प्राध्यापन पेशाको भ्रुण विद्यालयमा बिताएका राम्रा नराम्रा दिनहरुको प्रतिशोध गन्ध वा बास्नाबाट प्रभावित भएको हुन्छ। शिक्षा आर्जन गर्ने र कालान्तरमा आर्जन गर्नेलाई गर्जनेहरुको व्यवहार यही भन्छ। राजनीतिको झोला बोक्नेहरुको इतिहास र तथ्य पनि लगभग उही हो तर आज समाजिक कलेबर ओढेका दुई फ्लेबरको चर्चा गरौँ।
अहिलेका ख्यातिप्राप्त प्रिय प्रोफशर मित्रको व्यथाभित्र उनको सचित्र वर्णन पाइन्छ। उनी गाउँमा पढे र पहिले गाउँमै शिक्षक बने। सहरमा आएर थप अध्ययन गरेर फेरि सहरमा लेक्चरर भए।
विश्वविद्यालयको छायामा शिक्षकहरुको संगतमा परेर उनले आधा देशभित्र र आधा देशबाहिरको छात्रवृतीपछि पाएको डिग्री नै प्रोफेसर बन्ने अचुक अस्त्र साबित भयो। र उनी विश्वशिक्षा हासिल गरेको अनुभव चर्चा र प्रमाणपत्र झोलामा हालेर शिक्षाविद्, साहित्यकार, समालोचक, प्राज्ञिक पात्रका रुपमा पाका कुरा चबाउने धन्दामा लागीरहेका छन्।
उनको स्मृति धुँदा आउने मयलपोस अगाडि भन्दै जान्छ। उनी गाउँमा शिक्षक हुँदा साइकलमा चढेर केश उडाउँथे, सहरको शरणमा परेपछि मोटरसाइकलको चक्कामा घुम्न थाले, जसै उनी विश्वविद्यालयको ज्ञानग्रहणमा परे उनी पहेलो कार चढ्ने भएका थिए। पहिले-पहिलेका शिक्षक हुँदा बखतका किस्साहरु उनी निस्फक्री सुनाउँथे।
तिनै अनन्य मित्रले भित्रिया साथीहरुमाझ विश्वविद्यालयका अग्ला रुखमुनिको छायामा बसेर दुबो चबाउँदै कहेका कथाहरु कटहरको बोक्रामा भएका बचेरा थुनहरु झैँ असरल्ल थिए। उनी आफैँले गरेका कार्य कुकार्य कसरी सुकार्य बनेर समाजमा चम्कीरहेका थिए, ती सबको वृतान्त स्वयंमले गर्वपूर्वक भनेका थिए। र हामी साथीभाइको जमातलाई चिन्तनगर्भमा धकेलेका थिए।
प्रोफेसर मित्रको काया पातलो छ। प्रायः सेतो रंगको सर्ट लाउँछन्। खुकुला पहिरनमा यिनको विशेष रुचि छ तर महिलाका मामलामा भने उनी पुष्ट र कम उमेरका भ्रान्तीहरुको छनोट निर्विरोध गर्छन्। प्रोफेसरको केशराशी घुम्रेको छ। मानौँ, ती घुङ्ग्रीला कपालमा उनी आफूले गरेका कुकृत्यका कथाहरु सङ्केतमा, कोडमा लुकाईराखेका छन्। मसिनो आवाजमा रुग्णता भरिएको छ, कम्पनको जलप छ।
उनलाई सुनीरहँदा लाग्छ, रातभरि दोहोरी गाएर उनको आवाज बसेको छ, घिस्रेको छ। दिन दुखीको आवाजी शैलीमा उनी विस्तारै उठान गर्छन् र ठूलो भोल्युममा बोलीलाई उठाउँछन् र धारापरवाह बोल्दछन्। कुनै बेला यिनले सिनेमा, नाटकमा पनि अभिनय गरेका थिए। थाहा छैन दर्शकहरुले कसरी बुझ्न सके उनको गरिमामय आवाजस हितको प्रस्तुतीलाई।
सर्टको माथिल्लो बटन खोलेर मित्रले आफ्ना स्मृतिको झोला खोल्नु पहिले अन्य साथीले के अनुमान लाउँथे कुन्नि तर मलाई सधैँ लाग्थ्यो, यिनी जसरी कुरा गर्नमा माहिर छन्, यिनलाई कहिले लाग्दो हो की श्रवणकुमार, कुमारीहरु मेरो आवाज सुन्नलाई सुपारी, गुट्खा वा पानमसला फर्माइस गुप्त रुपमा गरीरहेका छन्। तर यिनी सधै आफूलाई धेरै बोल्नु पर्ने बक्ताको रुपमा चित्रण गराईछाड्थे र हामी आम साथीहरु उनको शैलीमा भिजेर त्यो अवसर नमागिकनै उनलाई दिने गर्दर्थ्यौँ।
