भोटेकोशी–त्रिशूली बाढीले विस्थापित भएर काठमाडौंका विभिन्न ठाउँमा आश्रय लिइरहेका बालबालिकालाई काठमाडौं महानगरपालिकाले विद्यालय पठाउन थालेको छ।
नागार्जुनस्थित पहेँलो गुम्बा र मुस्ताङ गुम्बामा १३२ जना बालबालिका आश्रित रहेको तथ्यांक छ।
उनीहरूलाई डल्लुस्थित गीतामाता माध्यमिक विद्यालयमा पढाउन सुरू गरिएको कार्यवाहक मेयर सुनीता डंगोलले जानकारी दिइन्।
'बाढीबाट विस्थापित बालबालिकाको पढाइ नबिग्रियोस् भनेर तत्कालका लागि अस्थायी रूपमा पठनपाठनको व्यवस्था गरेका हौं,' मेयर डंगोलले सेतोपाटीसँग भनिन्, 'आवश्यक परेको खण्डमा दीर्घकालिन रूपमै पढाउन पनि काठमाडौं महानगर तयार छ।'
महानगरका अनुसार विद्यालय आउन थालेका बालबालिकालाई किताब, दिवा खाजा, पोसाक, झोला, जुत्ता तथा कापी–कलमको व्यवस्था गरिएको छ।
आश्रयस्थलबाट विद्यालयसम्म ल्याउन–लैजान एलआरआई स्कुलले सवारी साधन उपलब्ध गराएको छ। त्यस्तै, करूणा फाउन्डेसनले शैक्षिक सामग्रीका साथै मनोसामाजिक परामर्शमा सहयोग गरेको छ।
विद्यालय सञ्चालनको पहिलो दिन शुक्रबार ५९ जना बालबालिका कक्षामा उपस्थित भएका थिए। दोस्रो दिन यो संख्या बढेर ६१ पुगेको थियो।
बाँकी बालबालिकालाई पनि उनीहरूको अवस्था र आवश्यकता हेरेर विद्यालयमा ल्याउने तयारी भइरहेको छ।
बाढीले गहिरो मानसिक तनावमा रहेका बालबालिकालाई जबर्जस्ती विद्यालय नपठाइएको कार्यवाहक मेयर डंगोल बताउँछिन्।
उनका अनुसार केही बालबालिकाले आमाबुबा दुवै गुमाएका छन्। केहीका बुबा वा आमा छैनन्। कतिपयका परिवार जीवित भए पनि घर वा बसोबास गर्ने ठाउँ छैन।
बालबालिकाको यही अवस्था ध्यानमा राखेर महानगरले पढाइसँगै उनीहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।
विद्यालय सुरू भएको पहिलो दिन कार्यवाहक मेयर डंगोल आफै विद्यालय पुगेर बालबालिकासँग संवाद गर्नुका साथै प्रधानाध्यापक र शिक्षकसँग पनि छलफल गरेकी थिइन्।
उनले शिक्षकहरूलाई बालबालिकासँग बोल्दा र व्यवहार गर्दा थप मानसिक चोट नपुग्ने गरी आत्मीय वातावरण बनाउन आग्रह गरेकी थिइन्।
'वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ,' शिक्षकहरूसँगको छलफलमा डंगोलले भनेकी थिइन्, 'उहाँहरूसँग आत्मीय व्यवहार गरेर मनको आघात बिर्सन सघाउनुपर्छ। किताब र पाठभन्दा पहिले विद्यार्थीमा रहेको त्रास कम गराउन परामर्श गर्नुपर्छ।'
महानगरका कार्यपालिका सदस्य, जनप्रतिनिधि र शिक्षा विभागका अधिकारीहरू पनि विद्यालय पुगेर बालमैत्री वातावरण बनाउन सहजीकरण गरिरहेका छन्।
आवश्यकता अनुसार बाल मनोवैज्ञानिक, मनोसामाजिक परामर्शदाता तथा मनोसामाजिक प्राथमिक उपचार सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने तयारी महानगरको छ।

तत्काल अस्थायी, आवश्यक परे दीर्घकालीन
महानगरपालिकाका अनुसार अहिलेको मुख्य उद्देश्य बालबालिकाको पढाइ रोकिँदैन भन्ने सुनिश्चित गर्नु हो।
उनीहरूको पुनर्स्थापना, पुनर्वास र पुनःएकीकरणको मोडालिटी तय भएपछि आवश्यकता अनुसार दीर्घकालीन रूपमा पनि अध्ययनको व्यवस्था गर्न महानगर तयार छ।
'हामी उहाँहरूलाई स्थायी रूपमा पढाउन पनि तयार छौं,' डंगोलले भनिन्, 'उहाँहरूको पुनर्स्थापना, पुनर्वास र पुनःएकीकरण कुन मोडालिटीमा जान्छ भन्नेमा भर पर्छ। तर मोडालिटी नटुंगिएसम्म कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् भनेर तत्काल विद्यालय पठाउन सुरू गरेका छौं।'
कक्षा १ मा मात्रै ४५ जना
महानगरको सम्पर्कमा रहेका बाढी प्रभावित बालबालिका इसिडीदेखि कक्षा १२ सम्मका छन्।
महानगरको शिक्षा विभागका अनुसार सबभन्दा धेरै ४५ जना कक्षा १ मा अध्ययनरत छन्।
कक्षा २ मा ८, कक्षा ३ मा ११, कक्षा ४ मा १२, कक्षा ५ मा ९, कक्षा ६ र ७ मा ६–६, कक्षा ८ मा ११, कक्षा ९ मा १०, कक्षा १० मा २, कक्षा ११ मा ५ र कक्षा १२ मा १ जना विद्यार्थी छन्। इसिडी र नर्सरी तहमा २–२ तथा युकेजीमा १ जना विद्यार्थी छन्।
महानगरका अनुसार यी बालबालिकालाई एउटै ढाँचामा सहयोग गर्नेभन्दा उनीहरूको व्यक्तिगत अवस्था, पारिवारिक स्थिति र मानसिक आवश्यकता अनुसार फरक–फरक सहयोग गर्ने नीति लिइएको छ।
'हाम्रो प्राथमिकता पहिला परिवारसँगै राखेर अध्ययन गराउनु हो,' डंगोलले भनिन्, 'साथै कुनै पनि बालबालिका पढ्नबाट वञ्चित नहुन् भन्ने पनि हो।'