लै म हिँडी दिन्छु...।' अझसम्म यात्रारत छु। हेरौँ अब कति लामो यात्रा गर्न पर्ने हो।