विवाहित प्रोफेसर सन्तानले सुसज्जती थिए तर पनि पृथ्वीबासी पुरुष हुनुको दम्भ र परचक्र चरित्र उनको भिजिटिङ कार्डमा पनि अंकित थियो। उनी बाहिर हिँड्दा एक थान श्रीमती, केही थान विकसित भ्रुण र धेरै थान अविकसित भ्रुणहरुको श्रेस्तेदार हो भन्ने परिचायक तथ्यलाई आफ्नो कर्ली केशमा लुकाउँथे र एकल जीवन विचरण गरिररहेको विश्वमानव, सत्यको शोधार्थी, एकल शक्तिशाली कामारुखका रुपमा आफूलाई प्रस्तुत गर्थे। मित्रले सामान्य युवतीको असामान्य चित्रण धेरैपल्ट धेरै प्रसंगमा हामी मित्रगणलाई सुनाएका थिए।
प्रोफेसर मित्रले गाउँबाट भर्खरै सहर पसेकी एकजना युवतीलाई विश्रामगृहमा संरक्षण दिएका थिए र उनको अभिभावकत्व सगर्व बहन गरेका थिए। सर्ला बुर्लाकोटी नामकी ती युवती, पछि मित्र प्रोफेसरको संगतमा परेपछि अनुभवि बनेर होनहार बौद्धिक छायाछवि लिई चर्चामा आउन थालेकी थिइन्। उनको उधारो ज्ञान चर्ममैदानलाई धावनमार्ग बनाएर दौडिरहेको थियो, यदाकदा उडेको पनि देखिन्थ्यो।
मिस बुर्लाकोटीका अविजात्य अभिभावकहरु सहरमा धेरै थिए। सबैले उनलाई प्रेम गर्दथे र वापतको प्रेमील कदम चुकाउँथे। मोड-मोडमा वृद्ध, अधवैँशे र समकालीन शरीरहरुले सरको उपमा पाएपछि युवतीको दशा 'जिन खोजा तिन पाइया'को अवस्थामा थियो। उसका आधारभूत आवश्यकताहरु सहजै पूर्ति भइरहेका थिए। विश्रामगृहमा मित्र बरोबर गइरहन्थे।
प्रोफेसर भएपछि किनेको उनको पहेलो रंगको कारमा सवाररत आफ्नो शरीरलाई उनी लाश भन्थे र अपुष्ट दर्शनदंशको विष चारैतिर छर्कन्थे। पहेलो रंगलाई जीवनको अन्तिम घाट, आर्यघाटतर्फ जाँदाको शवयात्राको लीलालाई निमन्त्रणा ठान्ने तर्क उनको टुप्पा काटिएको बिजयपुरे बाँसमा अडेको थियो। एकचोटिको कुरा हो, उनी तिनै संरक्षित युवती मिस सर्लाकहाँ साँझपखको समय सिलाउन भनी गएका थिए।
साथमा मनपर्ने खाद्य पदार्थ र रसायनको जोहो गरी गरेका थिए। घरमा परिवारलाई कुनै जरुरी काम छ भन्ने जनाउ पहिल्यै नै दिइसकेका थिए। उनी हिँड्दा खाली झोला बोकेर हिँडीरहेको गह्रुगो व्यक्ति झैँ लाग्थ्यो। मनपर्ने पेय पिउँदा मित्र आफ्ना बारेमा सक्कली कुरा गर्दथे। उनीसँगै बसेर पिउने अरु मित्रले त्यो बानीका बारेमा चाल पाएका छन्।
त्यस रात मिस सर्लाले मित्रलाई अबेरसम्म अल्झाइरही र उनको घुम्रीएको केशसम्म पुग्नेगरी मताउन एकपछि अर्को ग्लास थपीरहेकी थिइ। जसै स-साना गड्यौला शिरमा ओइरिएझैँ उनको कपालमा मदिराको मात चढ्यो, उनी ओइलाएर भुइँमा लडे। मध्यरात पनि भएको थिएन, प्रोफेसर चिसो भुइमा तातो शरीर लिएर गालाको सहायताले हिँड्न खोजीरहेका थिए।
बर्बराउने बानी बकिरहेको थियो, ‘मेरो हातमा लालटिन देऊ, मलाई खोजमा निस्कनुछ, मनको क्रान्तिमा लाग्नु छ!' मिस सर्लाले सँगसँगै पिएको स्वाङ पारी, उसले ओठमात्र जोतेर आफ्नो अवस्थालाई ठिकठाकमा राखीरहेकी थिइ। उसले अर्का वरिष्ठ व्यक्ति जो अभिन्न अभिभावकको भूमिकामा भर्खरै मात्र मांसगल्लीमा प्रवेश गरेका थिए, तिनै महामहिमको प्रतिक्षामा ऊ थिइ।
