कथा:
ए लौ न माइलालाई तुलसाको मठमा सार्नुपर्यो।
पानी देउन ए माइली! गंगाजल कहाँ छ?
पन्डितलाई झट्ट बोलाउनुपर्यो, दस दान गरिदिनुपर्यो।
पल्ला घरकी काकी अत्तालिदै बोल्न थाल्नुभयो। मैले राम्ररी अड्कल काटें, बुढालाई निकै साह्रो पारेछ। ओछ्यान परेको पनि वर्ष दिन भइसकेको थियो।
ज-जसले जे-जे भन्यो म थपक्क मान्दै गएँ। सबै छिमेकीहरू जम्मा भइसकेका थिए। बुढालाई भित्रको खाटबाट तुलसीको मठमा सारियो, पन्डित पनि आइपुगे दस दान भयो। ऊ मृत्युसँग लड्दै थियो, अन्तमा दिउँसोको दुई बजे उसले अन्तिम सास फेर्यो।
घरमा छिमेकीबाहेक हामी तीन जना ऊ, म र उसकी आमा मात्र थियौं। छोराहरू पढ्न सहरमा गएका थिए। छोरीको विवाह भइसकेको थियो।
सबै जना रुन थाले, म त सबैलाई हेरेर टोलाएँछु। कहिले रुने मान्छेलाई त कहिले मरेको मान्छेलाई पालैपालो हेर्न थालेंछु।
हल्लाखल्ला सुनेर होला गोठबाट बाख्रावस्तु कराउन थाले। यस घरमा आएदेखिका मेरा साथी तिनै हुन्। कराएको सुन्न सकिनँ।
पटुकामा हँसिया सधैं सिउरिएकै हुन्थ्यो, गोठतिर लागेँ। उनीहरु पनि मलाई देखेर शान्त भए। छेउको पट्मिरो काटेर हालिदिएँ।
उनीहरू खुसी भएर खान थाले मलाई पनि आनन्द आयो। उसै पनि घरमा मेरो कुनै चासो हुँदैनथ्यो कसैलाई पत्तै भएन।
लाशलाई सोलुखोलामा पुर्याउनु पर्ने भएकाले विधिविधान अनुरुप हतारहतार सबै तयारी हुँदै थियो। छेउको थाममा अढेस लागेर म सबै कुरा हेरिरहेकी थिएँ। छोराको वियोगमा आमाको मन रुनु स्वाभाविकै थियो। उनी छोराको मुख हेरेर विलौना गर्दै थिइन्।
सेतै फुलेकी बुढीलाई छोराको लाशबाट छुटाएर छिमेकीले घरभित्र लगे। पतिको वियोगमा पत्नीलाई झन् पीडा हुनुपर्ने हो तर मलाई केही भएको र नभएको फरक नै लागेन। कुनै गुनासो पनि आएन म आफैं अचम्ममा परें। अरु देख्ने पनि छक्कै परिरहेका थिए।
माइली तिम्रो चुरा पोते देऊ! भन्ने आवाजले पो म झसङ्ग भएँ।
माझघरका दाइले मसँग सिन्दुरको बट्टा पनि माग्नुभयो। म ट्वाल्ल परेर मरेको लोग्नेको लाशमा हेर्न थालें। उसले मलाई दिएको भनेको चिज नै त्यही थियो अब जाने बेलामा त्यो पनि उसको अधिकारको कुरा बन्यो। म जिउँदै रहेकी भन्दा पनि ऊ मरेको मान्छेको तागत बढी देखें। मैले गलामा लगाइरहेको पोतेको झुत्तो निकालें र उसको छातीमा राखिदिएँ। मेरो शरीरमा एक हल्कापनको महसुस भयो।
नाडीभन्दा धेरै ठूला भइसकेका चुरा पनि फुकालेर त्यहीमाथि राखिदिएँ, बन्धनमुक्त भएको आभास भयो। विवाहको मन्डपमा जीवनको परिधि कोर्ने सिन्दूरको बट्टा पनि ल्याएर उसको लाशलाई रङ्गाइदिएँ। जुन कुराले मलाई ऊसँग एउटै घरको छानामुनि बस्न बाध्य बनाएका थिए।
