दुर्गम ठानिए पनि त्यो सुन्दर रसुवा। अहिले त्यहाँ प्राकृतिक रूपमा ठुलो बज्रपात परेको छ, केही रसुवालीहरूको देहान्त भएको छ भने कतिपयको अवस्था अज्ञात छ। कोही घाइते अवस्थामा भेटिए पनि केहीको अवस्था चिन्ताजनक छ। यो घाउ रसुवाको मात्र नभएर समग्र मुलुककै पीडा हो।
समुद्र सतहबाट ६५८ मिटरको उचाइ रहेको औलो ठाउँदेखि ३९९४ मिटर उचाइ रहेको हिमाली भेगसम्म समेटेको रसुवाको केही भूभागलाई तहसनहस पार्ने गरी आएको भोटेकोसीको बाढी हालसम्मकै ठुलो र कहालीलाग्दो भयो। ‘जहाँ गाह्रो त्यहीँ साह्रो’ भने झैँ दुर्गम जिल्लालाई नै ताकेर उथलपुथल पारिदिएको छ प्रकृतिले यसपालि।
जलवायु परिवर्तनका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सेमिनार वा गोष्ठीहरू भई नै रहन्छन्। तर सामान्य मानिसदेखि वैज्ञानिक तथा विशेषज्ञहरू भने प्रकृतिलाई सन्तुलित बनाउने विषयमा गम्भीर हुन सकेको भने पाइँदैन।
पहिलो पटक रसुवा टेक्दा
२०५६ माघ २५ गते निजामती सेवातर्फको मेरो पहिलो हाजिरी भएको थियो रसुवाको धुन्चेस्थित जिल्ला सिँचाइ कार्यालयमा। त्यहाँको दुई महिना सरकारी सेवाको दौरान र बसाइमा समग्र रसुवाको बारेमा खासै जानकारी हुने कुरा त थिएन। राजधानी काठमाडौँ नजिकको ‘कर्णाली’ भनेर चिनिने रसुवा त्यति बेला साँच्चिकै दुर्गम लाग्दथ्यो।
मैले सेवा सुरु गरेको सिँचाइ कार्यालय परिसरमा मिस्त्रीहरूले ग्याब्बियन जाली बुनिरहेको दृश्य देखिन्थ्यो, कार्यालय परिसरको छेउको बारीमा गहुँको जस्तो बोट देखेपछि मैले एकजना सहकर्मी कर्मचारीलाई सोधेँ- ‘यो केको बोट हो?’ तुरुन्त जवाफ आइहाल्यो- ‘उवाको।‘
उवा त हाम्रो जिल्ला रोल्पाको एउटा गाविस. (तत्कालीन) को नाम हो भन्ने कुरा पनि बताएँ। दुई महिना अवधिमा इन्जिनियर, ओभरसियर, प्राविधिकको साथमा म पनि फिल्डमा गएँ। पार्वती कुण्ड, चिलिमे हाइड्रोपावर हुँदै हामी एकदिन त्यतैतिर बितायौँ, एकदिन स्याफ्रुबेशी पनि पुगेर आयौँ। स्याफ्रसुबेशीको नाम त मैले पहिलो हाजिरीको दिन बिहान बसपार्कको टिकट काउन्टरको बोर्डमा पहिलो चोटि देखेको र बस चढेपछि यात्रुहरूको मुखबाट पटक-पटक सुनेँ।
बिदाको दिन पारेर एकदिन सहकर्मीहरूको टोली गोसाईंकुण्ड भ्रमणमा जाने निधो भयो। म जम्मा दुई महिना कार्यरत रहेको जिल्ला सिँचाइ कार्यालय सोही सालको चैत्रदेखि डिभिजन सिँचाइ कार्यालय नुवाकोटमा गाभिने भएपछि म सामान्य प्रशासन मन्त्रालयको २०५६ चैत २ गतेको सरुवा पत्र बमोजिम सरुवा भएर काठमाडौँ आएँ।
