कुन ठाउँमा के राहत चाहिएको छ?
सम्पादकीय नोट — भोटेकोशी–त्रिशूली बाढीले प्रभावित क्षेत्रहरूमा उद्धार र राहत वितरणको काम जारी छ। राहत वितरणमा स्थलगत आवश्यकता मिलेन भने त्यसको उपयोगिता एकदमै कम हुन्छ। खानेकुरा चाहिएको ठाउँमा लुगाफाटो लैजाँदा वा लुगाफाटो चाहिएको ठाउँमा पानी लिएर जाँदा त्यसले पीडित समूह लाभान्वित हुँदैनन्। उल्टै अतिरिक्त राहतको थुप्रो मात्र लाग्छ।
हामीले यो शृंखलामा प्रभावित क्षेत्रका वडाध्यक्षलाई त्यस ठाउँका बाढीपीडितहरूको आवश्यकता के हो भनेर सोधेका छौं। तपाईं पनि सहयोग गर्न चाहनुहुन्छ भने पीडित समूहको आवश्यकता बुझेर सहयोग गर्न सक्नुहुन्छ। सहयोगका लागि सम्बन्धित वडाध्यक्षको नम्बर तल दिएका छौं।
***
भोटेकोशी–त्रिशूली बाढीपछि प्रभावित क्षेत्रमा राहत सामग्री लिएर पुग्ने क्रम अझै जारी छ। तर सबै ठाउँमा अहिले एउटै खालको राहत आवश्यक छैन।
नुवाकोटको विदुर नगरपालिका–७ मा तत्कालको आवश्यकता खाद्यान्नभन्दा आवास बनेको छ।
वडाध्यक्ष रविन्द्र नेपालले आफ्नो वडामा अहिले खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा र सरसफाइका सामग्रीको अभाव नरहेको बताएका छन्। त्यसैले दाताहरूलाई आवश्यकता नबुझी जथाभाबी राहत सामग्री नबाँड्न उनले आग्रह गरेका छन्।
'अब वडाका लागि खाद्यान्न मात्र होइन, लत्ताकपडा र भाँडाकुँडा पनि पुगिसकेको छ। त्यसैले दाताहरूले पनि कहाँ पुगिसकेको छ, कहाँ पुगेको छैन भनेर ख्याल गर्नुपर्छ,' उनले सेतोपाटीसँग भने, 'राहत त्रिशूली वारि मात्र थुपारेर हुँदैन, पारि पनि लैजानुपर्छ। सबभन्दा राम्रो उपाय भनेको स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्नु हो।'
उनका अनुसार बाढीपछिका सुरूआती तीन दिनमा केही समस्या भए पनि त्यसपछि खाद्यान्न अभाव खेप्नुपरेको छैन। साबुन, ब्रस, मञ्जन लगायतका व्यक्तिगत सरसफाइका सामग्री पनि पर्याप्त रूपमा आइसकेका छन्।
त्यसैले अब राहतको प्राथमिकता बदल्नुपर्ने उनको भनाइ छ।
'राहत धेरै भएर होइन, सही ठाउँमा सही सामग्री पुगेर प्रभावकारी हुन्छ,' उनी भन्छन्।
राहतको प्राथमिकता अब आवास
बाढीले १७६ जना बेपत्ता रहेको र ११४ घरमा क्षति पुगेको वडाको प्रारम्भिक तथ्यांक रहेको वडाध्यक्ष नेपालले बताए। बेपत्तामध्ये विद्यार्थीसमेत रहेको उनले जानकारी दिए।
'हामीले ल्याएको यो प्रारम्भिक तथ्यांक मात्र हो। हामीले भोगेको मानवीय र भौतिक क्षतिको कुनै मूल्य हुँदैन,' उनले भने, 'तर यतिबेला पनि हामीले अस्थायी र स्थायी बसोबासको योजना बनाउनैपर्छ।'
घर भत्किएका र बस्न नमिल्ने अवस्थामा पुगेका परिवारलाई तत्काल अस्थायी टहरामा सार्ने तयारी गर्नुपर्ने उनले बताए। खासगरी एकल महिलाका परिवारलाई तत्काल टहरा निर्माण गरेर सुरक्षित ठाउँमा सार्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
यसका लागि केही सहयोग जुटिसकेको भए पनि थप सहयोग आवश्यक रहेको नेपालले बताए।
'यस्तो बेला जो पीडित छैनन्, उनीहरूले पनि राहत लिएका हुन सक्छन्। त्यसैले अब हामीलाई अस्थायी टहराकै लागि सहयोग चाहिएको हो,' उनले भने, 'खाद्यान्नका लागि गर्ने खर्च टिन वा अस्थायी घरमा चाहिने सामग्रीका लागि गर्न पनि मेरो अनुरोध छ।'
स्थायी पुनर्वास भने स्थानीय तहको स्रोतबाट मात्र सम्भव नहुने भन्दै उनले संघीय सरकारबाट सहयोग आवश्यक रहेको बताए।
'स्थायी बसोबासका लागि संघीय सरकारमार्फत नै सहयोग चाहिन्छ,' उनले भने।
(बाढी प्रभावित विदुर नगरपालिका–७ मा बाढीपीडितका लागि अस्थायी टहरा निर्माणमा सहयोग गर्न चाहनेले वडाध्यक्ष रविन्द्र नेपाललाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ। उनको फोन नम्बर – 9841548947)