'जिया, ए जिया!
काँ छे यो केटी?
अघिदेखि बोलाइराछु, सुन्दिन त यो!
फेरि त्यस्को ठाँडो कानमा कोच्या रैछे, ए जिया!'
आमाले कानको एयरफोन तान्दिएपछि थाहा पाएँ, आमा त अघिदेखि मलाई गाली गर्दै हुनुहुँदो रैछ।
मलाइ बाल! मैले केही सुनेको भए पो!
म: ह्या...। के भो के बुढीमाऊ, कति गाली मात्र गर्छौ! बुढाको घर गएपछि पिलपिल गर्दै फोन गर्नु पर्दा चाल पाउछ्यौ।
आमा: वरको सिन्को पर नि सार्न नजान्ने यस्तीलाई कस्ले लैजाला र बरै। भोलिदेखि लकडाउन हुने भन्ने कुरो छ रे, अघि तेरा बाले फोन गर्नु भा’थ्यो। पसल गएर अलि दिनका लागि सरसामान ल्याउनु भन्दै हुनुहुन्थ्यो।
धेरै दिन बन्द भो भने त तैँ हन्तकालीलाई के खान दिने हो र? त्यही भएर सामान बोक्न सघाउलिस्, हिँड् भन्नलाई बोलाको यो तुन्द्रो कोच्या रैछेस् काना अनि काँ सुन्थिस!
आमाको अपेक्षा होकि गाली, पत्तो पाउन सकिनँ।
म: ह्या आमै, एकछिन गीत सुन्दा नि कति कचकच हौ! अनि साँच्चै धेरै दिनका लागि हो र भन्या? हिँड्नु न त जाम्, म तिम्रो भरिया छँदै छु त।
फतफताउँदै आमाछोरी पसल तिर लाग्यौं। गलफत्ती पसल पुग्दासम्म पनि सकिएन।
आज त लकडाउन भा’को नि चार दिन भैसकेछ। चार दिन पनि चार वर्षजस्तो, झ्याउ लाग्दो। चट्पटे र पानीपुरीकै यादले मरिएला जस्तो भइसक्यो। काम नि केही गर्न जाँगर छैन। हुन त म काँ अरु बेला नि काम गर्थे र! जति बेलै टिकटक, फेसबुक, म्यासेन्जर अनि गाना। कहिलेकाहीँ टिन्डर र ट्यान-ट्यान पनि।
दिक्क लाग्नलाई नि दिक्क लागिसक्यो।
बोल्नलाई पनि कोही नयाँ साथी नि छैनन्, पुरानालाई ‘डेयर गेम’ र ‘लुडो’ बाट फुर्सद भको भा’पो।
टिकटकपछिको ब्रेकपछि फेसबुक खोलेँ। नभन्दै दैवले नै सुनै झैँ ११/१२ सयको हुलमा थपिन अर्को एउटा फ्रेन्ड रिक्वेस्ट आ’रैछ, केटोको।
प्रोफाइलमा रहेको उसको फोटोले यति मजाले तान्यो कि आत्तिएर ‘डिलिट’ बटन थिचेछु।
थुइय! धन्न नाम भने याद भैसकेछ, राम खनाल।
स्कुल पढ्दा नेपालीका गुरुले 'राम भात खान्छ' र अंग्रेजीका सरले 'राम इज् अ गुड ब्वाई' भन्दा भन्दा अघाइसकेको म, यो रामले भने मलाई सीतापछि लागेर बनबास जाने रामको झैँ आभास दिलायो।
हत्तपत्त सर्चमा गएर टाइप गरेँ, राम खनाल। उफ! धन्न मोरो सुरुमै त्यही हाँसो लिएर आयो। अब अर्को दुविधा सुरु भयो।
गर्ने के अब? अघि आफैले ‘डिलिट’ गरी पठाएको मान्छेलाई अब आफैले ‘एड’ गर्दा के भन्ठान्ला?
रिसाई पो सक्यो कि?
फेरि, केटी भएर के ‘एड’ गर्नु हो? ह्या! जे पो सोचोस्, उसैले ‘एड’ गरेकै थियो केरे सुरुमा। ‘एड’ गर्छु मोरोलाई!
भगवानले पनि चौध दिने आइसोलेसनमै बसेर बनाएछन् कि के हो पड्केलाई!