रातको बाह्र बजेको संकेत टेबलमा रहेको घडीले दियो र ऊ हतारमा प्रोफेसरलाई भुइँमा छोडेर बाहिर निस्की। मेनरोडमा साइडलाइट बालेर ढुकेर बसीरहेका समाजका भद्र व्यक्ति नाबालिक सर्ला बुर्लाकोटीलाई आश्रय दिन तम्तयार भइ बसेका थिए। उनले दिने आश्रय आजन्म पनि हुनसक्छ भनेर पुष्ट आश्वासन पहिले नै मिस सर्लाका हातमा थमाइसकेका थिए, अब ऊ म्याडम सर्ला बन्ने अवतारको तयारीमा ब्राण्डेड कस्मेटिक समाग्रीको प्रयोगमा उक्लेकी थिइ।
नयाँ सेलफोन र साप्ताहिक रुपमा डेटाप्याक र अनलिमिटेड फ्री कल्स सेवा जो नियमित कर्म बैनाका रुपमा महामहिमको कृपादृष्टिबाट चलीरहेको थियो। दुवैजना सहरभन्दा बाहिर रहेको तासकटेजमा समय बिताउन गए।
अर्कोतर्फ विद्धान प्रोफेसर भुइँमा लम्पसार थिए। उनको मोबाइलको स्क्रिन अनअफ भइरहेको थियो। परिवार र आफन्तहरुले सम्झेका होलान्। अननोन नम्बरबाट फोन आउने र हराउने क्रम जारी थियो। बत्ती बल्ने र निभ्ने प्रक्रिया चलीरहेको थियो। पहेलो कार शित ओढेर बाहिर मलिलो खेत माझमा काँपीरहेको थियो।
यी सारा ताडण्व दृश्य श्रीमतीले पठाएको भाडाको स्पाइमार्फत थाहा भएको थियो। ह्याण्डसम रकम पाएपछि प्रहरी, सेना, दुताबास र नेताका सुराकी गर्नेहरुले धन्दा फेरेर पारिवारिक जीवनका निजी मामलामा खटिने गरेका थिए। प्रोफेसरकी श्रीमतीको धाक, माइती घरको ठेगाना जिल्ला नगर नभएर सारा नेपाल नै थियो। मिस सर्ला बुर्लाकोटीसँगको गुह्य कुराको सुइको सुइरो बनेर श्रीमतीको निर्देशमा गुप्तचरले सुरक्षितरुपमा श्रीमतीलाई दिएको थियो।
र तत्पश्चात श्रीमान् प्रोफेसरको कान हुँदै काँधमा आएको रहेछ। सारा वृत्तान्त सचित्र, सदृश्य प्रोफेसरले कथित पतिब्रता श्रीमतीबाट पाएका थिए। त्यसपछि घरमा उनी दोस्रो दर्जाको सदस्यको रुपमा विस्तारै बोल्ने र आवश्यक भएको खण्डमा मात्र घरबाहिर हिड्डुल गर्ने शर्तमा सहमत भएका थिए। केही बोल्दा वा कहीँ जाँदा श्रीमतीको अनुमति अनिवार्य थियो।
यो इतिश्री वृतान्त प्रोफेसर मित्रले नै मित्रमण्डलीमा न्यास्रो अनुहार लाएर बकेका थिए। त्यसपछि श्रीमतीले उनलाई देविथानमा लिएर गएकी थिइन् र आइन्दा कहिल्यै यस्तो नगर्ने भाकल गर्न लाएकी थिइन्।
तर मित्रको मुखले एउटा वाक्य निकालेपनि भित्रीमनमा भने ‘देवि म कहाँ सक्छु यस्तो पवित्र काम नगरी बस्न! यो दर्शन त श्रीमतीको जोडबलमा मात्र भएको हो। मेरो मनको दर्शनका बारेमा हजुरलाई ज्ञातै छ। जो नारीशक्ति हजुर पर्नुभयो। सबै महिलाका समस्या र क्रन्दन साझा नै हुन्। मेरो स्तुतीलाई बुझीदिनु होला।’
मित्रको लीला अपरम्पार थियो। उनले आफ्नो प्रतिभा सानो उमेरदेखि नै देखाएका थिए। सानो उमेरमा ठूलो मान्छेको अभिनय गरेर कथित क्रान्तिको नाममा उनी पनि गाउँका चोथालेहरुसँग मिलेर लालपर्चा बाँड्ने काममा लागेका थिए। त्यही क्रममा उनले विद्यालयको कक्षा छोडेर महिला समानता, दलित आन्दोलन र बालबालिकाको रक्षाको निम्ति आयोजन हुने कार्यक्रममा भाग लिन्थे।
