कर्मकल्चर
गाउँबाट निस्केर सडकछेउ उभिएको थिएँ। त्यत्तिकैमा चुलबुल गर्दै थुन्सेभित्रको भालेसँग कुरा गरिरहेकी एउटी वाचाल बालिका देखेँ।
हात आफै मोबाइलतिर गयो।
क्लिक गर्नै लागेको थिएँ। त्यसै बेला छिमेकका ड्राइभर भाइले भ्यान रोक्दै हाँस्दै भने, 'सर, लौ त यिनलाई भाइरल बनाइदिनुहोस्!'
मैले तस्बिर डिलिट गरेँ। पोस्ट गर्ने सोच बनेकै त थिएन, तर खिच्नुको अर्थ के थियो? सामाजिक खपतकै लागि होइन र?
आजकल क्यामरा चलाउनु भनेको सम्झनाका लागि होइन, देखाउनका लागि हो। कुनै बेला हामी भविष्यका लागि तस्बिर राख्थ्यौं। अहिले तस्बिर भविष्यका लागि होइन, फिडका लागि हुन्छ। सम्झना र बिर्सना दुवै स्क्रोलको दूरीमा झरेका छन्।
अध्येताहरू भन्छन् — हाम्रो ध्यान अवधि घटेको छ। स्वाभाविकै हो, धैर्य पनि साँघुरिएको छ। ध्यान गर, क्षणमा बाँच भन्ने ध्यानीहरूको उपदेशभन्दा उल्टो हामी क्षणभंगुर ध्यानमै हराइरहेका छौं। हाम्रो मनोविज्ञान, मिडिया र राजनीति — सबै यो चापमा परिरहेका छन्। तर त्यो हामीले महसुस गर्ने समय कहिले हुन्छ?
सायद तब, जब मोबाइल साइडमा राखेर केही बेर मौन बस्छौं।
यही चापले मिडियालाई पनि बदलिरहेको छ। समाज, याने कि सञ्जालमा भाइरल भइरहेकाहरूको भेला गर्न मिडिया व्यस्त छन्। कर्पोरेट जगतलाई फकाउन भव्य होटलभित्र ठूला शीर्षकमा स्वागत गरिन्छ र भाइरल भएकाहरूलाई मञ्च दिइन्छ। मुद्दा बोक्नेहरू छायामा पर्छन्।
'भ्वाइसलेसको भ्वाइस' हामीले हेर्दाहेर्दै भाइरलहरूको भ्वाइसमा बदलिन्छ।
पहिलेका मुद्दा, पहिलेका आन्दोलन, पहिलेका जटिलता सबै बिर्सिइन्छन्। भाइरल हातहरूले डिलिट गरिदिन्छन्। मिडियाले आफ्नो अस्तित्वको आधार फेर्दै जाँदा मुद्दाविहीन समाजतिर हामी हिँडिरहेका हुन सक्छौं।
अनि, राजनीति कता जाओस् त बरा?
निर्वाचनमा हाहू त पहिलेदेखि हुन्थ्यो। तर अहिले हल्ला स्क्रिनमा हुन्छ। हामी दैनिक स्क्रोल गर्दै उम्मेदवारको नाच, भाषण, चटक हेर्छौं। हामीले हेरेरै उनीहरू भाइरल हुने हुन्।
भाइरल सम्भावना नै योग्यता बन्छ। फलोअर संख्या, भिडिओको पहुँच, प्रतिक्रियाको दर — यी नयाँ राजनीतिक सूचकांक हुन्। वैचारिक पूँजीभन्दा डिजिटल पूँजी निर्णायक बन्छ।
पहिला जेल, संघर्ष, आन्दोलन वैधताका आधार हुन्थे। अहिले ट्रेन्डिङ नै प्रमाण बनेको छ। सिद्धान्त पुरानो भनिन्छ, विचार जटिल भनिन्छ। जो भाइरल हुन सक्छ, उही नेतृत्वयोग्य ठहरिन्छ। पार्टीहरू संगठनभन्दा प्लेटफर्मजस्ता देखिन थालेका छन्।
जो भाइरल हुन सक्छ, उही हाईहाई। भाइरल भाइरल मिलेर पार्टी मिलाउने, चलाउने।
भाइरल संस्कृतिको प्रभावले हामी भीडमा रूपान्तरित भएका छौं। जता उम्मेदवार गयो, उता भीड। तर भीड बन्नु हाम्रो स्वभाव होइन, हाम्रो अवस्था हो।
हामी एक्ला छौं। हामी असुरक्षित छौं। आर्थिक, सामाजिक, सांस्कृतिक दबाबहरूले थिचिएका छौं। भाइरल संस्कृतिले हाम्रो दुःख सिर्जना गरेको होइन; उसले त्यसलाई दृश्य र मापनयोग्य बनाइदिएको छ। व्यक्तिगत पीडा सार्वजनिक प्रदर्शनमा बदलिएको छ।
भीडले क्षणिक निश्चितता दिन्छ। व्यक्तिगत अनिश्चितता सामूहिक निश्चयमा विलीन हुन्छ। जब कोही नेता जटिल समस्यालाई सरल वाक्यमा रूपान्तरित गर्छ, हामी राहत महसुस गर्छौं। किनकि जटिल सत्यले श्रम माग्छ, सरल नारा केवल स्वीकृति।
सत्य गहिरो हुन्छ, त्यसैले ढिलो बुझिन्छ। भाइरल छिटो हुन्छ, त्यसैले छिटो विश्वास गरिन्छ।
हामी हतारमा छौं। हामीलाई तत्काल स्पष्टता चाहिएको छ। हामी समस्यामा छौं। हामी अकारण भीड लागेको होइन — हामी अर्थ खोजिरहेका छौं।
चुनावमा हामी आफ्ना दुःखको उपचार खोजिरहेका छौं। तर उपचार खोज्दा हामी लक्षणलाई नै समाधान ठानिरहेका त छैनौं?
हामीले आफ्नो भ्वाइस सुनाउनुपर्ने हो। तर भ्वाइसको मूल्य सत्यले होइन, ट्रेन्डिङले तोक्छ भने लोकतन्त्र बोलिरहेको छ कि केवल प्रतिध्वनि भइरहेको छ?
चुनावमा हामी आफ्ना दुःखको उपचार खोजिरहेका छौं। हामीले आफ्नो भ्वाइस सुनाउनुपर्ने हो, तर भाइरल नहुने भ्वाइस केको भ्वाइस?
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle