कुनै सम्बन्धलाई बलियो बनाउने
विश्वासको डोरी चुँडियो भने
कति सम्बन्धहरू बिग्रिन्छन्?
कोही पराईसँग केही क्षणको निकटताले
आफन्त माथिको विश्वास तोडिन्छ भने
कति सम्बन्धहरू चुँडिन्छन्?
सम्बन्धलाई बलियो बनाउने
विश्वास नै त हो एकअर्कालाई निकट तुल्याउने
जब विश्वास हुन्छ बगरको ढुंगा पनि मन्दिरमा पुजिन्छ
त्यही विश्वास नै त हो
जसले ढुंगालाई भगवान् बनाउँछ
आगो आरती बन्छ अनि पराई सारथि बन्छ
आफूलाई सर्वश्रेष्ठ ठान्ने मानिसले पनि
ढुंगालाई भगवान् मानी
ढुंगाको अगाडि बिन्ती बिसाउँछ
शिर निहुराउँछ
बगरको ढुंगालाई भगवान् मानी पुज्न थाल्छ
कुनै पनि सम्बन्ध जोड्ने सेतु हो विश्वास
त्यसैले त
संसार विश्वासमा अडिएको छ
थाहा छ विश्वास बिना सम्बन्ध टिक्दैन
तर विश्वास पनि कसको गर्नु?
अगाडिबाट आशा देखाई पछाडिबाट वार गर्छन्
दुनियाँ स्वार्थी छ
आफ्नाले नै यहाँ विश्वासघात गर्छन्
जब विश्वासघात हुन्छ
मनको भित्तामा कहिल्यै नमेटिने दरार बसालेर जान्छ
बिना कुनै आवाज निकाली मौनतामै कति सम्बन्धहरू चुँडिन्छन्
मित्र शत्रु बन्छन्
अनि आफन्तहरू पराई
त्यसैले त संसार विश्वासमा अडिएको छ
विश्वास छ त सम्बन्धहरू रहन्छन्
सम्बन्धी रहन्छन्
साथ रहन्छ, सारथि रहन्छन्।