हुन त आजकाल क्यामेरा राम्रो भए गधा नि बाघ नै देखिन्छ हौ। ह्या जे पो होस्, कौनसा जुनी नै काट्नु छ र मलाई योसँग? सोच्दै ‘एड’ गरेँ। आँखा झिमिक्क नपार्दै नोटिफिकेसन देखायो। यता मेरो मुटुले आफ्नो तेज यस्तो बदलियोकी छाती छेडेरै फुत्त बाहिर आउला झैँ भयो। हत्तपत्त ओपन गरे।
त्वइट! फेरि एउटीले ‘लुडो किंग’ को ‘इन्भाइट’ पठाएर मरिछे।
मनमनै गाली दिएँ, ‘जिमु!'
एकछिन त आफैसँग हाँसो नि लाग्यो, ' ह्वाई सो हाइपर जिया?'
आमाले ‘भाँडा माझ् है?’ भनेको याद आयो। बुढीमाऊले गर्ने सम्भावित गाली नि याद आइसक्यो, हत्तपत्त फोन चार्जमा ठोसेर भाँडा माझ्न गएँ। काम सकेर फेरि त्यही फोन चलाउन लाको, म्यासेन्जर टिङ्ग गर्यो। यसो हेरेको उही रामकै रैछ म्यासेज। खुसीले होकि अतालिएर, पिसाब नै आउला आउला झैँ भो।
मुसुक्क मुस्काएको एउटा स्माइली! एकैछिन रिस नि उठ्यो अनि लाज पनि। तै नि सोधें, ‘किन दाँत देखाको?’
‘मेरो दाँत राम्रा छन् अनि’ जवाफ यस्तो आयो।
अब के भन्नु के भयो नबोली बस्न नि सकिनँ। सोधें, ‘भन्नु न किन हाँस्नु भको?’
राम: ‘डिलिट’ गर्दै फेरि ‘एड’?
अब पर्यो फसाद।
के भन्ने होला, ह्या जे हो त्यै भन्दिन्छु। आँट गरेँ, ‘राम्रो रामलाई हेर्दाहेर्दै के थिच्नु पर्ने, के थिचेछु। अनि एड गरेकी यति राम्रो मान्छेलाई कसरी नबोली उडाउनु भनेर।’
राम: झापाली हौ कि के हो? गफ त धेरै लायौ नि!
म: छिमेकी चाहिँ हो, इलाम हो। ए अनि प्रोफाइल नै नहेरी ‘एड’ गरेको?
राम: हेरेछु के हेरेछु मिस पोएट, अनि रिस त नाकमै छ कि के हो?
अर्को इमोजी।
उस्को स्याड इमोजीले अलि नराम्रो लाग्यो। फेरि हँसाउन भनेँ, ‘खुब चिन्नु भएछ। म कवि हैन, कवयित्री हो। केटी नि चिन्नु हुन्न कि के हो?’
राम: खै कुन्नी त के हो प्रमाण देखेको छैन, वा केटा होकि!
उस्को रिप्लाईले खै कता कता काउकुती लगायो।
यसरी हाम्रो कहानी सुरु भयो।
ऊ पेशाले इन्जिनियर। ‘जुम’ अनि ‘रुम’ बसेर ‘जब’ गर्दै। ‘अहिले अफिस छुट्टी भएर दिक्क भैसकेँ,’ दिनको दुईचोटी त सुनाउथ्यो।
यता म नि उस्तै, कलेज पनि बन्द केही महिनाअघि मात्र थालेको पढाउने ‘जब।’ स्कुल पनि बन्द। समय कटाउने राम्रो बाटो बनेका थियौं, एकअर्कोको।
टिकटक, युट्युब, फेसबुक सबै बन्द भए मेरा। थियो त केवल म्यासेन्जर अनि राम। निदाएको बेला बाहेक प्रायः जतिबेलै हामीसँगै हुन्थ्यौं। च्याटमा, फोनमा अनि विस्तारै भिडिओ कलमा।
उसले मलाई आफ्नो मन पर्ने-नपर्ने खानादेखि लिएर सबै-सबै सुनाउन भ्याइसकेको थियो। अनि सुन्न पनि। यतिसम्म कि भर्जिनिटी, सेक्स, पोर्न सबै-सबैका कुरा। आफ्नो दुईचोटि ब्रेकअप भएको नि सुनाइ भ्याएको थियो उसले। लकडाउनको ९ औं दिन, बिहान उठेर यसो फोन तानेर हेर्दा म्यासेज आको रैछ।
बुढो (रामको निकनेम सेट गरेको): ‘सानु, मामा लिन आउनु भएछ कसोकसो गरेर। गाह्रो हुन्छ ह्याँ, हिँड भन्नु भो। त्यै भएर म मामाकोमा गको, उता फोनमा बोल्न मिल्दैन। बट आई विल टेक्स्ट यू है मेरी बुढी। आई लभ यू अ लट मेरो बच्चा, म्वा...!
