बिहानको तरकारी पकाउने कुनै चीज पनि भेटिन साइँलीले। असोज महिना भए पनि बाहिर पानी झमझम वर्षेको पनि धेरै दिन भइसक्यो। पारिपट्टि पहिरोले गाउँ नै सोहोरेर लगेपछि उसलाई दिनसँग पनि डर लागेको छ। लहरै एकै स्थानमा दर्जनौं लाशहरू एकैचोटि जलाउँदा सारा संसारै विरक्त लागेको थियो।
सारा गाउँ नै रुवाबासी भएपछि सम्झाउने मानिस समेत कोही थिएन। आफै रुँदै आफैलाई सम्झाउँदै मानिसहरू सम्हालिएका थिए। जन्मेदेखि आजसम्मको जिन्दगीमा दिल खोलेर हाँस्न पनि जानेकी छैन उसले। गोठमा रहेका दुई वटा गोरुलाई भोकै राख्न त भएन। प्लाष्टिक बेरेको थोत्रो घुम ओडेर साइँली भोकै घाँस काट्न हिँडी।
कम्मरबाट हँसिया र टाउकोबाट डोको-नाम्लो हटेको दिन थाहा छैन। जीवन गुजारा गर्नलाई गाउँले जीवनमा सबैको जिन्दगी उस्तै भएपछि खासै गुनासो पनि नरहने रहेछ। दैनिकी नै बनेपछि आफै रुटिन अनुसार नचली सुख पनि थिएन।
अब त जीवनमा कति नै बाँचिन्छ र, ८० वर्ष हिउँद-बर्खा खेपिसक्यो त्यो ज्यानले। न हिँड्दा खुट्टा राम्ररी टेकिन्छ न आँखा नै राम्ररी देखिन्छ तर पनि साथी भनेर गोठमा दुई वटा गोरु पालेकी छ।
खरबारी जाने बाटोमा बर-पीपलको रुखमुनि चौतारी बनाएको छ। त्यही छेउमा एउटा चौर पनि छ। धेरैचोटि यो चौरमा भेला भएको, भाषण गरेको, ताली पिटेको देखेकी छ उसले। फूलैफूलका मालामा छोपिएर चिन्नै नसक्ने भएका नेताहरु पनि देखेकी थिई। ठूलो आवाज निकालेर बोल्ने माइक पनि सुनेकी थिई उसले।
त्यही माइकबाट मीठा-मीठा सपना बाँडेका थिए उनीहरूले। त्यत्रो आवाज आउने माइकमा पनि अझ कराएर भाषण गरेका थिए। पहिले पनि भाषण गर्थे, अहिले पनि भाषण गर्छन्। एकपटक नेताले भाषण गरेका बेला निरङ्कुशता फालेर प्रजातन्त्र ल्याएको भन्थे। एकतन्त्र फालेर बहुदल ल्याएको भन्थे।
व्यवस्था फेरियो अब नेपाली जनताले आफ्नै आवाज बोल्छन्, दुखका दिन गए, आफ्नो शासन आफै गर्छन्, स्वतन्त्रता पाए, देशको विकास गर्छौं भन्थे। यो सुनेका बेला आमा-छोरीलाई एउटै मानिसले गरेको दुर्व्यवहार सम्झेर मन अमिलिएको थियो। भर्खरै टुसाउन लागेका छाती टोकिदिएर रगताम्य पारिदिएको, आँखाको अगाडि आमाछोरीले आफ्नो नाङ्गो शरीर सम्हालेर अँगालोमा बाँधिएर घन्टौँ रोएको पीडाले चियाउन आएको थियो।
आजसम्म कसैलाई सुनाउन नसकेको पीडाले आफ्नै दिललाई चसक्क घोच्दा आँखाबाट झरेका आँशुलाई मजेत्रोको फेरले पुछेर मुसुक्क हाँसेकी थिई साइँली। त्यहीबेला उसले आफ्नी आमालाई पनि सम्झी।
पुनः अर्कोपटक त्यही चौतारीमा विशाल सभा बसेको थियो। फेरि पहिलेकै जस्तो चहलपहल थियो। विवाह मन्डप सजाए जसरी चौतारा पनि सजाएको थियो। सबैका घर-घरबाट फूलबारीका फूल टिपेर माला बनाएर सिँगारेका थिए। साइँलीले पनि आफ्ना बारीका फूल टिपेर माला बनाएकी थिई। त्यस दिन पनि उस्तै रङ्गरोगनका गानाबजाना थिए। मानिसहरू खुसी भएका जस्ता देखिन्थे।
चौताराका छेउमा उस्तै खालको मन्च सजाएर राखिएको थियो। सायद ठूलै मानिसको जमघट हुनुपर्छ। गाउँलेहरू उत्साहित भएर भेला भएका थिए। एकैछिनमा हेलिकप्टर आएर बस्यो। गाउँमा पहिलोपटक यति नजिकबाट हेलिकप्टर देखेका केटाकेटी, बुढाबुढीले निकै परिवर्तन भएको ठाने। हेलिकप्टरबाट आएका नेतागणलाई स्वागत गर्ने क्रम जारी रह्यो।
