कर्मकल्चर
तपाईं कसलाई मत हाल्दै हुनुहुन्छ भनेर म सोध्न चाहन्नँ। त्यो तपाईंको गोप्यताको अधिकार हो।
तर यत्ति सोध्न यो स्तम्भ लेख्दैछु — तपाईं कुन चुनाव चिह्नमा मत हाल्ने मन कसरी बनाउनुहुन्छ?
हामी निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्छौं।
सधैं भन्ने गर्छौं — देशहितमा सदुपयोग होस्।
अझ सजिलै भनिन्छ — आफ्नो विवेक प्रयोग गर्नुहोस्।
मत दिन पाउने अधिकार हाम्रो हो। विवेक पुर्याएर मत दिन सकियोस् भन्ने हाम्रो कामना हो।
तर प्रश्न त्यहीँ अल्झिन्छ — कुन चिह्नमा मत हाल्दा विवेक पुगेको मान्ने?
निर्वाचनअघि होस् वा पछि, प्रश्न उही हो — हामी कति स्वतन्त्र छौं?
कसलाई मत दिने भन्ने निर्णय हामी आफै गर्छौं कि कसैले हाम्रो तर्फबाट गरिदिइरहेको हुन्छ?
हाम्रो रोजाइ केले बनाउँछ — विचारले, अनुभवले, वा अरूको प्रभाव वा दबाबले?
आज संसारभर एउटा साझा समस्या छ — हाम्रो हातमा हरदम झुत्तिने मोबाइल।
सामाजिक सञ्जालभित्र यस्तो चुम्बकीय शक्ति हुन्छ, जसले हामीलाई तानिरहन्छ। त्यसभन्दा खतरनाक कुरा उसलाई हाम्रोबारे हामी आफूलाई भन्दा बढी थाहा हुन्छ।
हामी त कति कुरा बिर्सिन्छौं, उसको काम भने हामीलाई त्यही सम्झाइरहने हो। उसले हाम्रा चालचलन, रूचि र आग्रह पढेर हामीलाई त्यही अनुसार सामग्री पस्किरहन्छ। रूचि विस्तार गर्नेभन्दा पनि आग्रहलाई अझ गाढा बनाउने, द्वेषलाई अझ गहिरो बनाउने प्रक्रियामा हामी थाहै नपाई सहभागी भइसकेका हुन्छौं।
हामी उम्मेदवार चिन्ने आफ्ना इन्द्रीयहरूलाई अलगोरिदमको तुवाँलोले ढाकिएको थाहै पाउँदैनौं। हामी आफै सोचिरहेको ठान्छौं, तर विचार अर्काले बनाइदिइसकेको चाल पाउँदैनौं।
तपाईं एकपल्ट कुनै उम्मेदवारको छोटो भिडिओमा क्लिक गर्नुहोस् — त्यसपछि उस्तै रिल, उस्तै आवाज, उस्तै भावनाले तपाईंको स्क्रिन भरिन्छ। तपाईंलाई नशा लगाइदिन्छ।
पहिला मतपेटिकाको सुरक्षा मुख्य चुनावी एजेन्डा हुन्थ्यो। आज मतदाताको मनको स्वतन्त्रता सबभन्दा ठूलो चुनौती बनेको छ।
मतपेटिका देखिन्छ, मनपेटिका देखिँदैन।
यसै सन्दर्भमा मलाई लाग्छ — नेपालभित्र दुइटा नेपाल छन्।
काठमाडौंमा जति भूराजनीतिको गफ हुन्छ, गाउँघरमा त्यत्तिकै विदेश पुगेका छोराछोरीको।
म हालै काठमाडौंमा नागरिक समाजको सानो छलफलमा थिएँ। सबैको चिन्ता वैदेशिक शक्तिहरूको सक्रियतामै थियो।
मैले आफूलाई चिमोटेँ। अघिल्लो दिन गाउँमा सुनेको कुरा सम्झिएँ।
हामी सधैं बाह्य शक्तिले हाम्रो देशमा प्रभाव पारेको देखेर तरंगित हुन्छौं। तर विदेशमा रहेका नेपाली आफै आज कति ठूलो शक्ति बनेका छन् भन्नेबारे बुझाइ बलियो बनाउन सकेका छैनौं।
सञ्चारको सजिलोले भूगोलको दुरी घटाइदिएको छ, तर दबाबको दुरी पनि घटाइदिएको छ।
गाउँमा आजकल धेरैको मुखमा झुन्डिएको छ — फलानोको घरमा फोन आइसक्यो। फलानो चिह्नमा मत नहाले पैसा पठाउँदिनँ। बोल्दिनँ। दसैंमा आउँदिनँ। फोन पनि गर्दिनँ!
विदेशमा परिवार नहुने परिवार आज कमै भेटिन्छ। मेरो आफ्नै पनि छ। मलाई दबाब छैन। सबैलाई हुँदैन पनि।
जतिलाई हुन्छ, त्यति मात्रैले पनि मतादेश बदल्न सके सायद पर्याप्त हुन्छ।
विदेश बस्ने नेपालीको रोजाइ कसरी बन्छ भन्ने फरक प्रश्न छ। त्यसबारे विदेश बस्ने नेपालीहरूबाटै यसबारे विचार–विमर्श हुनेछ।
यही सेरोफेरोमा म एउटा सानो घटना सुनाउँछु।
रैथाने बहर खोज्दै म भौंतारिएको थिएँ।
एक बिहान छिमेकी गाउँको उकालो चढ्दै गर्दा अचानक टक्क अडिएँ।
कान्लामुनिको गोठमा हल गोरू बाँधिएका थिए, र जुरो देख्नासाथ नदाएको, मस्तको बहर मैले टाढैबाट ठम्याएँ।
धेरै दिनपछि खोजेको चिज भेटिएपछि सन्तोषले शरीर हलुका भयो।
गोठमाथिको घरतर्फ उक्लिएँ।
आँगनमा किसान खत्र्याकखुत्रुक काममा थिए।
'दाइ, बहर बेच्ने हो?' मैले सोधेँ।
'पहिला तल गोठमा हेरेर आउनुहोस्,' उनले टाउको नउचाली भने।
'देखिसकेँ,' मैले हाँस्दै भनेँ।
उनले मलाई हेरे।
'हामी त बुढाबुढी भइसक्यौं,' उनले भने, 'हेरचाह गर्न गाह्रो भयो। जोत्ने दिन पनि गए।'
'म राम्ररी पाल्छु,' मैले भनेँ।
'खै…दिने कि नदिने, घर सल्लाह गर्नुपर्छ,' उनले अलमलिँदै भने।
म पिँढीमा बसेँ।
तर उनले बुढीमाउलाई बोलाएनन्। भान्सामा रहेकी बुहारीलाई बोलाए। मोबाइल निकालियो। नम्बर डायल गरियो।
'अहिले नम्बर लाग्दैन,' बुहारीले भनिन्।
'ए, साँच्ची,' उनी मतिर फर्किए, 'अर्को दिन आउनुहोस्। जसले निधो गर्ने हो, उसैलाई सोध्नुपर्छ।'
छोरा इस्टोनियामा रहेछन्।
घरखर्च पठाउने हातले घरसल्लाहको हक राख्नु हककै कुरा थियो।
केही बेरको त्यो आँगनको बसाइमा मैले बुझेँ —
बहरको मालिक गोठमा होइन, परदेशको स्क्रिनभित्र बस्छन्!
र, सोचेँ —
कतै आज हाम्रो मत पनि त्यस्तै त भएको छैन?
मतपेटिका यहाँ छ, तर मतको मन कतै टाढा…।
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle