मधेस प्रदेशको मिथिला नगरपालिका–२, ढल्केवर नजिकैको सुकचौरमा बिहानैदेखि चहलपहल हुन्छ।
कोही कुविन्डो काटिरहेका हुन्छन्, कोही मस्यौरा बनाइरहेका हुन्छन्, कोही पापड तयार पारिरहेका हुन्छन्। कतै चामलको तिलौरी बनिरहेको हुन्छ, कतै आलसको तिसौरी।
यी सबै कामको केन्द्रमा छिन्— आशिका कुमारी गिरी।
मिथिलाको परम्परागत खानालाई स्वास्थ्यसँग जोडेर व्यावसायिक उत्पादनमा रूपान्तरण गर्दै आएकी आशिका आशुतोष बहुउद्देश्यीय तथा घरेलु उद्योगकी प्रमुख कार्यकारी अधिकृत हुन्।
यो उद्योगले खाद्य सामग्री प्रशोधन तथा उत्पादन गर्छ। विशेषगरी मिथिला थालीका लागि आवश्यक उत्पादनहरू गर्छ।
'उत्पादनसँगै उद्योगले सीप विकास तथा उद्यमशीलता तालिम सञ्चालन गर्दै विशेषगरी महिलाहरूलाई आयआर्जनका अवसर सिर्जना गरिरहेको छ,' आशिकाले भनिन्।
चार वर्षअघि चार जना महिलाबाट सुरू भएको यो काम अहिले विस्तार भएर करिब १० जना महिलाको रोजगारीको आधार बनेको छ।
यो उद्योगबाट खासगरी मिथिला थालीका लागि चाहिने खानेकुराहरू तयार गरिन्छ। कुविन्डोको मस्यौरासँगै बेथुको सागबाट बनाइएको 'अरीकञ्चन' (मिथिला क्षेत्रमा यसलाई बिडिया पनि भनिन्छ), आलसको तिसौरी, चामलको तिलौरी, साबुदानाको पापड, मुङको पापड, कोदो–फापरका चिप्स, आलुको चिप्स लगायत करिब १२–१३ प्रकारका खानेकुरा उत्पादन हुन्छ।
स्वास्थ्यलाई केन्द्रमा राखेर मिथिला संस्कृतिसँगै स्वस्थवर्द्धक खानेकुराहरू पस्किने योजना अनुसार आफ्ना उत्पादनहरू तयार गरिरहेको आशिका बताउँछिन्।

'अहिले उद्योगले तयार गरिरहेका खानेकुराहरू मिथिलाको परम्परागत स्वादसँगै स्वास्थ्यवर्द्धक छन्,' उनले भनिन्।
कुविन्डोको मस्यौरा त्यसैको उदाहरण हो। कुविन्डो पहिले धेरैका लागि खासै आर्थिक मूल्य नभएको वस्तु थियो। कतिपय ठाउँमा पूजामा प्रयोग हुन्थ्यो। कसैले सुकाएर बर्खाका बेला खान्थे। वा, त्यसै छाडिन्थ्यो। आशिकाले त्यसलाई आम्दानीसँग जोडेकी हुन्।
'हामीले किन्न थालेपछि यो त त्यत्तिकै फालेर जान्थ्यो, हजुरले किन्नुभयो भनेर किसानहरू खुसी भएका छन्,' आशिकाले भनिन्, 'अहिले हामीले जतिसक्दो धेरै कुविन्डो फलाउनुस्, हामी किन्छौं भनिरहेका छौं।'
उनी धनुषाका विभिन्न ठाउँसँगै बर्दिबास, सर्लाही र बागमती क्षेत्रबाट पनि उनी कुविन्डो संकलन गर्छिन्। त्यस्तै बेथु, मुङ दाल, कागती र आँप किसानलाई पनि जोड्ने अभियानमा छिन्।
केटाकेटीले स्थानीय उत्पादन खान सिकून् भनेर उनले कोदो, फापर र साबुदानाको चिप्सका साथै आलसको तिसौरी, आँपको अचार पनि बनाइरहेकी छन्।
'कस्तो अचार खाने भन्ने कुरा महत्वपूर्ण हुन्छ। हामी माटोको भाँडामा प्रोसेसिङ गरेर, एकदमै कम तेल हालेर अचार बनाउँछौं,' उनले भनिन्।
आशिकाले करिब ५० हजार रूपैयाँ लगानीबाट यो काम थालेकी हुन्।
सुरूमा उनले तीन जना महिलालाई रोजगारी दिएकी थिइन्। आफ्ना उत्पादन खासगरी मिथिला थालीसँग सम्बन्धित ठाउँहरूमा सामान पठाउन थालिन्। त्यहाँबाट आएको आम्दानीलाई तत्काल सबै खर्च नगरी पुनः व्यवसायमै लगानी गरिन्।
'पहिले पुँजी वृद्धि गरौं भनेर सुरूमा लगानीमै जोड दिएँ,' उनी सम्झिन्छिन्।
त्यसरी विस्तार हुँदै जाँदा अहिले उनको कारखानामा मेसिनरी लगायत सामग्रीमा करिब ३५ देखि ४० लाख रूपैयाँ लगानी भइसकेको छ। सबै खर्च कटाउँदा वार्षिक करिब ७–८ लाख रूपैयाँ कमाइ हुन्छ।

हालसम्म मिथिला थाली जाने ठाउँहरूमा केन्द्रित उत्पादनलाई अब स्थानीय बजारमा प्रवर्द्धन गर्ने आशिकाको योजना छ।
व्यवसाय सञ्चालनसँगै समुदायका महिलालाई रोजगारी सिर्जना गर्दै सशक्त बनाउने तथा मिथिला खानालाई विश्वसामु चिनाउने अभियानमा उनी अघि बढेकी छन्।
'म १० जना महिलालाई काम दिएर मात्र बस्न चाहन्नँ। १५०–२०० जना महिलालाई प्रत्यक्ष काम दिन सक्ने गरी व्यवसाय विस्तार गर्ने सोचेकी छु,' उनले भनिन्।
धनुषामा जन्मिएकी आशिका यसअघि काठमाडौं बस्थिन्। विभिन्न गैरसरकारी संस्थाहरूमा आबद्ध भएर काम गर्थिन्।
केही वर्षपछि आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोचिन्। उद्यम गर्न पुँजी थिएन। त्यसैले केही समय बीमाको काममा जोडिइन्। केही पैसा जम्मा भएपछि अब केही गर्न सकिन्छ भन्ने आँट आयो।
सुरूमा उनले महिलाहरूलाई चिप्स, साबुन, धुप बनाउने तालिम दिइन्। सीप भएका महिलाहरूलाई कामको व्यवस्था गरिदिन वडा, नगरपालिका र प्रदेशसम्म पुगिन्। तर कतै भएन।
त्यसपछि उनले आफै उद्योग थालेकी हुन्।
उनको चाहना आफ्नो गाउँठाउँमै बसरे काम गर्न सकिने वातावरण देखाउनु हो।
'तपाईंहरू यहीँ उत्पादन गर्नुस्, म किन्छु भन्ने वातावरण बनाउन लागिरहेकी छु। अझ महिलाले कसैसँग आफ्नो हात फैलाउनु नपरोस् भन्ने हो,' उनले भनिन्।