त्यही सभाबाट मनपरेका फूलजस्ता बालिका टिप्ने र सिउँरिने काम गर्दथे। प्रोफेसरको शाश्वत सत्य, उनीलाई थाहा छ की हामी संगतीलाई, बाँकी समाज उनले लेखेको बकेको शास्त्र पढेर बसेको छ।
साँझपखको नित्यताका बारेमा बोल्दै भन्थे उनी ‘सहयोगीले खाना पकाउँछिन् नत्र श्रीमती भइहालिन्। खाना पस्कने श्रीमतीको पुरानो बानी अहिलेसम्म पनि गएको छैन। खाना खायो, त्यसपछि एक्लै कोठामा पस्यो। संसारभरिका शुभचिन्तकलाई निहार्यो।
मोबाइलको पातोमा प्रतिक्रिया जान्नलाई कामबल्छी फाल्छु र भन्छु- म कोठामा एक्लै छु, श्रीमती अर्को कोठामा छिन्। प्रिय, अब त्यो अभावको अभिनय तिमीबाट होस् भन्ने चाहना मेरो छ। शुभचिन्तकले अरुमार्फत मेरो बारेमा सुनेर बनाएको धारणाभन्दा मेरो असली रुप प्रितकर लाग्छ क्यारे! उनी राजी हुन्छिन्। पहिले विद्युतीय पातोमार्फत तात्नलाई, तत्पश्चात सशरीर अवतारमा ओर्लनलाई।’
सोसल साइटमा भेटिने युवतीहरुलाई गजबको अफर हुन्छ प्रोफेसरको। केही भेटपछि उपसंहारमा पुगीहाल्ने उनको अचुक बानी छ। उनको अन्तर्मुखी प्रतित हुने तर सार्वजनिक भइसकेको बानी बारेमा श्रीमतीलाई अक्षरंश थाहा छ। किनकी उनी पनि कुनै बखत यसरी नै कुटील बल्छीमार्फत घुम्रिएको केशमा बल्झन पुगेकी थिइन्।
रहस्यमयी खप्परमा मैले थाहा नपाएका सुत्रहरु छोपिएर बसेका होलान् भन्ने थियो। तर उनको आकाशगंगाको आँकलन त्यसै-त्यसै स्खलन भयो जसरी प्रोफेसरको नित्यक्रम साँझपख हुन्थ्यो वा बिहानी प्रहरमा ब्युझन्थ्यो। प्रोफेसरले कैयौँपल्ट आफ्नो निरस दाम्पत्य जीवनका बारेमा बेली-विस्तार हामीमाझ लाएका थिए। जहाँ उनकी हालकी श्रीमती, पूर्व-प्रेमिका हुनु पहिलेका प्रेमीहरु उपरको इर्ष्या क्षयरोगजसरी फैलीरहेको थियो।
एक आम मगन्तेको भेषमा ढोका कुरेर, गल्छेडो रुँगेर जो प्राप्ती उनले हात लाएका थिए। प्रेमिका पाउनलाई आत्महत्यासम्मको धम्की दिन सक्ने उनीसँग परिवारले खनीदिएको भिरालो बाटो थियो, त्यहाँ उनी इन्धन बन्द गरेर मोटर चलाउँथे। उनी भन्थे-
‘यसरी चलाउँदा दोहोरो फाइदा हुन्छ, पहिलो परिवारले मोटरको आवाज सुन्दैन। दोस्रो, इन्धनको बचत हुन्छ।’
साहित्य पढेपछि साहित्य लेखनमै आउनुपर्छ भन्ने छैन। धेरै शिक्षक पेशामा रम्दछन्, केही पत्रकारीतामा मेरुदण्ड दोब्राउँछन् र भक्तिगान लिप्छन्, केही पर्यटनमा हात हाल्छन् र गाइडबाट उक्लेर होटल, ट्राभल मालिकसम्म बदलिन्छन्। मित्र प्रोफेसरको गुजुल्टाभित्र सञ्चारको भूत पनि पसेको छ।
रुपचन्द्र बिष्ट काजीको थाहा नपाए पनि उनले इतरका पात्रले लालटिन बालेर बालटिन बोकेर खोजेको खोज, सोच र मनोक्रान्तिको घुमाउरो प्रश्नवाचक चिन्हमा फसेर कैयौँ प्रेमिकालाई नागरुपि टिकुली, औँठी र झुम्का उपहारमा टक्राएका थिए।
जाडोमा उनले लाउने ओभरकोटको झझल्को उनले अंग्रेजी साहित्यकारको प्रभावमा परेर लाउने गर्दथे। भन्थे- यसरी लाउँदा मेरो खल्तीको गहिराइमा गज्ज्बको कृति पाण्डुलिपी अवतारमा बसीरहेको भान हुन्छ। सोह्रखुट्टेको पाटीमा उनी सधैँ साँढेको झुण्डलाई हेर्न जाने गर्दथे, कहिले भुस्याहा कुकुरहरुका जत्था यिनका प्रिय दृश्यहरु हुन्थे।