ती सब कुरा उसलाई बुझाइसकेपछि मैले मुक्ति पाउदैछु, मेरो स्वतन्त्रताको घेरा फराकिलो बनेजस्तै लाग्यो तर मेरा मनका सुसुप्त अवस्थामा रहेका सुख, दु:ख, क्रोध, हर्ष, विस्मातलगायत कुनै पनि चिज जागृत भएनन् सायद धर्तीभित्रका गाडधनजस्तै लुप्त भइसकेका होलान्। भौतिक रुपमा ऊ आज मरे पनि भावनात्मक रुपमा म धेरै पहिले नै मरिसकेकी रहेछु। भावनाहरू पनि जागृत हुँदा पुनः मर्नुपर्ने डरले नब्युँझिएका हुन सक्छन्।
म यन्त्रवत् रुपमा ज-जसले जे-जे भन्यो सबै काम गर्दै गएँ। अन्तमा सारा बन्दोवस्तपछि एकोहोरो शंख ध्वनीसँगै लाशलाई उठाएर ओह्रालो झारे। म निशब्द थिएँ, भावविहीन थिएँ, मूर्तिवत् थिएँ, सधैंसधैंका लागि ऊबाट टाढा भएँ।
जिउँदाका जन्ती मर्दाका मलामी भन्छन्। मलाम जानेहरू मलाम गए, नजाने महिलाहरू जम्मा भएर सासुलाई सम्झाउन थाले र अन्तमा धारामा जाने प्रबन्ध मिलाए। भदौको दिन भएकोले धारामा थापिँदा यसै पनि आनन्द आउथ्यो आज म निकै रमाएँ। सधैं नहुने अनुभूति एकैचोटी आउन थाले। मनका सबै पिरहरू पखालिएजस्तो, सबै बन्धनमुक्त, श्रापमुक्त, अपराधमुक्त भएजस्तो लाग्न थाल्यो।
धाराको छहरामा मेरो मन खुसीले नाच्न थाल्यो, मेरा सपनाहरू सल्बलाउन थाले। विगतले घुम्टी उठाउँदै यो घरसँग साइनो जोडिएको पहिलो प्रहरको याद आउन थाल्यो। पानीका प्रत्येक थोपाले मलाई सम्झाउँदै अगाडि आएर आफ्नो साक्षी बन्न थाले।
विवाहको पहिलो रातमै लोग्ने सौताको साथ लागेको याद आयो। सन्तान जन्माउने मेसिनझैं सम्झेर मेरा भावनामाथि लात मार्दै बेला-बेलामा बलात्कृत भएको र आफूलाई सन्तानको साथ पाउने अधिकारबाट बञ्चित गरेको याद आयो।
पालैपालो पानीका थोपाहरू विगत पल्टाउँदै गए। म चुपचाप पानीको अँगालोमा बसिरहेँ। आफ्नै छोराछोरीले आफ्नी आमालाई पराइ ठानेका घटनाको याद दिलायो। कलकलाउँदो सोह्र वर्षे जोभानदेखिको अहिलेसम्म एउटै छानामुनि पार गर्दासम्म मलाई कुनै दिन आफ्नोपनको याद नभएको, पोहोर साल सौता हृदयघात भई ढल्दा मलाई सौतेनी ग्रहले थिचेर मारी भनी लगाएको आरोप, बेंसीमा अर्काको बारीमा मकै चोरेर खाई भनी चोरीको आरोप लगाएको, आफ्नै माइती घरबाट जवर्जस्ती विवाहपछि अबदेखि फर्केर आउँदिन भनेर गरेको प्रण, जीवनमा केही गर्ने किशोरावस्थाको उत्साह मरेको समय, फुर्सदमा किताब पढ्ने रहर गर्दा लागेका आरोप, हरेक क्षणमा मैले सहेका गाली र जीवनलाई कष्टकर बनाएका प्रत्येक पलहरू, मैले भोगेका शारीरिक र मानसिक यातनाहरूलाई पानीका थोपाहरू आउँदै मलाई सम्झाउँदै पर उछिट्टिएर खित्का छोडी हाँसेजस्तो लाग्यो।
