भारतको मुम्बईमा विमानस्थलमै दुइटा जहाजको पखेटा आपसमा ठोक्किएका छन्।
मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार साँझ साढे ७ बजे इन्डिगो र एयर इन्डियाको जहाजको पखेटा आपसमा ठोक्किएको बिबिसीले जनाएको छ।
पखेटा आपसमा ठोक्किएपछि तत्काल दुवै विमानबाट यात्रुहरूलाई ओरालिएको थियो। घटनामा दुवै विमानका यात्रु सकुशल रहेको भारतको नागरिक उड्डयन प्राधिकरण (डिजिसिए) जनाएको छ।
डिजिसिएका अनुसार एयर इन्डियाको फ्लाइट एआई२७३२ उडान भर्ने तयारीमा ट्याक्सीवेमा थियो। इन्डिगोको ए३२० विमान अवतरणपछि ट्याक्सीवेतर्फ जाँदै थियो।
सोही समयमा दुई विमानको पखेटा आपसमा ठोक्किएको थियो। दुवै एयरलाइन्सको प्रवक्ताले घटनाबारे विज्ञप्ती जारी गरेको छ।
'फ्लाइट एआई२७३२ मुंबईबाट कोयम्बटूर जाँदै थियो। टेकअफ अघि ट्याक्सीवेमा प्रतिक्षा गरिरहेको अवस्थामा अर्को विमानसँग विंगटिप सम्पर्कमा आएको थियो। हाम्रो विमानको विंगटिपमा क्षति पुगेको छ। सबै यात्रु सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएका छन्।'
'हैदराबादबाट मुंबई आएका हाम्रो विमानको विंगटिप ट्याक्सिइङको क्रममा अर्को विमानसँग सम्पर्कमा आएको हो। सबै यात्रुलाई सुरक्षित रूपमा विमानबाट बाहिर निकालिएको छ। विमानको जाँच प्रोटोकल अनुसार जारी छ,' इन्डिगोका प्रवक्ताले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
घटनापछि डिजिसिएको मुम्बई कार्यालयका अधिकारीहरू विमानस्थल पुगेर निरीक्षण गरेका थिए। दुवै विमानलाई हाल प्राविधिक जाँचका लागि रोकिएको बिबिसीले जनाएको छ।