पशुपति रुँगेर बसेको साँढेले केबल चिसो फाल्छ भन्थे उनी। एकबारको कुरा हो, उनलाई सोह्रखुट्टे ओरालोमा हुत्तिएर आएको साँढेले धक्का दिँदा मुर्छा नै परेका थिए। हामी साथीहरु मिलेर सहयोग राशी जम्मा गरेका थियौँ र अस्पतालको आपत्कालीन डेस्कमा दाखिला गरेका थियौँ।
हम्रा प्रिय प्रोफेसर मित्रले साथमा अर्का अभिन्न मित्र लिएर आउथे, पछि गएर उनी पनि हाम्रो समूहको अघोषित सदस्य बने वा मानार्थ सदस्य पाउनलाई रुख्खासुख्खा हाँसोको विनय गरे। उनको खास नाम उनी आफैलाई मन पर्दैनथ्यो। नाम वा जातिथरमा अरुचि राख्नेहरु अपूरो नाम वा नयाँ नाम बोकेर हिँड्नेहरु झैँ प्रोफेसरका मित्र पनि एक भइगए।
उनलाई सबैले ‘बिकु डन’ भन्थे। बिकुडन अखबारी लेखन र टिभीमा कार्यक्रम सञ्चालन गर्थे। उनको अग्लो कायाको काइदा हेर्दा उनको मुलमा संदेह गर्ने ठाउँ प्रशस्त थियो। पश्चिम नेपालमा तपसिलका कृत्यहरु सामान्य नै हुन् तथर्स, बिकुडनको रसविहीन हाँसो र निख्रदै गएको तालुतन्तुमा नेताहरुले ओइराइदिएको मदिराका खतहरु बाक्लै थिए।
प्रोफेसर झैँ बिकु डन पनि लेख्ने प्रयास गर्दथे। तर उनको लेखनी पाँडे पुराणभन्दा माथि उठ्न सक्दैनथ्यो। नश्लचेतको चोपले च्यापिएको भान गर्दै सधैँ हिन्हिनाउँने बिकु डनले पत्रकारिताका आडमा धेरै रीतका अण्डाहरु फुटाउन सफल भएका थिए। उनको अश्लिल श्रमलाई छोप्न बिकु डन धर्मगुरुको शरणमा जाने गर्दछन्।
बिकु डनका दुव्यर्सनी धेरै छन्। तिनलाई लुकाउन उनी काँचको पर्दामा वाणीविलाश वा भनौँ, तर्कको भंगालोमा पस्न पुग्छन् र मुहारमा खरानी धस्सछन्। बिकुले बोलेको बोली कहिल्यै कर्णप्रिय भएन तरपनि उनलाई पर्दामा आउने र बोल्ने कुलतबाट उठ्न सकेनन्। फेरि उनले समाएको अक्षरखेतीमा पनि सबैभन्दा जानेको बुझेको मै हुँ भन्ने हात्ती भ्रान्ती लिएर पाठकलाई ठग्ने काम गर्न सुरु गरेको दशर्कौ भयो, अब ती यिनलाई लत वा कुलत के भन्ने बोकेर हिँड्ने बोकाको सिङ भइगयो।
पत्रकारको परिचयपत्र बोकेर विदेशी दुताबास वा नेता र उच्चपदस्थ व्यक्तिहरुका घरसम्म पुग्ने र भत्ता बुझ्ने कर्मसँगै उनले मन्द-मन्दरुपमा आग्रह गर्ने अमूल्य मदिरा आग्रहलाई धेरैले सामान्य रुपमा लिने गर्दथे। बिकु यसरी मालिकका घरदैलोमा पुग्दथे र कुत उठाउँथे मानौँ, उनको त्यो जन्मसिद्ध अधिकार हो। समाजमा पत्रकार, साहित्यकार, कलाकार आदिको मदिरासँगको मितव्ययिता कुनैबेलाको मितज्यू प्रहरभन्दा प्रगाढ हुन पुग्थ्यो।
हाम्रो जमातमा गफिदै गर्दा प्रोफेसरले बिकुडनको हात समाउँदै भने-
‘साइदुआ ब्रो! तिमीले चाकडी गरेको, फिटान भएर रक्सि खाएको, सौजन्यमा विदेश गएको उपलक्ष्यमा नि यात्रा भाषण? आफ्नो निवासमा जोइटिग्रे भएर भुइँमा सुत्ने तर अरुको सोफामा वमन र पिशाव गर्ने छुट तिमीलाई कसले दियो? सक्छौँ, आफ्नै पैसाले रक्सि धोक्, हैन भने अरुको खाने र त्यही प्रसंगलाई बढाईचढाई गरेर आफैलाई ठूलो बनाउँने मपाइँ लेख रचनाको गैरकानुनी आख्यानीकरण?