लोक सेवा आयोगले लिएको दोस्रो चरणको परीक्षा (अन्तर्वार्ता) बाट छनौट भएपछि आयोगको २०५६ पुस २८ को सिफारिस पत्र अनुसार छनौट भएका केही परीक्षार्थीहरूले नियुक्तिका लागि ललितपुरको भनिमण्डलस्थित तत्कालीन मध्यमाञ्चल क्षेत्रीय सिँचाइ निर्देशनालयमा पुग्नुभएको रहेछ। म यता सरकारको पूर्ण स्वामित्वको वीरगन्ज चिनी कारखाना लिमिटेडमा राजीनामा स्वीकृत गराउने सिलसिलामा व्यस्त थिएँ।
माघ ७ गते म निर्देशनालयमा पुग्दा त्यहाँ कोही साथीहरूले नियुक्ति पत्र लिइसक्नुभएको र कसैको नियुक्तिपत्र तयार हुँदै गरेको देखिन्थ्यो। नियुक्तिपत्र लिनका लागि कसैले नुवाकोट, कसैले सिन्धुपाल्चोक त कसैले धादिङ रोजिसक्नुभएको र म निर्देशनालयमा ढिला पुगेका कारण बाँकी रहेको रसुवाको सिँचाइ कार्यालयका लागि नियुक्तिपत्र लिनुपर्ने भयो।
रसुवाको कार्यालयको वस्तुस्थितिका बारेमा निर्देशनालयका एकजना कर्मचारीले त्यही दिन मलाई केही कुराको सुइँको दिइसक्नुभएको थियो। ठिकै होला भन्ने मानसिकता बनाएँ र नियुक्तिपत्र बुझेँ, बुझ्नै पर्ने अवस्था थियो, अरू विकल्प नै थिएन। रसुवा दुर्गम जिल्ला हो भन्ने त पहिलेदेखि नै थाहा थियो। दुर्गम जिल्ला भएको नाताले दुर्गम भत्ता भनेर मासिक तीन सय पचास रुपैयाँ तलबमा थपिन्थ्यो।
छ दिन बेरोजगार
२०४० सालदेखि २०५६ माघ १८ सम्मको संस्थान सेवा छोडेर सोही महिनाको २५ गतेदेखि निजामती सेवा सुरु गर्दाको बिचको छ दिन म बेरोजगार हुन पुगेको थिएँ अर्थात् सेवाविहीन भएर बसेको थिएँ। निजामती सेवाबाट २०७९ असार २३ गते अनिवार्य अवकाश लिएपछि जागिरको व्यस्तताभन्दा तीनखण्डी बढी व्यस्त हुनुपरेको छ। साहित्य-लेखनका क्षेत्रमा व्यस्तता हुनुपर्दा आफूलाई खुसी लागेको छ।
समाज बदल्ने एउटा काम साहित्य-लेखन पनि हो। कलमको शक्ति कति हुन्छ भन्ने कुरा मेरा केही लेखहरूले देखाइसकेका छन्। साहित्य-लेखनका क्षेत्रमा अपनाइने व्यस्तता पनि एक किसिमको ध्यान अर्थात् मेडिटेसन हो। केही साथीहरूले फलानो ठाउँमा ध्यान गर्न जान सुझाए पनि म कतै ध्यान केन्द्रहरूमा जान आवश्यक ठान्दिनँ। किन कि मेरो एकाग्रता गराउने माध्यम भनेको साहित्य-लेखन नै हो।
मेरो शब्दको यातायात गीतको पहिलो गुञ्जन रसुवा जाने गाडीमा
मेरो शब्द रचनाको यातायात गीत ‘बसमा सरर’ गत जेठ २३ गते हामी रसुवा भ्रमणमा जाँदा चढेको गाडीमा पहिलो पटक बजाइएको थियो। चालक-सहचालकको मनोबल बढाउन तथा ट्राफिक नियम पालना गर्न प्रेरित गर्न र यात्रुहरूले यात्रा गर्दा अपनाउनुपर्ने संस्कार र सभ्यताका बारेमा सहयोगी बनेको सो गीत बजारमा आइसकेको छ। हालै मात्र मेरै शब्दको बालगीत ‘म स्कुल आइनँ’ पनि बजारमा आइसकेको छ।
