आज जेनजी विद्रोह भएको एक वर्ष पूरा भएको छ।
नयाँ बानेश्वरमा रहेको त्यो खण्डहर संसद भवनमा हामी पहिलो जेनजी स्मृति दिवस मनाइरहेका छौँ।
यस अवसरमा हामी ती हृदयविदारक घटना र क्षणहरूलाई सम्झिरहेका छौँ। त्यो भदौ २३/२४ गते सम्झँदा आज पनि मन समाल्न सकिँदैन।
सत्ताको बन्दुकबाट राज्यसत्ता बचाउन सकिन्छ भन्ने तत्कालीन शासक र नेतृत्वहरूको निरंकुश बुझाइ जेनजी पुस्ताको अगाडि चकनाचुर भएको थियो। खण्डित भएको थियो। विघटित भएको थियो।
जेनजी विद्रोहको उद्देश्य केवल सत्ता परिवर्तन गर्नु थिएन। समग्र राज्य र सत्ताको चरित्र तथा शैली बदल्नु थियो। राज्यसत्तामा सबै पुस्ताको सम्मानजनक पहुँच हुनुपर्छ। राजनीतिमा नयाँपन झल्किनुपर्छ। दण्डहीनताको अन्त्य हुनुपर्छ। सुशासन कायम हुनुपर्छ। भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै देशलाई आत्मनिर्भर बनाउनुका साथै रोजगारी सिर्जना गर्नुपर्छ। डिजिटल अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित हुनुपर्छ। युवा पुस्ता केवल भविष्यका कर्णधार मात्र होइनन्, वर्तमानका निर्माणका पनि साझेदार हुन् भन्ने भावना स्थापित गर्नु आन्दोलनको मुख्य उद्देश्य थियो।
आन्दोलनको अर्को उद्देश्य पनि थियो। नातावाद, कृपावाद र आफन्तवादको अन्त्य गर्दै पारदर्शिता, जवाफदेहिता र कानुनी शासनको पालना गरिनुपर्छ भन्ने तर विडम्बना, जेनजी विद्रोहबाट बनेको अन्तरिम सरकार हुँदै आज वर्तमान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुई तिहाइ सरकारसम्म आइपुग्दा पनि यी मुद्दाहरू केवल नारामै सीमित भएका छन्। सरकार केवल आशा देखाउँछ। युवाहरूलाई अल्झाउँछ। गर्छु भन्छ, तर परिणाममा कुनै तार्किक र सार्थक परिवर्तन देखिँदैन। हामी दुःखी छौँ। हामी चिन्तित छौँ।
केही सपनाहरू जेनजी विद्रोहबाट बनेको अन्तरिम सरकारले निमोठ्यो भने, केही सपना अहिलेको शक्तिशाली सरकारले पनि निमोठ्ने प्रयास गरिरहेको छ। तर हामी सबै सचेत हुनुपर्छ। न्याय, परिवर्तन र जेनजी आन्दोलनको मूल मर्म तथा भावनालाई मर्न दिनु हुँदैन। निरन्तर खबरदारी र आवाज उठाइरहनुपर्छ।
जेनजी विद्रोहले शासन, सत्ता र त्यसका अनुहार परिवर्तन गर्यो। तर सत्ता र सरकारको चरित्र परिवर्तन भएको छैन। नातावाद, कृपावाद र आफन्तवाद उस्तै छ। आज प्रधानमन्त्री जनताको र युवाहरूको पहुँचबाट टाढा छन्। संसद र सडकका आवाजहरू निरन्तर बेवास्ता भइरहेका छन्। जवाफदेहिताको अभाव छ।
आन्दोलनको मर्म यो थिएन। आन्दोलनको मर्म भनेको सबैको सम्मान, पहुँच र अवसर सुनिश्चित गर्नु थियो। अहिले सत्ताको बागडोर सम्हालिरहेकाहरूले यो कुरा बिर्सनु हुँदैन। जेनजी सहिदका परिवार, घाइतेहरू र समग्र जेनजी पुस्ता अहिलेको अवस्थाबाट ढुक्क हुने स्थिति छैन। सरकारले सबैभन्दा पहिले विश्वासको वातावरण सिर्जना गर्नुपर्छ।
जेनजीले चाहेको भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थाहरूमा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँपन आज पनि तार्किक रूपमा स्थापित हुन सकेको छैन। सत्ता परिवर्तन भयो, तर सत्ताको समग्र चरित्र परिवर्तन भएन।
त्यसैले आज पनि जेनजीले चाहेको देश र समाजको जग निर्माण हुन सकेको छैन। जेनजी आन्दोलनपछिको सरकार सम्पूर्ण वर्ग, समुदाय र क्षेत्रको साझा सरकार बन्न सकिरहेको छैन।
आन्दोलनका क्रममा भएका जेनजी सम्झौताहरू अझै पूर्ण रूपमा कार्यान्वयन भएका छैनन्। कैयौँ जेनजीहरू आज पनि जेलका कालकोठरीमा छन्। जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न प्रतिवेदनहरू सार्वजनिक तथा कार्यान्वयन हुन सकेका छैनन्।
त्यसैले आजको यथार्थ स्पष्ट छ- सत्ता परिवर्तन भएको छ, तर जेनजीले चाहेको देश परिवर्तन भएको छैन। त्यसैले हामीले जेनजी सहिदहरूको सपना र आत्मालाई पन्छाएर बस्नु हुँदैन। आन्दोलनका घाइतेहरूको पीडा, सहिद परिवारको आँसु र परिवर्तनका लागि सडकमा उत्रिएका लाखौँ युवाहरूको सपना बिर्सनु हुँदैन।
जेनजी आन्दोलन केवल सत्ता परिवर्तनका लागि भएको आन्दोलन थिएन। यो देशको व्यवस्था, सोच, संस्कार र शासन प्रणालीमा परिवर्तन ल्याउने आन्दोलन थियो। त्यसैले जबसम्म जेनजीले चाहेको न्यायपूर्ण, पारदर्शी, जवाफदेही र अवसरको समानता भएको देश निर्माण हुँदैन, तबसम्म हाम्रो संघर्ष निरन्तर जारी रहनुपर्छ।
सहिदहरूको सपना अधुरो रहन दिनु हुँदैन। घाइतेहरूको बलिदान खेर जान दिनु हुँदैन। जेनजीले उठाएको परिवर्तनको आवाज दब्न दिनु हुँदैन। सत्ता बदल्नु पर्याप्त छैन, देश बदल्नुपर्छ। अनुहार बदल्नु पर्याप्त छैन, चरित्र बदल्नुपर्छ।
सरकार बदल्नु पर्याप्त छैन, शासन प्रणाली बदल्नुपर्छ। यही नै जेनजी आन्दोलनको मूल मर्म हो। र जबसम्म त्यो मर्म पूरा हुँदैन, जेनजी विद्रोह निरन्तर रहने छ। यही नै जेनजी सहिदहरूप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।