मुलापात कुरा बुझ्! यो स्वास्थ्यको संकटकालीन मौसममा तिम्रो लेख छापिएको पत्रिका, त्यो पनि अर्ग्यानिक शौचालयमा राख्ने काम बाहेक अरु कुनै सम्भावना र उपादेयिता छैन! साथीहरु तपाईहरु नै भन्नोस् न, यो बिकु डनले लाएको लुगा मात्र होइन्, जुत्ता र मोजा अनि यसले कपालमा लाएको चमेली तेल पनि उधारोमा लिएको छ वा सौजन्यमा लिने गरेको छ।’
‘मेरो अप्रिय मित्र बिकु! सहरका कैयौँ शयन कक्षहरुमा सुरक्षित सल ओढेर छिरेको मैले देखेको छु, किनकी म पनि त्यसरी नै हिँड्ने क्रममा जम्काभेट वश भेटेको हुँ यो बज्जेलाई। तर मैले ती रतीरागका गल्छेडाहरु बारे कहिल्यै लेखेको छैन। कुनै औपचारिक सभामा भनेको छैन तर यो मुला हो कि फोक्सेमुला? लुते! बाउन्सर डन भए भन्दैमा अरुलाई होच्याएर लेख्न वा भन्न मिल्छ त!
यसले गरेको पाप त यसका गुरु ओशो वा रिम्पोछे वा मृतकिशुजीको अमृत आत्माले पनि पवित्र बनाउँन सक्दैन। छोरी उमेरका युवतीहरुसँग यसले कटुता साँधेको छ, दिदी-आमा उमेरका महिलाहरुसँग महिला समानता बारेको तर्कज्ञान लडाउँदै हिहि गर्दै महिनावरी नहुनुको फाइदा उठाएको छ। श्रीमतीको घर, खेत, खल्यानमा नाचेको छ, अहिले आफैलाई महान् आत्मा भन्ठान्छ र त्यही तातोमा फलाकीरहेको छ।’
चक्के प्रोफेसरले बिकु डन उपर आफ्नो शोधसहितको मन्तव्य राखेपछि साथीहरु सबैले ताली बजायौँ। बिकु डन अनन्य मित्र प्रोफेसरले गरेको कुराबाट प्रशन्न त भए किनकी जो साँचो कुरा बोले उनले तर बाँकी जीवन मेरो शैलीमा बाँच्न पाउनुपर्छ भन्दै पातलो पाइला सार्दै नजिकै रहेको रुखमुनि छेको पारेर लघुशंकामा जुटे। त्यसपछि उनी यता छलफलमा सरिक होलान् भनेको त रुखको छाया छल्दै झाडीतर्फ गए।
सायद उनी खुसीको खोजमा निस्किएको हुनुपर्छ। खोल्सा, झाडी र पहरामा उनले भेट्ने वनफूल टिपेर सौजन्यदाताहरुसँगको सम्बन्ध सिलाउन गएको हुनुपर्छ। दशकौँ पहिले मन सिलाउने गीत लेख्ने राजेन्द्र थापालाई वाणीअर्पण गर्ने अरुणा लामाको मेलोडी बैरिएर आयो र बिकु डनलाई अलप बनाइ गयो।
तत्पश्चात लामो समयसम्म प्रोफेसर एक्लै आउन थाले हाम्रो भेलामा। सधैँ झैँ सभाको अन्त्यमा उनी साथीको खल्तीबाट चुरोट लिदैँ बोले- ‘घरमा चुरोट मनाही छ, साथी मलाई एक खिल्ली चुरोट बालीदेऊ, अन्यथा घरमा जिउँदै बल्नु त छदैछ!’
फेरि बोले उनी ‘म भोलिको भेलामा एकजना साहित्यकार लिएर आउदैछु। उनका कविता सुन्न तयार रहनुहोस्। उहाँलाई समाज वरिष्ठ साहित्यकारका रुपमा जान्दछ। त्यसैले उहाँका नांगा रचनाहरु सुन्न पनि सक्नु हुनेछ साथीहरु। उनका रचनामा सानोतिनो भोल्टेज नै प्रवाहित भएको हुन्छ। उहाँको पौरुषत्वको वरिष्ठरुप पनि देख्न सकिनेछ।
उहाँ र म साझारुपमा प्रेरित भएका पात्रहरु धेरै छन्। हामी दुईको सेतु बनेका छन् नारद खड्का। खड्काका पातला औँलाले छामेर छलेर ल्याएका पर्वका पाठीहरुको रसिलो मासुको स्वाद नेशनल ट्रेडिङ, साल्ट ट्रेडिङले बेच्ने बुढा बाख्रीको तुलनामा धेरै नै सुस्वादु फलमासु हुन्छ। त्यही स्वाद फड्कादै कविवर उर्फ, साहित्यकार भोलिको हाम्रो अतिथि।’