म्यासेज पढेपछि मन भारी भयो। सोचेँ, ‘कतै टाढै गयो ऊ!’ फेरि ‘के भो त? कुरा भैहाल्छ नि!’ यस्तै सोच्दै म्यासेज पठाएँ, 'गुड मार्निङ माया, आ’म गन मिस यू लाइक इन्सेन मेरो बुढो।'
अब हाम्रो कुरा टेक्स्टमा मात्र हुन थाल्यो, तैपनि कुरा भने भै नै रह्यो। दुई दिन दुई निमेष झैँ बिते। उसले सुनाउँदै थियो, ‘मामाकाँ भाउजूकी बैनी आ’की रैछे, सी इस ड्याम हट एंड सेक्सी लाइक हेल, सट्स् मात्र लाएर हिँड्छे। हर सेक्सी थाई रिमाइन्ड्स मि यू बेबी। मलाई तिम्ले भिडिओ कलमा देखाएका तिम्रा सेक्सी लेग्स खुब याद आइ’राछ बुढी। आई मिस यू सो ब्याड मेरो बच्चा।
रिस यति उठ्यो कि पैतालाको रगत दिमाग मै पुगे झैँ भो। भन्न त धेरै मन थियो तर यति भनिदिएँ, ‘मेरो पनि याद आयो कि मेरो तिघ्राको मात्र! हँ?
रिसले होकि जलनले हो, अफलाइन भैदिएँ। उसका म्यासेजहरु टिङ्ग टिङ्ग गर्दै म्यासेन्जरमा थुप्रिँदै थिए।
सायद हामी धेरै अघि बढिसकेको थियौं, र त मलाई जलन हुन्थ्यो। रिस उठ्थ्यो यस्ता कुराहरुले। ऊ भन्थ्यो, ‘लकडाउन खुलोस् मात्र, म मेरो बच्चालाई यत्रो भुँडी भ’की मेरी बुढी बनाउँछु।’
म पनि ‘हस्’ भन्दै ‘नाम के राख्ने नि?’ सम्म सोध्न भ्याउँथेँ। माया जो भ’को थियो उसँग।
धेरैबेर रिसाएर बस्न नै नसकी यसो अनलाइन भा’को, इनबक्स सबै उसैको म्यासेजहरुले भरिएको रैछ। के-के हो, के-के?
‘झन् बुढी भनेर सबै सेयर गर्छु, तिम्लाई नभने कस्लाई भन्नु हो? फेरि चाट्नै गा’छु र त्यस्लाई’?
हो कि जस्तो पनि लाग्यो, अनि फेरि टेक्स्ट गरें, ‘ सरी बुढो, आई लभ यू’।
अनि त फेरि सुरु भैहाल्यो, बुढा र बुढीवाला कुरा, माया र बेबीवाला कुरा अनि भुँडी बोक्ने र बोकाउने कुरा।
सानु म बिजी छु, भाउजूलाई किचनमा सघाउँदै छु के। बुढी म त सबैसँग तास खेल्दैछु, बुढी म लुडोमा बाजी खैल्दैछु है। यस्तै यस्तै म्यासेज आउने गर्छ उताबाट अचेल।
सोच्छु आफन्तका छ, होला पनि त बिजी। अनि जब ऊ अनलाइन हुन्छ, फेरि कुरा उही भाउजूकी हट एण्ड सेक्सीको महात्म्य। दिक्क लाग्छ, रिस पनि उधुम उठ्छ, फेरि केही भन्न नि मन लाउन्न। आखिर उस्ले मलाई नसुनाएर कस्लाई सुनाओस्।
आज लकडाउनको ११ औं दिन, उस्को हिजै रातिको म्यासेज बाहेक केही अत्तोपत्तो छैन। टेक्स्ट गरें, ‘कता हरा’को हौ माया?’ नाई, केही रिप्लाई आएन। यस्ता कति म्यासेज गरेँ। कुनै पनि म्यासेजको रिप्लाई आएन, म्यासेज भने डेलिभर भै रह्यो।
रात पर्यो। अब भने मन थामिनसक्नु भयो, जेसुकै होस् एक लट फोन गर्छु भनेर फोन लगाएँ। फोन काटिदियो, अनि एक थान म्यासेज।
