एकअर्काको अँगालोमा बाँधिएर घन्टौं बिताएको पत्तै पाइएन। माया गर्नेहरुको लागि जहिले पनि भ्यालेन्टाइन डे हुने रहेछ। डाँडाको टुप्पोबाट तल अविरल बगेको नदी र त्यसले बनाएको सुन्दरता हेर्दाहेर्दै जिन्दगीलाई सोच्न पुगेछु।
कति बाङ्गिएको छ यो नदी। अजंग रुपमा ठडिएका डरलाग्दा पहाडका काखमा लुटुपुटु गर्दै सबैलाई खुसी पार्दै कसरी रमाएर बग्न सकेको होला? हामीले हेर्दा यति राम्रो देखिने नदी र पहाडका पनि त आआफ्नै पीडा र व्यथा होलान् की?
उनीहरुको आवाज सुनेर बुझ्न नसकेपछि सुन्दरतामै रमाउँदै गर्दा नदीको अदृश्य स्थानसम्म पुगेर मेरो मन टक्क रोकिन्छ। आफ्नो जिन्दगी नै रोकिएजसरी मेरा आँखाबाट अनायसै आँसु झरेछन्। मेरो हालत थाहा पाएर उसले विस्तारै सम्झाउँदै भन्यो- धेरै चिन्ता नगर न भो! हिजोलाई बिर्सेर भोलिको चिन्ता नगरी आज रमाऔँ।
हुन त हो तर भनेजस्तो कसरी हुन्छ र, मन त हो जहिले पनि दगुरिहाल्छ नि। हामी अलि पर सरेर एउटा ढुंगामाथि बस्यौँ। तलतिर पहराको छाती खोपेर बनाएको सहरको सुन्दरतालाई नियालेर सुन्दर जीवनको कल्पना गर्न थाल्यौँ।
मैले उसको अनुहारलाई हेरेँ। निधारमा लागेको चोट अलि बसेजस्तो भएछ। टाउकोमा बाँधिएको पट्टी हेरेर कल्पना गरेँ, हिजोको कुरा गर्यो भने त उसको त्यो घाउ झनै दुख्दो हो, दिल पनि चिरिँदो हो चररर्र…।
आफ्नै सोचाइले मलाई पगालेछ। आँखाबाट झरेका आँसुलाई स्वच्छन्द बग्न दिएँ। उसको निधारको चोटमा विस्तारै छुन खोजेँ। गम्भीर हुँदै उसले मलाई सोध्यो- 'तिमी मेरो साथ पाएर खुसी त छ्यौ?'
मनका कुरा बोल्न शब्द निस्कन नसकी पहराको फेदमा हुर्कदै गरेका बिरुवा जसरी अड्किएँ। म भएभरको बल निकालेर उसका दुवै हातलाई बेस्सरी समाउँछु र भावनात्मक जवाफ दिन्छु। जवाफ पाएर होला ऊ पनि एकोहोरो टोलाउन थाल्छ। म उसको शरीरमा आफ्नो शरीरलाई भरोसा दिएर एक्लै विगतमा डुल्न थाल्छु।
कक्षा आठमा पढ्दापढ्दै अंकुराएको प्रेम, किशोरावस्थाको सुरुआतमै कुर्कुरे वैँशले छोएको बेला यो मनले चाहेको त्यो मन। सबै साथीहरु सानैमा भागी विवाह गरेर जाने गरेको परिवेशले पनि सिकाएको हुन सक्छ।
वार्षिक परीक्षा सकेर हामीसँगै गाइवस्तु हेर्न जान्थ्यौँ। हाम्रो घर दश मिनेट जतिको टाढा भए पनि गाइवस्तु चराउने ठाउँ एकैतिर हुन्थ्यो। दिनभरी हामीसँगै खेल्थ्यौँ, गफ गर्थ्यौँ र एकअर्काको नजिक हुन्थ्यौँ तर पनि हामीलाई दिनभरीको समयले मन भरिदैन थियो।
हामीले विवाह गर्ने सल्लाह गर्यौं र म अजयको घरमा गएँ। गाउँमा सबैले यसै गर्थे। गाउँभरी हल्ला भयो- बिनिता त अजयसँग गई रे!
एकैछिनमा मेरा घरबाट मलाई लिन आए र मलाई लछारपछार पार्दै लगे। घरमा आमाले काम नपाएर दलितसँग जान लागेकी भन्दै एक झापड हान्नु भयो। आइन्दा नभेट्ने र कुराकानी नगर्ने वाचा गराउनु भयो। अजयको घरमा के भयो खै, उसले कहिल्यै केही भनेन।
हामी एक अर्कालाई हेरिरहन्थ्यौँ तर बोल्न छाडेका थियौँ। गाउँघर पनि गाइँगुइँ गर्दै सुनसान भयो सायद केटाकेटी भनेर माफ पाएका थियौँ की! मेरो मनले सधैँ अजयको अभाव महशुस गरिरहेको थियो, अन्जान मनले स्वीकारेको प्रेम खोजिरहेको हुन्थ्यो। उसलाई के थियो खै?