प्रतिकार गर्नु निरर्थक ठानेर बोल्न छाडेकी वर्षौं भएको पनि आफैं अनुभूत गरेँ। जीवनमा हाँस्न बिर्सिसकेकी रहिछु। आफूसँग पढेका साथीहरू कोही के बने कोही के बने रे सबैले आ-आफ्नै प्रगतिमा गौरव ठानेका छन् भन्ने खबर गतसाल नापी अधिकृत भएर हाम्रो गाउँमा आएको मेरो सँगै पढ्दाको साथी रमेशले दिएको कुराको पनि याद आयो। गाउँमा आएको मान्छेसँग बोलेको देखेर मैले घरमा एक सातासमेम सास्ती खेप्नुपरेको थियो। मैले मनमनमा ऊ र मलाई दाँजेर हेरें। यो धर्तीका सन्ततिलाई तुलना गरें अनि आफ्नो अवस्थाप्रति सहानुभूति देखाउने रमेशलाई पनि सम्झे|।
अर्को पानीको थोपा आएर मलाई काउकुती लगाउँदै भन्यो- किन जीवनमा निराश हुन्छेस्? बल्ल त चालिस वर्षकी भइस्। अझ पनि तेरो सपना पूरा गर, हिम्मत जुटाएर अघि बढ्। तँ अब बन्धनमुक्त भइस्, जीवन अझै बाँकी छ।
सबै पानीका थोपाहरू अलि पर जम्मा भएर इन्द्रेणी भएर हाँसिरहेका थिए। म आफैं छक्क परेँ।
म पानीमा धेरै बेर सम्म थापिएँछु कि क्या हो जोरनाले घरकी ठूली दिदीले माइली अब धेरै पानीमा नभिज, यो लगाऊ भनी हातमा सेतो कपडा देखाउँदै बोल्नुभो अनि पो म त झसङ्ग भएर पानी बाहिर आएँ। दिदीले दिएको कपडा समाउँदै हेरेँ। आफू मरेर गएपछि बाँचेकालाई पनि मुर्दा बनाउने परम्परा कस्तो होला। मनमा यस्तो तर्कना आए पनि म विचलित भइनँ। किनकि म
जन्मेको समयमा पनि रंगविहीन थिएँ, पुनः जन्मिएँ।
मैले त्यो कपडा लगाएँ अनि सबैका साथ घरमा पुगेर एउटा कुनामा बसिरहेँ।
भदौरे झरी कहिले झमझम झर्छ त कहिले हरिया मकै सुकाउने घाम लाग्छ मौसमको केही भरोसा छैन। प्रकृतिसँग नरमाएर पनि के गर्नु र उसको खटन सधैं सहनैपर्छ।
मानिसको चहलपहल पनि निकै छ, आउने जाने मानिसहरू भइरहन्छन् सम्झाउने बुझाउने मानिसको पनि केही कमी छैन। म एकोहोरो रुपमा जीवनका पूर्वार्द्धमा फर्किरहेकी छु।
कक्षा दसमा पढ्दापढ्दै मेरो विवाह भएको थियो। त्यतिबेला कति कोशिस गर्दा पनि विवाह रोक्न नसकेर जीवनमा पहिलोपटक मरेकी थिएँ। त्यतिबेला घरखेत र वस्तुभाउ हेरेर खान्दान हेर्ने परम्परा अझै सकिएको थिएन। मलाई पनि त्यही सम्पत्ति हेरेर सन्तान नभएकी सौतामाथि बाबुआमाले विवाह गरिदिएका थिए। मुखमा ताल्चा लगाइदिएर आज्ञाकारी भएर बाँच्नुपर्छ, सबैलाई रिझाएर खानुपर्छ, पतिको खुसी नै मेरो खुसी भन्नुपर्छ, परिवारका मानिसहरूको सेवा गर्दा खुसी भए भने आफू जीवनमा अगाडि बढेको ठान्नुपर्छ भन्नेजस्ता शिक्षाका प्रमाणपत्रहरू दिमागमा राखेर आजसम्म आइपुगें। बुहार्तन खेपाउन नसक्ने सासू त्यतिबेला सासू नै हुँदैनथे। आफ्नो वशमा राख्न नसक्ने लोग्ने नामर्द कहलिन्थ्यो।
