भदौ महिनाको दस गते बिहान, जति बेला कोही अफिस जान तयार हुँदै थिए, कोही विद्यालय जान खाना खाएर हतार हतार झोला मिलाउँदै थिए, कोही पसल खोल्दै थिए, कोही बस चढेर आफ्नो गन्तव्य तर्फ लाग्दै थिए। त्यही समय कसैलाई थाहै नदिई एउटा यस्तो विनाशकारी पानी र हिलोको वेग आयो कि सबै सपना एकछिनमै बगाएर लग्यो। केही सोच्न समेत समय मिलेन र जीवन केही पलमै उजाड भयो।
बाढी आउँदा नदीले कसैलाई सोधेन, ‘तिम्रो घर कहाँ हो? तिम्रो परिवारमा कति जना छन्? तिमीले यो घर बनाउन कति वर्ष दुःख गर्यौ?’ नदी उर्लियो, भेल आयो र केही क्षणमै मानिसहरूले वर्षौँ लगाएर बनाएको संसार आफ्नो आँखै अगाडि बगिरहेको हेर्नुपर्यो।
तर यो कथा केवल भत्किएका घरहरूको होइन। यो त ती आँखाहरूको कथा हो, जसले आज पनि भीडभित्र आफ्ना मान्छे खोजिरहेका छन्। त्यो बिहान कुनै आमाले छोरालाई छातीमा च्यापेर राखिन् होला। कुनै बुबाले आफ्ना बच्चालाई काँधमा बोकेर सुरक्षित ठाउँ खोजे होलान्।
कुनै बच्चाले डराउँदै सोध्यो होला, ‘बाबा, पानी किन यति धेरै आयो?’ सायद बाबासँग त्यसको उत्तर थिएन किनकि त्यो पानी केवल नदीबाट आएको थिएन। त्यसले धेरै परिवारको भविष्यसँगै एउटा प्रश्न पनि ल्याएको थियो। अब हाम्रो के हुन्छ?
हिजोसम्म जहाँ बिहान कुखुराको डाकसँगै घर खुल्थ्यो, जहाँ आमाको हातको चियाको बास्ना आउँथ्यो, जहाँ बच्चाहरूको हाँसो सुनिन्थ्यो, आज त्यही ठाउँमा हिलो छ। भत्किएको भित्ताहरू छन्। छरिएका कपडाहरू छन्। फुटेका भाँडाहरू छन्। र कतै कुनै कुनामा अझै पनि एउटा सानो खेलौना होला, जसलाई खेल्ने बच्चा अब घर फर्केर आउने छैन। सबैभन्दा पीडादायी कुरा यही हो।
बाढीले सामान बगायो भनेर हामी दुःखी हुन्छौँ। तर केही परिवारका लागि बाढीले सामान होइन, मान्छे बगाएको छ। घर फेरि बनाउन सकिन्छ। गोठ फेरि बनाउन सकिन्छ। खेतमा फेरि बीउ छर्न सकिन्छ। पुल फेरि बनाउन सकिन्छ। तर आमाको काखबाट छुटेको सन्तान? बाबाको हात समाउन नपाएको त्यो बच्चा? जीवनभर साथ दिने वाचा गरेको मान्छे? उनीहरू फर्केर आउँदैनन्।
आज देशका धेरै ठाउँमा उद्धारकर्मीहरू हिलो र भग्नावशेषभित्र जीवन खोजिरहेका छन्। कतै आशाको सानो किरण भेटिन्छ, कतै एउटा परिवारले आफ्ना प्रियजनको अन्तिम खबर पाउँछ। केही मानिसलाई धेरै दिनपछि जीवितै उद्धार गरिएको खबरले आशा पनि जगाएको छ। तर अझै पनि धेरै परिवारको ढोका अगाडि एउटा प्रश्न उभिएको छ ‘मेरो मान्छे कहाँ छ?’
त्यो प्रश्नको उत्तर नआउँदा समय पनि रोकिएजस्तो हुन्छ। मोबाइलको घण्टी बज्दा मुटु ढुकढुक हुन्छ। अपरिचित नम्बर देख्दा हात काँप्छ। सायद उताबाट खबर आउला भन्ने आशा हुन्छ। तर कहिलेकाहीँ फोन आउँदैन। ढोका खुल्दैन र प्रतीक्षा मात्रै बाँकी रहन्छ।
आज हामी सुरक्षित ठाउँमा बसेर बाढीका तस्बिर हेर्न सक्छौँ। मोबाइलमा भिडियो हेर्न सक्छौँ। केही क्षण दुःखी हुन सक्छौँ र फेरि आफ्नो दैनिकीमा फर्किन सक्छौँ। तर जसको घर बग्यो, उसका लागि त्यो भिडियो होइन। त्यो उसको जीवन हो। जसले आफ्नै आँखाले आफ्नो घर बगेको देख्यो, जसले आफ्नै हातले हिलोभित्र आफ्ना मान्छे खोज्यो, जसले एकै दिनमा आफ्नो संसार गुमायो, उसलाई ‘विपत्ति सकियो’ भनेर कसरी भनौँ?
पानी एक दिन घट्छ, हिलो एक दिन सुक्छ। सडक फेरि बन्छ। पुल फेरि ठडिन्छ। बस्ती फेरि उठ्छ। तर मनभित्र परेको त्यो बाढी? त्यो सायद कहिल्यै घट्दैन। त्यसैले आज हामीले बाढीलाई केवल एउटा प्राकृतिक विपत्ति भनेर नहेरौँ। यो एउटा आमाको रित्तिएको काख हो। यो एउटा बुबाको टुटेको सहारा हो। यो एउटा बच्चाको हराएको बाल्यकाल हो।
यो एउटा परिवारको अधुरो सपना हो। यो एउटा गाउँको हराएको मुस्कान हो र सायद यही कारणले, आँगनमा पानी जमेको देखिए पनि हामीले त्यहाँ केवल बाढी नदेखौँ। त्यहाँ कसैको आँसु होला। कसैको प्रतीक्षा होला। कसैको अन्तिम सम्झना होला। कसैको अधुरो सपना होला। किनकि आँगनमा बाढी होइन, परिवारको पीडा जमेको छ।
आज ती परिवारका लागि हाम्रो एउटा सम्झना, एउटा सहानुभूति, एउटा सहयोगको हात र एउटा सानो प्रार्थना पनि ठुलो अर्थ राख्छ। हे प्रभु, जसले आफ्ना मान्छे गुमाए, उनीहरूलाई सहने शक्ति देऊ। जो अझै बेपत्ता छन्, उनीहरूलाई सकुशल फर्काइदेऊ र जसले सबै गुमाएर पनि बाँचिरहेका छन्, उनीहरूलाई फेरि उठ्ने हिम्मत देऊ। किनकि घर भत्किएपछि पनि मानिस उठ्न सक्छ तर आशा भत्किएपछि उठ्न धेरै गाह्रो हुन्छ।
त्यसैले यो विपत्तिको अन्त्य केवल पानी घट्नु होइन। अन्त्य त्यो दिन हुनेछ, जब अन्तिम पीडित परिवारको आँखामा फेरि आशाको उज्यालो फर्किनेछ।