भोलिको भाले पनि बास्यो। हामी सबै जसै दिन ढल्दै गयो, साँझको भेला धैर्यतापूर्वक पर्खीरहेका थियौँ। वरिष्ठ साहित्यकार आउनु भयो प्रोफेसर मित्रले चलाएको पहेलो कारको अघिल्लो सिटमा बसेर। उहाँले सिटबेल्ट बाँध्नु भएको थिएन।
ओर्लदै कवि जिले भन्नुभयो- ‘सहपाठीहरु हो, बुढो बोकाको तर्फबाट अभिवादन! मलाई सिटबेल्ट र पाइन्टमा पेटी बाँध्नु एकै लाग्छ र झिँजो लाग्छ। दुर्घटना हुँदा सिटबेल्टले बचाउँछ भन्छन् तर मलाई खोल्न नपाइ मान्छे मर्छ जस्तो लाग्छ र कहिल्यै बाध्दिनँ। विदेशमा पनि लाएजस्तो गर्ने तर सिटबेल्टले सिटलाई बाँधीदिन्छु। अर्को कुरा पाइन्टको पेटी अर्थात् बेल्टको कुरा गरौँ। युवा उमेरमा उक्लेदेखि मैले पेटी लाउने झन्झट गरेको छैन।
शारीरिक कवज सुरु र अन्त्यमा पेटीको भूमिकालाई मैले किन महत्व दिने? म त्यसको कर्कश आवाज सुन्न सक्दिनँ। त्यसले मेरो कम्मर बाँध्ने निहुँमा मेरा भावनालाई पनि अठ्याउँछ। तसर्थ म पेटिकोटको शुभचिन्तक भएपनि पेटी विरोधी हुँ। त्यो पेटी पाइन्टमा बाँध्ने होस् कि सडकको पेटी। म चिल्लो मांसमार्गमा प्रातः भ्रमण गर्न रुचाउँने मान्छे हुँ, दुवैखाले पेटीको घनघोर विरोधी। मेरो कामज्वरोग्रस्त परिचय प्रवेशमा कुनै शंकाको चोप नचुहाउनुहोस् सहपाठीहरु। आउनुहोस् अघि बढौँ।’
कविले कविता सुनाउनु भयो। कविताको शिर्षका ‘झोल’ थियो। भावार्थ यस्तो थियो-
'जीवनका साँघुरा अध्यारा गल्लीहरु मेरा गन्तव्य बने। तिनको पहिचान मेरो युवा उमेरसँगै भएको थियो। नगरको सर्वाधिक तातो ठाउँ ठमेलको कुरा हो। पकानाजोल क्षेत्रपाटी सडकखण्डको एकतले माटोको घरमा म बहुप्रतिक्षित पाहुनाको रुपमा गएको थिएँ। महिला मित्रहरुले मेरो सत्कार राजशी छाँटमा गर्नुभयो।
मनपर्ने पेयसँगै शितलताता प्रदान गर्ने सितनको स्वाद लिएपछि महामेलातर्फ लाग्ने प्रण थियो तर सबै चकनाचुर भयो। मेरो खल्तीको दाम सकिदै गयो, महिलावृन्दको स्वागतमा खडेरी पर्न थाल्यो र त्यसको उपसंहार म उनीहरुको माथिल्लो कोठामा थुनिनु पर्यो। ठमेलको झोलमा धेरैपल्ट डुबेर उत्रेको मलाई पकनाजोलको तातो झोलले निकै झुलायो। राति अबेरसम्म कुनै उपाय लागेन।
कसरी बाहिर निस्कने होला भनि चिन्तन गरीरहेका बेला मेरो मनचिन्तनका सहकारी निकुडनको सम्झना आयो र उनै मार्फत माथिल्लो कोठरीबाट उम्कन सफल भएको थिएँ। तसर्थ, अब उप्रान्त सबै प्रकारको झोलपदार्थ बर्जित गरेको छु मेरो खानामा। अहिले त सुगरलेभल पनि बढेको छ, सुगरबेबीको अतिरञ्जना सुगरड्याडी बनेर मेरो मनको बाकसमा बसेको छ।'
अर्को क्षणको कुरा गरौँ। मेरो ‘वनभोज’ कविता तपाईहरु कथामा अनुवाद गरेर बुझ्नुहोला। विषय, घटना यस प्रकार रहेको छः
'धेरै पहिलेको कुरा हो। वनभोजको बेला थियो। अहिलेका हाम्रै छिम्मलका सबै वरिष्ठहरु जतिबेला कनिष्ठ थियौँ, ती सबै बालाजु पार्कमा भेला भएका थियौँ। मेरो उचाइ प्रोफेसरको जस्तो नभएपनि राजेश्वर देवकोटाभन्दा अग्लो र लोकेन्द्रबहादुर चन्दभन्दा सानो थियो। भोजमा साहित्य मात्र नभइ संगितसँग जोडिएका व्यक्तिहरु पनि सहभागी थिए।
अहिले हामीले स्वरसम्राट भनेर चिन्ने नारायण गोपालको ख्याती गाइनेका रुपमा गनिन्थ्यो र हामी सबैले उनलाई गीत गाउने फर्माइस गर्यौ तर उनले भाउ खोजेर गाउदिनँ भने। मेरो कन्सरी तात्यो र कन्दनी खोलेर पावरवाला चश्माले अर्को चश्मा फुटाउन तयार भइ उठेको थिएँ। पछि उनले गीत गाए/गाएनन् वा मैले के सुनेँ, त्यो मलाई केही थाहा छैन।
