टी-२० विश्वकप २०२६ विशेष
सन्दीप लामिछाने नेपाली क्रिकेट टोलीको सबैभन्दा भरोसा गर्न लायक बलर हुन्।
२५ वर्षीय लेगस्पिनर सन्दीपले सधैं टोलीलाई चाहिएको बेला विकेट निकाल्न सक्छन्। टोलीलाई संकटबाट बाहिर निकाल्ने क्षमता राख्छन्।
यस्तै क्षमताका कारण उनी नेपालको जितमा धेरै पटक नायक बनेका छन्। आइसिसी टी-२० विश्वकप २०२६ मा पनि सन्दीप टोलीका मुख्य बलर हुने पक्का छ।
पूरा नाम: सन्दीप लामिछाने
जन्म: अगस्ट २, २०००, स्याङ्जा
उमेर: २५ वर्ष
ब्याटिङ शैली: दाहिने हाते ब्याटर
बलिङ शैली: लेगब्रेक गुगली
भूमिका: बलर
टी-२० आइ डेब्यू: वेस्ट इन्डिज विरुद्ध आईसिसी विश्व ११, लर्ड्स — मे ३१, २०१८
सन्दीप लामिछानेको बाल्यकालको महत्वपूर्ण समय भारतमा बित्यो। उनका बुबा चन्द्रनारायण भारतको रेल्वे कम्पनीमा काम गर्थे। भारतमा उनले चार कक्षासम्म पढ्दा क्रिकेट सिके।
त्यसपछि उनी क्रिकेट सिक्नका लागि नेपाल फर्किए। चितवन क्रिकेट एकेडेमीबाट खेल्न थाले। सन्दीपले आफ्नो बलिङ निखार्दै थिए। चितवनको क्याम्पाचौरमा उनको क्रिकेट सिक्ने पाठशाला थियो।
१४ वर्षको उमेरमा नेपाली राष्ट्रिय टोलीका तत्कालिन प्रशिक्षक पुबुदु दसानायकेले सन्दीपको प्रतिभा देखेसँगै उनको जीवनमा यस्तो मोड आयो, उनले कहिल्यै पछाडि फर्कन परेन। क्रिकेटर करिअर रफ्तारमा अघि बढ्न थाल्यो।
सन् २०१५ मा नेपाली राष्ट्रिय टोलीका तत्कालीन स्पिनर बसन्त रेग्मीको विवाहमा जाने क्रममा चितवनमा रोकिएका थिए, पुबुदु। त्यहिँ बेला पुबुदुले सन्दीपको बलिङ नियालेका थिए। पुबुदुलाई सन्दीपको बलिङले ध्यान खिँच्यो। त्यसपछि उनको यात्रा बन्द प्रशिक्षणसँगै एकैपटक नेपालको यू-१९ टोलीसम्म रह्यो।
सन्दीपको खेल देखेर प्रभावित बनेका पुबुदुले सन्दीपलाई नेपालको यू-१९ टोलीको बन्द प्रशिक्षमा मौका दिए। सन् २०१६ को जनावरीमा नेपालको यू-१९ टोलीमा परेका सन्दीपले त्यसपछि क्रिकेट करिअरमा उतारचढाव ब्यहोर्न पर्यो।
सुरुमै बंगलादेशमा भएको यू-१९ विश्वकप खेल्ने मौका पाएका सन्दीपको त्यो नै डेब्यू अन्तर्राष्ट्रिय प्रतियोगिता थियो। बंगलादेशमा भएको यू–१९ विश्वकपमा डेब्यू गर्दा सनसनी मच्चाएका थिए।
त्यतिबेला उनकै उत्कृष्ट प्रदर्शनले नेपाल सुपर–८ मा समावेश हुन सफल भएको थियो। हाल टेस्ट राष्ट्रको मान्यता पाएको आयरल्यान्डविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएपछि सन्दीप रातारात स्टार बन्न पुगे।
दायाँ हातले बल घुमाउन पोख्त सन्दीपलाई आयरल्यान्डविरुद्धको खेलपछि अन्तर्राष्ट्रिय मिडियाले समेत ‘नेपाली– शेन वार्न’ को संज्ञा दिएका थिए।