परीक्षाको रिजल्ट आयो, म कक्षा ९ मा पुगेँ, ऊ कक्षा दशमा। हामी एउटै स्कुलको छानामुनि एउटै ग्राउन्डमा थियौँ तर पनि मुखले केही बोल्दैन थियौँ। केबल मनको कुरा आँखाले गर्थ्यौं। आधाआधा मनले पढ्दै थियौँ।
यतिकैमा मेरो विवाहको कुरा भएछ। म अन्जानमै बेहुली बनेर कसैको घरमा पुगेँ। मन मुटु अजयकै जिम्मामा छाडेर शरीर पराइको बनाएँ। केही दिनमै मेरो लोग्ने विदेश गयो। म फेरि आफ्नो पढाइलाई निरन्तरता दिन आफ्नै घर फर्किएँ।
आफ्नै स्कुल र आफ्नै अजयको सामिप्यतामा। अजयले मलाई हेर्यो, मैले अजयलाई हेरेँ। चार आँखाका भावना साटासाट भए र टिल्पिलाए तर मनको आवाज निस्कन सकेन।
समय बित्दै जाँदा अजयले एसएलसी पास गर्यो। उसको सफलतामा मेरो मन रमायो तर व्यक्त गर्न सकिनँ। अजय अलिकति खुसी त देखिन्थ्यो तर प्रफुल्ल थिएन। ऊ नजिकैको उच्च माविमा पढ्न गयो, म पनि एसएलसी पास भएर उही स्थानमा पढ्न पुगेँ।
समयसँगै विगतमा खाटा बसाउन खोज्दै थियौँ। फेरि पनि समयले एउटै स्कुल र एउटै बाटो तय गरिदियो। हाम्रो मौनताले समाजलाई भ्रममा पारिदिएको थियो र म अर्कैको भइसकेकी थिएँ।
अजयले १२ कक्षा पास गरिसक्दा म १२ कक्षामा पुगिसकेकी थिएँ। सायद मनमा हिम्मत बढ्दै गइरहेको थियो। एक दिन अजयले मलाई बाटोमा कुरेर बसिरहेको रहेछ। हामीले एकअर्कालाई निकैबेर हेराहेर गरिरह्यौँ। वर्षौदेखि खात लागेर बसेका भावना एकाएक आँखाको भावले बोल्न थाले। धेरैबेरको मौनतालाई तोड्दै उसले मलाई बोलायो 'बिनिता!'
म एक्कासी डाँको छोडेर रुन पुगेछु। ऊ नजिक आयो। हामीले एक अर्कालाई अँगालोमा बाँधेर आजसम्मका पीडा रोएर पखाल्यौँ- निशब्द, निर्विरोध, निर्भय, आनन्द!
एकान्त वनमा बाल्यकालमा बसेको प्रेम छताछुल्ल भएर पोखिएको थियो, एउटा उदाउँदो कोपिला बनेर। हामीले नबोलेरै निकै समय जंगलमा बितायौँ। आवाजविहीनतामा पनि कति धेरै शक्ति लुकेको हुँदो रहेछ। हामी आफै छक्क पर्यौँ। विगतलाई सम्झेर मन रमाउदै थियो, यतिबेलै उसले मलाई बोलायो र वर्तमानमा ल्यायो- बिनिता!
मैले ओठ नखोलेरै भनेँ- 'हुँम्'
'बुबाको हात भाँचिएको छ रे!'
मेरो मुटु फेरि ढुकढुक भयो।
'मैले तिमीलाई भगाएको भनेर घरमा बितन्डा मचाएछन् पूरै गाउँलेले। आमा पनि भागेर अन्तै जानु भएको छ रे। दाइ पनि स्कुल पढाउन जान सक्नु भएन रे। भाइबहिनी पनि अन्तै कतै छन् रे।
हिजोसम्म समाज परिवर्तनका लागि भनेर लडाइँ खेल्ने रमाकान्त आज आफै हाम्रो घरमा ढुंगा हान्दै थिए रे। पूरै गाउँ नै लागेर हामीलाई उठिबास लगाए। धन्न हामी भाग्न सफल भएछौँ, नत्र जीउदै जलाउँथे होला है!'
'यो सबै मेरो कारणले हो अजय!'
'होइन बिनिता, तिम्रो कारणले होइन। म सानो जातको भएको कारणले हो।'
'यो जातभात कसले बनायो अजय?'
'खै?'
'मेरो १२ को परीक्षा पनि छुट्ने भयो।'
'चिन्ता नगर न प्रहरी, प्रशासन, अधिकारकर्मीको टोली पनि गाउँमा गएको छ रे। केही साम्य होला नि त। समयले बनाएको घाउ समयले नै पुर्ला नि बिनिता।'
ऊ लामो सास फेर्दै पुनः चुप भयो। केही समयपछि विस्तारै बोल्यो- 'तिमी अलिकति हिँड्न सक्छ्यौ?'
'किन र?'
'माथि डाँडाको मन्दिरमा जाऔं अनि भगवानको सहारा मागौं, मनमा केही आनन्द आउँछ नि।'
'अजय, सँच्चा मनले भगवान सम्झने हो भने मन्दिरको ढोकासम्म पुग्नै पर्दैन नि। यहीँबाट सम्झौँ न, हुन्न?'
'ठिकै छ बिनिता, तिमी शारीरिक र मानसिक दुवै रुपले थकित छौ, त्यसै गरौँ।'
हामी डाँडाको मन्दिरतर्फ हात जोडेर मन, वचन र कर्मले भगवानसँग प्रार्थना गर्न थाल्यौँ। उसले के कामना गर्यो खै तर मैले मनमनै कामना गरेँ-
'हाम्रो किस्ताबन्दीमा अंकुराएको प्रेम सफल होस्।
अबोध रुपमा बसेको प्रेमले सजाय नपाओस्।
हाम्रो प्रेमस्वरुप गर्भमा हुर्कदै गरेको शिशुको कल्याण होस्।
उसको जन्म द्वापर युगमा जन्मेको कृष्णको जस्तो होस्, उसले यो कंशरुपी जर्जर समाजको विखन्डन गर्न सकोस्।
'सामाजिक रुपान्तरणबाट सभ्य र सुसंस्कृत समतामूलक समाजको स्थापना गर्न सक्ने सामर्थ्य भएको होस्… हे भगवान्!'