रसुवा भ्रमणका क्रममा देखिएका केही परिदृश्यहरूलाई समेटेर सो बालगीत रचिएको हो। नौकुण्डको गेट छेउमा रहेको चिया पसलमा हामीले चिया पिइरहेको अवस्थामा मेरो काखमा एकजना बालक आएर बसेका थिए। साथै उनीसँग चाउचाउको कार्टुनलाई फुटबल बनाएर एकछिन खेल्यौँ र रमायौँ पनि। ग्राङमा बालबालिकाहरू रुखमा चढ्दै-ओर्लिँदै अनि खेल्दै-हाँस्दै र चउरमा आएर हामीसँगै रमाउँदै गरेका थिए।
यी बालक्रिडा र बालदृश्यहरू मैले कहिल्यै पनि बिर्सने कुरा होइन। २०५६ सालदेखि नै मेरा बाल-रचनाहरू प्रकाशित छन् र २०६१ सालमा मेरो पहिलो कृतिको रूपमा बालकविता सङ्ग्रह ‘इन्द्रेणी’ प्रकाशित भयो, जसमा आफ्नै बाल्यकालका अधिकांश विषयहरू समेटिएका कविताहरू सचित्र समावेश छन्।
मेरै शब्दको ज्येष्ठ नागरिक गीत ‘ओइलिएको फूल’ को केही दिनमा स्वराङ्कन हुँदैछ। सो गीतमा संगीतकार र गायक-गायिकाले पारिश्रमिक नलिने घोषणा गरिसक्नुभएको छ। उक्त गीतमा समाजमा सकारात्मक सन्देश दिन खोजिएको छ।
२६ वर्षपछि फेरि रसुवा पुग्दा
रसुवा जिल्लाको कालिका गाउँपालिका यस्तो क्षेत्र हो जहाँ स्थानीय जनताका विविध गतिविधि र व्यवसायबाट स्वरोजगार र आत्मनिर्भरतामा जिल्लामै अगाडि रहेको देखिएको छ। यी दुई विषयमा कालिका गाउँपालिका नेपालको एउटा उदाहरणीय गाउँपालिका पनि हो भन्नुमा फरक पर्दैन।
विविध कृषि अन्तर्गत आलु उत्पादन, तरकारी उत्पादन, सलादका लागि मुला र गाजर उत्पादनमा यो गाउँपालिका अब्बल देखिन्छ भने सम्भावित आरु, आलुचा, नास्पाती लगायतका फलफूल खेतीबाट आत्मनिर्भर हुनुका साथै व्यावसायिक पनि हुन सके अझ राम्रो देखिने सम्भावना देखेका थियौँ। वन-पाखामा उम्रिने र हुर्किने तमाम किसिमका जडीबुटी संकलन, प्रशोधन, उत्पादन र विक्री वितरण गर्न सकेमा गाउँपालिकामा रोजगारीका अवसरमा वृद्धि हुने देखियो।
देशका कतिपय भूभागमा जडीबुटी खेती गर्ने चलन पनि आइसकेकोले यहाँ पनि जडीबुटी खेती गर्दा उपयुक्त नै हुने देखिन्छ। पशुपालन अन्तर्गत दुग्ध पदार्थका लागि गाईपालन पनि यहाँ उपयुक्त सम्भावना रहेको पाइन्छ। त्यस्तै घरेलु तथा साना उद्योग र सेवामूलक व्यवसाय अन्तर्गतका स्थानीय युवाहरूले कम्प्युटर तथा मोबाइल मर्मत, फोटोग्राफी, प्लम्बिङ, इलेक्ट्रिक, वायरिङका कामहरू पनि पाइयो।
त्यस्तै कालिका गाउँपालिकाका बासिन्दाहरूले व्यापार अन्तर्गत किराना पसल, कस्मेटिक पसल, कपडा पसल, फलफूल तथा तरकारी पसलतर्फ पनि आकर्षित भएको देख्यौँ। कालिकाबासीहरूमा रहेको जोस र जाँगरलाई एउटा उदाहरणको रूपमा लिनुपर्छ भन्ने लाग्यो।
जेठ २३ देखि ऐ २५ गतेसम्मको छोटो अवधिको भए तापनि हामीले गरेको रसुवाको कालिका गाउँपालिकाको स्थलगत भ्रमण, अध्ययन, अवलोकनका क्रममा मोटामोटी रूपमा संकलन गरिएको तथ्यांकका आधारमा भन्ने हो भने कालिका गाउँपालिका स्वरोजगारी र आत्मनिर्भरतामा साँच्चिकै अनुकरणीय भएको पाएका थियौँ। अरू पालिकाहरूले अनुसरण गर्न मिल्ने अर्थात् प्रेरणा लिन सकिने गाउँपालिका कालिका गाउँपालिका रहेको देख्यौँ।
त्यहाँ उत्पादित रैथाने उपजहरू चाख्न पाउनु हाम्रा लागि अति नै खुसीको कुरा थियो। हामी काठमाडौँको बनावटी जीवनमा गुज्रिरहेकाहरूका लागि तीन दिने कालिका भ्रमणले निकै नै आनन्दानुभूति भएको महसुस भएको थियो। हामी रसुवाको कालिका गाउँपालिकाको भ्रमण सकेर काठमाडौँ आइसकेपछि कालिका गाउँपालिकाको सन्दर्भमा एक सञ्चार माध्यमबाट मेरो आलेख प्रकाशन भइसकेको छ भने एक पुस्तकका लागि हाम्रो टोलीका सहभागीहरूबाट आआफ्ना आलेखहरू तयार भइसकेका छन्।
हाम्रो त्यो रसुवा प्रेम
रसुवा वास्तवमै अहिले पनि दुर्गम नै छ। किनकि त्यहाँको भौगोलिक बनावट नै जटिल देखिन्छ। पानीको स्रोतहरू भने तमाम देखिएको हुँदा रसुवामा विभिन्न जलविद्युत आयोजनाहरू सञ्चालनमा रहेका थिए/छन्। कालिका गाउँपालिकाका अधिकांश स्थानहरूको स्थलगत अध्ययन र लेखनका क्रममा स्थानीय बासिन्दाहरूले दूध, दही, मही, काँक्रोबाट स्वागत गरिँदा त्यहाँका बासिन्दाहरूको हृदयमा कोमलताको बास भएको आभास मिलेको थियो। कालिका गाउँपालिकाको बजारमा हामी बसेको एक होटेलमा फर्सीको मुन्टा लगायत प्रांगारिक प्रविधिबाट उत्पादित तरकारीको स्वादले त्यहीँ बसिरहौँ, रसुवा नछोडौँ जस्तो लागेको थियो, जुन असम्भव नै थियो।
रसुवामाथि ठुलो घाउ
गत भदौ १० गते प्रकृतिले रसुवालाई तहसनहस बनाइदियो, जुन त्यहाँको मात्र समस्या नभएर मुलुककै लागि ठुलो चिन्ताको विषय बन्न पुग्यो। रसुवाका केही भूभागलाई छियाछिया पारिदियो भोटेकोशीको बाढीले। नहुने र नसोचेको दुःखद घटना भयो। रसुवामा प्राकृतिक प्रकोपको विध्वंसको जानकारीले सारा नेपालीका लागि दुःखको विषय बन्यो। भौगोलिक विकटताका कारण रसुवालीहरूमा पीडा त छँदै थियो अचानक जनधनको क्षति हुने गरी आएको बाढीले त्यहाँका केही भूभागका जनतामा पीडा थपिएको छ।