अस्ट्रेलियाका धुरन्धर लेगस्पिनर वार्नसँग तुलना गरिएका सन्दीप अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँगको विशेष सम्बन्धका कारण चर्चामा रहे। नेपालका सबै क्रिकेटरलाई विश्वविजेता कप्तानसँग संगत गर्ने मौका मिल्दैन। क्लार्कसँग भेट्नुअघि सन्दीप उनको ठूलो प्रशंसक थिए।
बंगलादेशमा भएको युवा विश्वकपपछि सन्दीपका लागि सिनियर टोलीमा मात्र होइन, विदेशी क्लबबाट पनि क्रिकेट खेल्ने प्रस्ताव आउन थाले।
सन् २०१५ नोभेम्बरमा १५ वर्षको उमेरमा विश्वको पुरानै क्रिकेट क्लब एमसिसीविरुद्ध उनले अनौपचारिक रूपमा सिनियर टोलीबाट खेलेका थिए। एमसिसीबाट खेलेका हङकङका विकेटकिपर स्कट म्याकेनीलाई दुई पटक आउट गरेपछि, स्कटले नै उनलाई मे २०१६ मा हङकङ टी-२० ब्लिट्ज खेल्न 'काउलुन क्यान्टोन' टोलीमा बोलाए। त्यहाँ सन्दीपको भेट अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँग हुने अवसर पायो। त्यसपछि दुईबीचको सम्बन्ध प्रगाढ भएको थियो।
सन् २०१८ को सिजनमा इन्डियन प्रिमियर लिग (आइपिएल) को तत्लालीन टोली दिल्ली डेयर डेभिल्स (हाल दिल्ली क्यापिटल्स) मा आबद्ध भएपछि उनी चर्चाको शिखरमा रहे। ३२ लाखमा उनी दिल्लीमा आबद्ध हुँदै आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बने।
सन् २०१८ को जनवरीसम्म सन्दीप नेपाली क्रिकेटमा उनी प्रभावशाली खेलाडी बनेर उदाए। उमेर १७ वर्ष भए पनि उनको चर्चा परिचर्चा देश विदेशमा बढ्यो। १७ वर्षको उमेरमा आइपिएल डेब्यू गरेका त्यसै वर्ष नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ मा १७ विकेट लिँदै 'प्लेयर अफ द टूर्नामेन्ट' बनेर आफ्नो क्षमता प्रमाणित गरे। उनकै उत्कृष्ट प्रदर्शनका कारण नेपाल इतिहासमा दोस्रो पटक विश्वकप छनोटमा पुग्न सफल भयो।
मार्च २०१८ मा उनी क्यारेबियन प्रिमियर लिगमा छनोट हुने पहिलो नेपाली खेलाडी बने, जहाँ उनलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले अनुबन्ध गर्यो।
सन्दीपले आफ्नो टी-२० डेब्यू भने नेपाली टोलीबाट गरेका होइनन्। उनी राष्ट्रिय टोलीबाट टी-२० अन्तर्राष्ट्रियमा डेब्यू नगर्ने एकमात्र नेपाली खेलाडी हुन्। उनले इंग्ल्यान्डको लर्डमा भएको विश्व ११ र वेस्ट इन्डिजबीचको खेलमा टी-२० डेब्यू गर्ने मौका पाएका थिए। त्यतिबेला अन्तर्राष्ट्रिय क्रिकेटमा चुलिँदो चर्चाका कारण उनी एसोसिएट कोटामा विश्व-११ टोलीमा परेका थिए।
सन्दीपमा संसारका सबैजसो चर्चित टी-२०लिगमा मौका पाए। भारत, पाकिस्तान, अफगानिस्तान, वेस्ट इन्डिज, बंगलादेश, युएई, अस्ट्रेलिया, इंग्ल्यान्ड, क्यानडाको लिग खेलेर नेपाली खेलकुदको सुपरस्टार भए।
यो पनिः