साइँलीका छेउमा आइपुग्दा अबिर र मालाले छोपिएका महिला-पुरुष मानिसका आकृति मात्र देखी तर पनि माला र गुच्छाले स्वागत गरी। सबैले भाषण गरे। लोकतन्त्र, गणतन्त्र आयो रे, जनताका चाहना इच्छा पूरा हुने भए रे, हत्या-हिंसा, बलात्कार नहुने रे, अन्याय अत्याचारले अब डाँडा काटेका रे, देशमा भोका, नाङ्गा मगन्ते कोही नहुने रे। सुखै सुखमा जनता बाँच्नेछन्। जनताका दिन फिर्ने छन्। अब यस गाउँको विकास हुनेछ।
धेरै जनाले यस्तै भाषण गरे। महिला मुक्ति, वर्गीय मुक्ति अनि खै के-के मुक्ति हुने रे, महिला पुरुष दुवैले यस्तै भने। भाषण गर्नेमध्ये एक जनालाई उसले चिनिहाली, जुन सामूहिक बलात्कार गर्न कुनै दिन साइँलीको कुटीमा आफ्ना ग्याङ्गसहित हाजिर भएको थियो। बोलेमा मारिदिने धम्की दिएर गएका थिए उनीहरू। त्यहीँबाट जन्मेको छोरो जनयुद्धमा मारिएको थियो तर ऊ जीवनभर बिना बाबुको नामबाट परिचित थियो।
फेरि साइँलीको मन कुँडियो। पालुवा पलाउन लागेको मन पनि पटक-पटक डढेलोले खाइदिएको थियो। तालीको गड्गडाहटले साइँली झस्की। खै के के भाषण गरे हुन्? यही चौतारीमा सबै भाषण गर्छन्, बच्चादेखि बुढासम्म, महिला-पुरुष सबै। समूह, क्लब, चौतारा, अनि खै के-के केन्द्रहरु रे। आफ्नो हक अधिकारको माग जोडदार रुपमा राख्छन्। कोही भाषण खेतीमा लागे, कर्म गर्ने हात भाषणले वाक्क भएर विदेश भासिए।
डाँडाको चौतारीबाट साइँलीले तल बेसीमा हेरी पहिले धान फलेर पहेलै हुने बेसी अहिले बाँझै छ। गाउँघरमा हेरी यो बेलामा दसैंको रौनक बोकेर युवाहरू चहलपहल गर्न थालिसकेका हुन्थे, अहिले सुनसान छ। सायद सबैले भाषण गरेरै विकास भएको हो कि! भाषणको विकास।
यही चौताराबाट धेरैले भाषण गरे। आज साइँलीलाई पनि भाषण गर्न मन लाग्यो। हँसियालाई माइक बनाई अनि जोडले चिच्याउँदै बोल्न थाली- विकास हुने रे, सुख आउने रे भन्थे त! तल्लाघरे माने, माथ्लाघरे साने, माझगाउँको हरि, ठूलाघरे पुकुली अनि मजस्ता साइँलीको जीवन किन उस्तै छ? गाउँको जीवन किन दु:खदायी छ? गाउँमा किन सबै भोकै छन्? यो चौतारो किन चुपचाप सुनिरहन्छ?
म्याकुरीका पेटको बच्चा कसको हो? हरिकृष्णेको बाउ को हो? रामकलीलाई कसले मार्यो? भोको पेटमा खुइली किन झुन्डेर मरी? रमितालाई कसले बेच्यो? माया किन उपचार नपाई अकालमा मरी? गाउँमा रहेका बालबालिकाको तिर्खा कसले मेटाउने? गाउँका युवा कहिले फर्कन्छन्? यो गाउँ फेरि कहिले हराभरा हुन्छ? केटाकेटीको पढाइ कहिले सप्रन्छ? साइँली किन सडकमा बस्छे?
शर्मिलाले घरबारी बेचेर पढाएका छोराछोरी किन सहरमा बेरोजगार भएर बसिराछन्? ए माइक, तँ कति झुट बोल्छस्? कति ठूलो आवाजमा कराउँछस्? सुन्दासुन्दै जीवन बितिसक्यो, भाषण होइन काम गर! काम गर! साइँलीको आवाज सुन्ने न कोही थियो त्यहाँ न ताली बजाउने भीड नै। कराउँदा कराउँदै साइँली चौतारामा ढलिसकेकी थिई, सधैँका लागि।