घरमा आउँदा मेरो काँधमा पाइन्ट थियो। बुसर्टका बटनहरु खुल्लै थिए। बाइस धाराको पानी पिएको सम्झना बाहेक भोज खाएको वा गीत सुनेको क्षण मेरो स्मृतीमा अटाएको थिएन। घरमा श्रीमतीको स्वागत कुँचोद्वारा भएको थियो। तत्पश्चात आजसम्म म कुनै वनभोजमा सरिक भएको छैन।'
सभाको साइनो नभएका वरिष्ठ साहित्यकारको पहिलो दिनको प्रवेश नै उनलाई आजीवन सदस्यता दिलाउन पर्याप्त थियो। सर्वसहमतीले अमर माइन्युट गरेर कविलाई मानार्थ सदस्य प्रदान गर्यो। हाम्रो हाँसो र ताली सोसेर कवि प्रोफेसरको पहेलो कारमा प्रस्थान गरे। उनीहरु दुवैको गन्तव्य एकै बन्यो वा छुटिए, त्यो रहस्य तिनीहरुलाई थाहा छ तर हामी भने आउने सभाको अन्तरंगमा डुबिरहेका थियौँ।
सभा समापनपछि शान्तिको मौकामा चौका हान्दै एक यायावर बोल्यो। परिचित शरीरहरु जब औपचारिकताको जामा लाउँछन्, ती नचिनीनेगरी बोल्दछन् र हामीलाई नै विस्मृत तुल्याइदिन्छन्। चाकडीको कौशलता ओढेर, आउने दिनको लोभमा रातो मनमौजी कार्पेटमा नवअतिथिलाई हिँडाइरहेका हुन्छन्।
निमेषको रातो कार्पेटले डोर्याउने घरभित्रको घारमा भएको महको लोभमा भन्कीरहेका मोहक शरीरी संगित धेरैको नियति हो सायद। सपना हेर्न सुत्न पल्केका स्वप्नदर्शीहरुको यो समाजमा सत्यको नगडा बजाउँने दमाहा दाइ कहीँ टाढाबाट मृत्युको संकेत दिइरहेको छ।
प्रिय पात्र प्रोफेसर, समाजको अगुवा कर्ता हो तर ऊ आफै बिलखबन्दमा परेको छ। विवेकलाई बलवान छाप खैनीको डिब्बामा थुनेको छ। एलोपेथी बिक्रेता भएको हुंकारसँगै ऊ नेचुरोपेथीका बिक्रेता र उपभोक्ता दुवैको ढाड भाँचिनेगरी तीव्र प्रहार गरीरहेको छ। उससँग केही हुँदा केही नभएझैँ बात मार्थ्यो। अहिले अभाव र चिन्तनको गरिबीमा घिस्रीरहेका बेला धेरै भएको भान पार्न ऊ बहुलाकाजीको सिको गरीरहेको छ र नगरमा हिँड्ने साढेहरुको अण्डकोष नियालीरहेको छ।
अप्रिय पत्रकार समाजको चौथो लिंगीको अगुवा कार्यकर्ता हो। ऊ आजीवन संरक्षकत्व लिन चाहन्छ र सौजन्यमा मदिरा पिउन चाहन्छ र लडेकोमा कारण खोज्न प्याजको दाना लिइ अम्बाको रुखमा गइ बसेको छ। अक्षरखेती उसको पुर्ख्यौली मौजा हो, तसर्थ उसको भ्रम देश बाहिर पनि त्यस्तै हुन्छ जस्तो रवाफ यहाँ छ।
उसको ज्ञानको वाफको शक्तिलाई चियाको कित्ली हल्लाउने बाफसंगितले चियाएर हेर्छ। बिकु डन कुनै बिकाउ मालको रुपमा एकजोडा हात्तीछाप चप्पल र एकजोडी गोल्डस्टार हरियो जुत्ता लिएर गुह्यज्ञानको खोजमा निक्लेको छ। यही चिनारी पोतेको अग्लो कद भएको व्यक्ति भेटियो भने नचुक्नु होला चिन्नलाई।
वरिष्ठ कवि समाजको ऐना बनेर नगरको डाँडोमा बसीरहेका छन्। बाक्लो सिसा भएको चश्मा लाउने, औसत उचाइभन्दा थोरै सानो र कुरा ठूलो आवाजमा गर्ने वर्ष ६० नाँघेको सठिया बुढोलाई कतै सुनिया भने चश्मा खोलेर चिन्नु होला। वरिष्ठ हुनुको ब्याच उसको छातीमा टाँसिएको हुने छैन र पनि हामी सोही रुपमा भनिरहनेछौँ, चिनीरहेने छौँ। र लाटो इतिहास पनि सोही नित्यताको ओडारमा सूचना ओढेर बस्ने छ।