प्रिय विश्वका शक्ति राष्ट्रहरू
सम्झना छ।
तपाईंहरूका धुवाँ फाल्ने उद्योग
र आणविक रसायनले आक्रान्त
यी हिमाली चुचुराहरू
अनि रिसाएका नदीहरूको अपहरणमा परेर,
रसुवाको एउटा अँध्यारो सुरुङभित्र
आफ्नै अन्तिम सासको सजाय भोगिरहेको
एक निरुपाय नागरिकको तर्फबाट।
यहाँ
उकुसमुकुस छ, तर हावा छैन।
तिर्खा छ, तर पानी छैन।
फोक्सो छ, तर सास छैन।
आँखा छन्, तर उज्यालो छैन।
मानव छ, तर मानवता छैन।
देश त छ, तर सरकार छैन!
छ त केवल
विश्व जलवायु प्रदूषणले निम्त्याएको
भयावह सङ्कटसँग एक्लै जुधिरहेको
एउटा अचेत र निरीह नागरिक छ।
र यतिखेर सम्झिरहेछ
तपाईंका आकाश नाप्ने यन्त्रहरू
समुद्र चिर्ने विशाल जहाजहरू
पहाड छेड्ने मेसिनहरू
पृथ्वी थर्काउने प्रविधिहरू।
अनि सोचिरहेछ
के ती प्रविधिभित्र पनि मानवता हुन्छ?
के ती प्रविधिले सुरुङभित्र अड्किएको
एउटा जीवित मानिसलाई बचाउन सक्छन्?
यदि सक्नुहुन्न भने
यही रसुवाको पहाडमाथि
एउटा आणविक बम त खसाल्न सक्नुहुन्छ?
खसाल्नुहोस् एउटा आणविक बम!
उडाइदिनुहोस्
मेरो घाँटीमै अड्किएको यो अन्तिम सास,
र खरानी बनाइदिनुहोस्
यो पहाडले थिचेर चरचर दुखिरहेको मेरो शरीर।
अनि भनिदिनुहोस् मेरो बाटो हेरेर
रोइरहेकी मेरी आमालाई
‘संसारले मान्छे बचाउन नसके पनि
मानवता बचाएको छ!’