आमा चकारेका छाडा शब्दका साथ, ‘फोन नगर भन्या हैन तँ... लाई। आउँन त यति आयो तर यतिले कति के के ल्यायो ल्यायो। कसैले छातीभित्र हात छिरेर मुटु निचोरे झैँ भयो, रुन मन लायो। वाक्क आउला झैँ भयो, रिस पनि खुबै उठ्यो।
उसको आइडीलाई इग्नोर मेसेजमा राख्दिएँ। अनि मनमा हजार कुरा र कुराका उल्झनहरु फुकाउँदै, बोझिलो मन, ओसिलो आँखा लिएर पल्टिएँ। कतिबेला निदाएँ, पत्तै पाइनँ।
बिहान पनि छिटै निन्द्रा खुल्यो। हत्तपत्त फोन तानेँ। म्यासेन्जरको ‘स्पाम' मा गएर हेरेँ, केही त म्यासेज होला भनेर। उसको म्यासेज खोल्दा एक्कैचोटी मुटु मुखमा आयो।
म्यासेन्जरले देखाउँदै थियो, ‘यू कान्ट रिप्लाई एनिमोर टू दिस् कन्भर्सेसन’। ब्लक गरेछ।
अब के चाहियो र? भर्खरै भएको बिहान पनि अँध्यारो लाग्न थाल्यो, कता-कता टोलाउन थालेँ कता।
आमाले, 'चिया सेलायो जिया' भनेपछि झसंग भएँ। मन त आमालाई ग्याम्म अंगालो हालेर रुन मन लागेको थियो तर सम्हालिएँ।
‘लौन! के भो यो केटीलाई? अनुहारको रंग नै उडेको छ त, सन्चो भएन कि के हो?'
‘किन क्यै बोल्दिनँ यो केटी! जिया, ए जिया!'
आमाको बोलिले निचोरिएको मुटु आँखा हुँदै तुरुक्क खस्यो। कति छिटो पढ्छेऊ है आमा मेरो अनुहारको भाव? ‘लौन! रुन पो थाली यो, के भो नानी?’
आमा आत्तिन थालेको देखेर के भन्नु के भयो। विचार शून्य भएँ, भाव शून्य भएँ। अनि भन्दिएँ, ‘कस्तो आफै मरेको सपना देखेँ आमा।’ धेरै बेर आमालाई अङ्गालो हाल्दै रोएँ।
‘धत्तेरी! कस्तो सातो लगेकी। के के न भएछ सोचेको! सपना हो जाबो, आयु बढ्छ झन्। पिर नली। ला, चिया खा।'
आमाको अघि सम्हालिँदै चिया पिएँ र काममा बरालिन खोजेँ तर के सकिन्थ्यो! यति सजिलै उसका यादहरुलाई ‘ब्लक’ गर्न। अनेक कुरा याद आउन थाले, एकपछि अर्को गरी। कुराको अन्त्य त्यही हुन्, आखिर किन?
लकडाउनको १२ औं दिन र १३ औं दिन उसैको यादमा बिते आफूले आफूलाई कमजोर पाउन थालेँ। यो पनि थाहा पाउँदै थिएँ कि यसरी त हुन्न जिन्दगी। फेरि, आफू दुखी भ’को देखेर आमालाई पनि दुख्ने कुरा बुझ्दै थिएँ।
१३ औं दिनको राति उसलाई फोन लगाएँ, सायद अन्तिमपल्ट। मात्र जान्न, आखिर किन? फोन पनि लाग्यो। फोनवाली दिदीले कोरोनाबाट बच्ने उपाय भनी रहिन् तर उस्ले भने फोन उठाएन। अब मलाई उसका यादहरुबाट बच्न कसरी र कस्ले भनिदियोस्?
उस्को नम्बर डिलिट गर्दिएँ, सोचेँ मैले नि उस्को १३ औं दिनबाट उस्का यादहरुको काम सक्नु पर्छ। अपेक्षाका पिण्ड सेलाउनु पर्छ। सुरु गर्न पर्छ आरोग्य जीवन। अनि, यो नि सोच्न भ्याएँ कि, जे भयो राम्रो भयो।
आखिर के भो र? अहिले त उसका याद बाहेक अरु केही त छैन मसँग गुमाउन वा गुनासो गर्न। के हुँदो हो यदि उसले भने जस्तो ‘ठूलो भुँडी भएकी’ तर म उसकी हुँ भन्न नसक्ने बुढी एक्लै छोडिनु पर्दा?