सौतेली मामिलामा लोग्नेको मायाको आशा नै गर्नु पर्थेन। इच्छा नभए पनि पाँच वर्षमा तीन सन्तान जन्माएपछि मेरो सम्पूर्ण काम सकिएको थियो।
आफन्तहरू आउने-जाने, सम्झाउने, बुझाउने, दु:ख साट्ने, आफूलाई परेको पिर सुनाएर अरूको पिर हलुका पार्ने क्रम जारी थियो। सबैका सामुन्ने म जिउँदो लाशजस्तो भएर चुपचाप हेरिरहन्थेँ। हाँस्न बिर्सेको वर्षौं भइसकेको थियो। अरुसँग बोल्दा बात लाग्ने डरले नबोलेको पनि धेरै भइसकेको थियो। मनका इच्छा, आकांक्षा, हर्ष, विस्मात् केही बाँकी नरहेर मेरो मन एउटा विशाल ढुंगामा परिणत भइसकेको रहेछ।
म लखेटिएकी, लुटिएकी, विछोडिएकी, निचोरिएकी, मूर्तिवत थिएँ।
ऊ मरेको पाँचौं दिनमा दुवै छोराहरू आइपुगे। दसौं दिनमा नाति लिएर छोरी पनि आइपुगी। मैले उनीहरूलाई आँखाभरि हेरेँ।
बाबुसँगको विछोडमा उनीहरूको अनुहारको पीडा र मेरो अनुहारको भाव ठ्याक्कै मिलेन। उनीहरू आफ्नै कार्यमा व्यस्त भए भइसकेछ। नातिनातिनाको मुख हेरेपछि स्वर्ग गइन्छ भन्थे। मेरो पनि स्वर्गको बाटो खुल्यो होला सायद। तेह्रौं दिनमा काम सकियो। विस्तारै सबै आआफ्नै गन्तव्यतिर गइसकेका थिए।
केही दिनपछि सेताम्य कपाल फुलेकी सासु अँगेनाको डिलमा बसेर विस्तारै बोलिन्– माइली चिया खान आइज। मलाई अनौठो लाग्यो, सधैं झर्कने सासूलाई आज के भयो खै?
यतिकैमा सान्नानी आइपुगी। ऊ मेरो मेलापातकी साथी थिई। हामी समवयका थियौं तर ऊ बालविधवा थिई। हामी तीनै जना विधवाको जीवन मिल्थ्यो। एकै ठाउँ बसेर चिया खायौं।
सान्नानीले सहानुभूति दिने गरी बोली – मानिसको जुनी एकदिन मर्नैपर्ने के गर्नु! माइला पनि सबै गएकै बाटो गए।
बूढी आमा ऊ भन्दा म जानुपर्ने, के गर्नु भगवानको लिला भन्दै तलामाथि लागिन्। सान्नानीले मलाई हेरेर विस्तारै बोली– किन नबोलेकी माइली धेरै पिर नगर है जे हुनु त भइगो। पिरले त आफ्नै जीउमात्र खान्छ के, बाँच्नेले त गरिखानुपर्छ।
मैले सान्नानीलाई विस्तारै भने – मैले पिर लिएको छैन सान्नानी, कति पनि छैन। मेरो के बिग्रेको, गुमेको छ र मैले त मुक्ति पाएकी छु। तँलाई एउटा कुरा थाहा छ सान्नानी ऊ मरेको दिनमा उसको छातीमा सिन्दूरपोते राखिदिँदा मलाई छाती पिटिपिटी हाँस्न मन लागेको थियो तर के गर्नु समाजको अगाडि हाँस्न सकिनँ।
मेरो कुरा सुनेर सान्नानीले अत्तालिँदै ढोकातिर हेरी अनि मलाई ठूला-ठूला आँखाले प्रश्नवाचक दृष्टि फालिरही।
म मुसुक्क हासेँ। मेरो स्वतन्त्र जीवनको सुरुवातको मुस्कानलाई आँपको गाछीबाट घामको झुल्काले स्वागत गर्दै थियो।